संघीय अस्पतालको रेडियोलोजी सेवा डिजिटल प्रविधिमा रूपान्तरण गर्दा वार्षिक ५० करोड बचत हुने अनुमान

|

काठमाडौँ : स्वास्थ्य सेवालाई डिजिटल प्रविधिमा रूपान्तरण गर्ने उद्देश्यले हालै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अबदेखि ठूला संघीय अस्पतालहरूमा रेडियोलोजी सेवा अन्तर्गत फिल्म प्रयोग गरेर दिइने सेवा हटाउने निर्णय गरेको छ।

विशेषगरी ठूला संघीय अस्पतालहरूबाट ‘फिल्म’ प्रयोगबाट प्रदान गरिने रेडियोलोजी सेवालाई अन्त्य गर्ने निर्णय गरेको बताइएको छ।

फिल्मको माध्यमबाट एमआरआई तथा सिटीस्क्यान जस्ता सेवा प्रदान गर्दा विरामीका साथै अस्पताललाई समेत आर्थिक भार पर्ने हुँदा फिल्मको माध्यमबाट दिइने सेवा हटाएर डिजिटल माध्यमबाट सेवा दिइने निर्णय मन्त्रालयले गरेको हो। यो निर्णयसँगै अब मन्त्रालय मातहतका २२ वट संघीय अस्पतालले क्रमैसँग सेवाग्राहीलाई डिजिटल रिपोर्ट उपलब्ध गराउनेछन्।

चिकित्सा सेवामा रोगको पहिचान र सफल उपचारका लागि निकै महत्त्वपूर्ण मानिएको रेडियोलोजी सेवा (एमआरआई तथा सिटीस्क्यान, भिडियो एक्सरे, एक्सरे)  विशिष्टीकृत सेवाअन्तर्गत प्रदान गरिदै आएको छ।

स्वास्थ्य मन्त्रालयको एक विवरणअनुसार  स्वास्थ्यमा वार्षिक वार्षिक एक अर्ब बराबरको खर्चभार रेडियोलोजी सेवाले गर्दै आएको अनुमान छ।

यति मात्रै हैन कहिलेकाहीँ रेडियोलोजी सेवामा प्रयोग गरिने ‘फिल्म’हरूको अभाव हुँदा अस्पतालहरूको सेवा नै प्रभावित हुने गरेका छन्।

हाल संघीय अस्पताल वीर अस्पतालले वर्षमा करिब चार करोड रुपैयाँ रेडियोलोजी फिल्मका लागि खर्च गर्ने गरेको तथ्यांक छ। यसैगरी कान्ति बाल अस्पतालमा करिब तीन करोड रुपैयाँ यसका लागि खर्च हुने गरेको छ।

यो निर्णयले संघीय अस्पतालको वार्षिक करिब ५० करोड रुपैयाँ बजेट बचत हुने अनुमान गरिएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीको भनाइ छ। ‘निजी र देशैभर डिजिटल रिपोर्ट दिन सके वर्षमा करिब एक अर्ब रुपैयाँ रकम विदेशिनबाट रोकिने अनुमान सहित फिल्मको प्रयोगबाट हुने रेडियोलोजी सेवा अन्त्य गरी डिजिटल प्रविधि माध्यमबाट यो सेवा दिने निर्णय गरेका हौँ। यसले नागरिकलाई रेडियोलोजी सेवा अन्तर्गतको खर्चभार कम हुनुका साथै स्वास्थ्यमा समेत नकारात्मक प्रभाव कम पर्ने विश्वास गरेका छौँ।‘

यता पेशागत दक्षताले रेडियोलोजियष्ट समेत रहेका कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. रविन खड्काका अनुसार रेडियोलोजी सेवालाई डिजिटल प्रविधि माध्यममा रूपान्त्रण गर्ने संघीय स्वास्थ्य मन्त्रालयको निर्णय राम्रो भए पनि गृहकार्य नपुगेको बताउँछन्। डा. खड्काले भने‚ ‘रेडियोलोजी सेवालाई डिजिटल प्रविधिमा रूपान्तरण गर्ने निर्णय राम्रो हो। यसले विरामीहरूले छिटो र सहज सेवामात्रै होइन आर्थिक भार पनि कम पर्छ तर यो सेवा दिने भनिएका अस्पतालहरूमा यसको लागि डिजिटल प्रविधिको कत्तिको तयारी छ भन्ने विषय महत्त्ववपूर्ण विषय छ। यदि रेडियोलोजी सेवालाई डिजिटल रूपमा प्रदान गर्न सके यसबाट हुने आर्थिक भारका कम मात्रै नभएर गुणस्तरीय सेवा द्रुतरूपमा पनि प्रदान गर्न सकिन्छ।’

के हो रेडियोलोजी सेवा?

चिकित्सा सेवामा रोगहरूको पहिचान र सफल उपचारका लागि रेडियोलोजी पनि महत्त्वपूर्ण विधा हो। यसबाट एमआरआई तथा सिटीस्क्यान, भिडियो एक्सरे, एक्सरे जस्ता विशिष्टिकृत सेवा दिइन्छ।

शरीरको भित्री अंगहरूमा लुकेर लागेका रोग अन्य विधाले पत्ता लगाउन नसक्ने भएकोले चिकित्सा सेवामा रोग पहिचानको अन्तिम विकल्प भनेकै रेडियोलोजी सेवा अन्तर्गत एमआरआई तथा सिटीस्क्यान, भिडियो एक्सरे, एक्सरे जस्ता विशिष्टिकृत परीक्षण हुन।

विशेषगरी मानव शरीरको कलेजो, फोक्सो, मिर्गौला, टाउको लगायतका अंगहरूको रोग पहिचान गर्न लागि रेडियोलोजी सेवा चिकित्सकले सिफारिस गर्छन्।

भित्री अंगमा भएका भित्री रोगहरूको पहिचानका लागि सिटीस्क्यान तथा एमआरआईको महत्त्व रहेको छ। रेडियोलोजीले रोगको पहिचान गरेपछि मात्रै त्यसको उपचार हुने गर्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.