|

काठमाडौँ : परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले मर्मतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको समय कटौती गरिएपछि हवाई उडानका क्षेत्रमा उत्पन्न समस्याको समाधान खोज्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग आग्रह गरेकी छिन्।

विमानस्थल कार्यालयले उडानको समय दैनिक १० घन्टा घटाएपछि विदेशी वायुसेवा कम्पनीले काठमाडौँ उडानमा कटौती गरेका छन्। यही कारण देखाएर वायुसेवा कम्पनीहरूले पनि नेपालबाट हुने उडानमा दोब्बर भाडा बढाएपछि समस्या उत्पन्न भएको हो। 

आज परराष्ट्र मन्त्रालयमा श्रममन्त्री शरतसिंह भण्डारी र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेसहितको बैठकमा मन्त्री डा राणाले विकसित पछिल्लो परिस्थितिको अध्ययन गरी आवश्यक निकासका लागि आग्रह गरेकी छिन्।

सो बैठकमा नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घका प्रतिनिधिले उक्त समस्याको समाधानका लागि आग्रह गर्दै मन्त्री डा. राणालाई ज्ञापनपत्र दिएका थिए।

उनीहरुले विमानस्थलले उडान समयमा गरेको कटौतीको कारण देखाएर हवाई कम्पनीले दोब्बरभन्दा बढी भाडा वृद्धि गरेका र यसका कारण नेपालबाट वैदेशिक रोजगारीमा जाने श्रमिक मारमा परेका जानकारी गराएका थिए।

सो बैठकमा मन्त्री डा राणाले भनिन्, “वैदेशिक रोजगारीमा जाने नेपालीलाई महँगो टिकटका कारण समस्या परेको त छँदैछ, यो मारमा अरु पनि परेकाले धेरै गुनासो आएको छ। हवाई कम्पनीले यदि एकाधिकार गरेका छन् भने उनीहरूलाई नियमन गरी आवश्यक प्रक्रियाभित्र ल्याउनुपर्दछ।”

नेपालबाट टिकट नपाउने तथा धेरै नै महँगो हुने समस्या भएकाले वैदेशिक रोजगारीमा जाने नेपालीहरूलाई केही समयका लागि भारतको विमानस्थल हुँदै जानुपर्ने अवस्थाका लागि कूटनीतिक पहल गरिदिन सङ्घका अध्यक्ष राजेन्द्र भण्डारी, पूर्वअध्यक्ष विमल गौतम एवं प्रतिनिधि प्रज्ञान न्यौपानेलगायले मन्त्री डा राणसँग आग्रह गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.