|

जनकपुरधाम : पूर्व उपप्रधानमन्त्री एवं सांसद विमलेन्द्र निधिले संविधानमा व्यवस्था भएअनुसार प्रदेशले अधिकार नपाएको बताएका छन्। यसबाट आन्दोलन हुनसक्ने र त्यसको नेतृत्व कांग्रेसले गर्ने चेतावनी दिएका छन्।  

शनिबार जनकपुधामस्थित जनकपुर युथ क्लबको वार्षिक साधारणसभा तथा भवन उद्घाटन कार्यक्रममा बोल्दै निधिले अधिकारका लागि फेरि आन्दोलनको अवस्था आउन नदिन सरकारलाई ध्यानाकर्षण गराए।

नेता निधिले संविधानमा उल्लिखित अधिकार प्रदेशलाई हस्तान्तरण गर्न सरकारलाई आग्रह गरे।

नेता निधिले संवैधानिक व्यवस्थानुसार प्रदेश सरकारलाई प्रहरी, कर्मचारी, प्रशासनलगायतका अधिकार प्रत्यायोजन गर्न ढिलाइ गर्न नहुने बताए।

‘संविधानमा प्रदेशको आफ्नै प्रहरी प्रशासन हुन्छ भनिएको छ। हामीले संघीयता ल्याएको आठ वर्ष बितिसक्यो। अझै प्रदेश सरकारहरू अधिकारसम्पन्न हुनसकेका छैनन्’, उनले भने, ‘प्रदेशलाई अधिकार सम्पन्न बनाउन सकेनौँ भने संघीयताको के अर्थ? प्रदेशले पाउने अधिकार चाँडै प्रत्यायोजन गर्न सरकारसँग मेरो आग्रह छ।’

प्रदेशलाई अधिकार सम्पन्न बनाउन आफूले पार्टीभित्र आवाज उठाइरहेको भन्दै उनले अरू दलहरूले पनि सरकारलाई घचघच्याउनुपर्ने उल्लेख गरे।

निधिले प्रदेशलाई अधिकार सुम्पिन ढिलो भए फेरि आन्दोलन हुनसक्ने चेतावनी दिए। उनले भने, ‘अधिकार नपाएर प्रदेश सरकारले काम गर्न पाएका छैनन्। चाँडै अधिकार प्रत्यायोजन नभए फेरि आन्दोलन हुनसक्छ। यो आन्दोलनको नेतृत्व कांग्रेसले नै नगर्ला भन्न सकिँदैन।’

संघीयता र प्रादेशिक संरचनाको अनुभूतिका लागि संघीय सरकारले यथाशीघ्र कानुन बनाएर प्रदेशलाई मजबुत बनाउनुपर्नेमा उनको जोड थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.