|

रौतहट : श्रद्धा, भक्ति र धार्मिक आस्थाले ओतप्रोत तराई–मधेशको महत्वपूर्ण पर्व छठ बिहीवार अस्ताउँदो सूर्यलाई अर्घ्य दिइएको छ।

रौतहटसहित तराईका विभिन्न जिल्लामा श्रद्धालुले नदी, पोखरी र तलाउमा सन्ध्या अर्घ्य दिँदै ४ दिनसम्म चल्ने यो पर्व धुमधामसाथ मनाइरहेका छन्। 

छठ पर्व गत मंगलवार ‘नहाय–खाय’ विधिबाट शुरु भएको थियो। बुधवार ‘खरना’ विधिमा व्रतालुले उपवास राखी खीरको प्रसाद ग्रहण गरे, जसलाई छठको दोस्रो दिनको महत्त्वपूर्ण धार्मिक विधि मानिन्छ। 

बिहीवार (आज) पर्वको तेस्रो दिन, श्रद्धालुहरूले अस्ताउँदो सूर्यलाई विशेष सम्मान र अर्घ्य अर्पण गरेर सन्ध्या पूजा सम्पन्न गरेका छन्। सन्ध्याको पूजा सम्पन्न गरेपछि व्रतालुहरूले विभिन्न ताल, पोखरी तथा नदीमा सजाइएको टेन्टमा रात बिताउँछन्।

छठ पर्वको अन्तिम दिन भोलि शुक्रवार बिहान उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरेपछि पर्व समापन हुनेछ। यसलाई उदाउँदो सूर्यको उपासना र कृतज्ञता व्यक्त गर्ने महत्त्वपूर्ण दिन मानिन्छ। 

छठका वेला विशेष गरी मधेशका विभिन्न नदी, पोखरी र तालहरुमा उल्लासमय वातावरण छाएको छ। पूजा स्थलहरुमा भव्य सजावट र भक्तजनको भीड रहेको छ, जसले छठको पवित्रता र सौन्दर्य थप उजागर गरिरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.