|

काठमाडौँ : यतिखेर काठमाडौँ सहित देशैभर चिसो बढेको छ। चिसो बढेसँगै रुघाखोकी र श्वासप्रश्वासको समस्याले धेरैलाई सताउने गर्छ।

जाडोयाम ठूला मानिसभन्दा बालबालिकाका लागि संवेदनशील मौसम मानिन्छ। बालबालिकालाई यो समयमा रुघाखोकी लाग्ने, श्वासप्रश्वास समस्या निमोनिया जस्ता समस्या देखिने हुँदा बालबालिकालाई विशेष हेरचाह गर्नुपर्ने हुन्छ।​

रुघाखोकी लाग्ने, श्वासप्रश्वास समस्या निमोनियाले बालबालिकालाई धेरै सताउँछ। दम र निमोनिया दुवै श्वासप्रश्वाससम्बन्धी स्वास्थ्य समस्या हो। त्यसैले​ प्रायले दम र निमोनियालाई उस्तै मानेर हेर्ने गरिन्छ। बालबालिकामा देखिने यी भिन्न खालका स्वास्थ्य समस्या हुन।  

निमोनिया हुँदा प्रायः ज्वरो आउनु, छाती दुख्नु, सास फेर्न गाह्रो हुनु जस्ता लक्षण देखिन्छ भने दमको समस्या सुरु भएका बालबालिकामा सास फेर्दा घ्यारघ्यार हुने, श्वास फेर्न गाह्रो हुने, छाती भारी भई कसिएको महसुस हुने, साँझपख र बिहानको समयमा र शारीरिक व्यायाम, खेलकुदपछि खोकी लाग्नु, हिँडडुल गर्न नसक्ने,बालबालिकाले चाँडै थकान महसुस गर्ने जस्ता लक्षण दमको समस्या भएका बालबालिकाले देखाउने गर्छन्।

दम सबै उमेर समूहका मानिसलाई हुने भए पनि समयअगावै जन्मिएका शिशुलाई दम हुने सम्भावना बढी हुने गर्छ। दम विशेषगरी, दुई महिना माथिका बालबालिकामा बढी देखिन्छ  भने निमोनिया चिसो र संक्रमणले गर्दा हुने गर्छ। तर चिसोको कारण दमको समस्यालाई झन बढाउन भने सक्छ।

दमले विशेषगरी बिहान र रातको समयमा बढी दुःख दिने गर्छ। प्रायः दमलाई पूर्ण रूपमा निको बनाउन नसकिने भए पनि नियन्त्रणमा भने राख्न सकिन्छ। त्यसैले चिसो मौसममा यस्ता बालबालिकालाई विशेष हेरचाह गर्नुपर्छ।

दमका लक्षण नियमित रूपमा देखा नपरी कहिलेकाहीँ देखापर्ने गर्छन्।

दम र वंशाणुगत र एलर्जीको कारणले हुने गर्छ। दम कुनै एक कारणले मात्र नभई विभिन्न कारणले हुन्छ।

चिसोमा रुघाखोकी र भाइरल इन्फेक्सन हुँदा, वायुप्रदूषण, धुलो‚ धुवाँ र चुरोटको धुवाँ, ढुसी, फंगल स्पोर्स र परागकण,किरा फट्याङ्ग्रा र घरपालुवा जनावरका रौँ, खेलकुद, व्यायाम र धपेडीको कारण, रसायन मिश्रित रङका कारणले गर्दा दम हुने गर्छ।

दमले विरामीलाई धेरै दुःख दिने हुँदा समयमै दमको उपचार गराउनु पर्छ। यो समस्या देखिएपछि लामो समयसम्म बाफ दिएर नियन्त्रणमा राख्न सकिन्छ तर निमोनिया हुँदा भने समयमै उपचार गरेर चिकित्सको निगरानीमा औषधि सेवन गरेमा पूर्ण निको बनाउन सकिन्छ।

दमको कारणले गर्दा गाह्रो भएमा अस्पतालमा भर्ना गरी सुईको माध्यमबाट औषधि दिइन्छ।

दमबाट बच्न चिसो, धुवाँ, धुलोले बढाउने हुँदा यस्ता कुराबाट बच्न वायुप्रदूषण, परागकण र धूलो धुवाँबाट बच्न मास्क लगाउन चिकित्सकको सुझाव छ। चिसोको समयमा प्रशस्त तातो तरल पदार्थ पिउने, पोषणयुक्त खानेकुरा खानुका साथै न्यानो भएर बस्नुपर्छ।

यस्तै चिसो मौसममा ब्याक्टेरिया तथा भाइरस बढी सक्रिय हुने हुँदा अन्य समयको तुलनामा निमोनियाको जोखिम धेरै हुन्छ। त्यसैले बालबालिकालाई धेरै हावामा नहिँडाउने, चिसो खानेकुरा सकभर नखुवाउने, तातो झोलिलो खानेकुरा सागसब्जी प्रशस्त मात्रामा खुवाउने, बाक्लो लुगा नलगाइदिने, वेला वेला नुहाइदिने तथा बालबालिकालाई निमोनियाविरुद्धको खोप लगाउन समेत सकिन्छ।

(कान्ति बाल अस्पतfलका प्रमुख बालरोग विशेषज्ञ डा. रामहरि चापागाईँसँग गरिएको कुराकानीमा आधारित।)

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.