|

काठमाडौँ : भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा रक्त क्यान्सर भएका विरामीको प्रकार परीक्षण सुरु गरिएको छ। यसअघि नमूना बाहिर पठाइँदै आएकोमा उपकरण खरिद गरेर यही परीक्षण सुरु गरिएको हो।

अस्पतालका उपनिर्देशक डा. उमेश नेपालका अनुसार रक्त क्यान्सरका प्रकार परीक्षण गर्ने फ्लो साइटोमेट्री सेवा सुरु गरिएको हो। यसका लागि आवश्यक पर्ने उपकरण  एक करोड ५० लाखमा खरिद गरेर जनशक्तिलाई तालिम दिएपछि सेवा सुरु गरिएको हो।

उनका अनुसार एकजना डाक्टर र एकजना प्राविधिकलाई भारतको टाटा मेमोरियल क्यान्सर अस्पतालमा तालिमका लागि पठाइएको थियो। तालिमप्राप्त जनशक्ति र उपकरण आएसँगै सेवा सुरु गरिएको उनले बताए।

अस्पतालका कार्यकारी निर्देशक डा. शिवजी पौडेलका अनुसार यसअघि यो परीक्षण धेरै भारत पठाउने गरिन्थ्यो भने केही नमूना काठमाडौँ जाने गर्थ्यो। नतिजा आउन १५ दिनभन्दा बढी समय लाग्ने गरेकोमा अहिले पाँच दिनमा नतिजा आउने गरेको उनको भनाइ छ।

बाहिर पठाउँदा ३० हजारभन्दा बढी खर्च हुने गरेकोमा यहाँ परीक्षण हुँदा १२ हजार मात्रै लाग्छ। अस्पतालमा रक्त क्यान्सरका विरामी धेरै हुने भएकाले विरामीलाई सहज भएको छ।

उनले भने‚ ‘छिटो रोग पहिचान गर्न पनि सहज भएको छ।’ कार्यकारी निर्देशक डा. पौडेलले अस्पतालका सेवा विस्तार गर्ने कार्यमा आफू लागिरहेको बताए। अस्पतालमा थन्किएर बसेको सिटीस्क्यान मर्मत गरेर सञ्चालनमा ल्याइएको छ भने लामो समयदेखि रोकिएको मेमोग्राम सेवा छिट्टै सञ्चालनमा ल्याइँदै छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.