काठमाडौं : जापान काण्डमा मुछिएका कोशी प्रदेशका निवर्तमान मन्त्री लीलावल्लभ अधिकारीलाई एमालेले निलम्बन गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सदस्य गणेश कार्कीले त्यसको प्रशंसा गरेका छन्। यतिसम्म भए पनि एमालेले गरेको निर्णय सराहनीय रहेको उनले उल्लेख गरेका छन्।
सामाजिक संजालमा फेसबुकमा नेता कार्कीले लेखेका छन्, ‘जनही १० देखि १४ लाखसम्म लिएर ३ जनालाई नक्कली कर्मचारी बनाएर जापान पुर्याएको, तर जापानले मन्त्रीसहित सबैलाई फिर्ता गराएको भन्ने सार्वजनिक भएपछि कोशी प्रदेशका मन्त्री तथा एमाले नेता लीलावल्लभ अधिकारीलाई एमालेले पार्टीबाट निलम्बन गरेको छ। उनीमाथि छानबिनका लागि अनुरोध गरेको छ। यतिसम्म भए पनि एमालेले गरेको कुरा सराहनीय छ।’
कार्कीले बरु नयाँ रूपमा रास्वपा चुकेको बताएका छन्। उनले आफ्नो भागमा पर्ने गल्तीका लागि माफीसमेत मागेका छन्। उनले भनेका छन्, ‘नयाँ पार्टीका रूपमा, नयाँ नेताका रूपमा, नयाँ पार्टी र नेताले बनाउनुपर्ने नयाँ छवि, हुर्काउनुपर्ने नयाँ प्रवृत्ति र देखाउनुपर्ने पारदर्शी चरित्रका रूपमा हामी चुकेका छौं। मेरो भागमा पर्ने गल्ती, मौनताका लागि सार्वजनिक रूपमा माफी माग्छु।’
सहकारी प्रकरण सभापति रवि लामिछाने पक्राउ परेपछि पार्टीले दोस्रो चरणको आन्दोलन चर्काउने निर्णय गर्दै गर्दा नेता कार्कीले भने नयाँ पार्टी र नेताको रूपमा आफूहरू चुकेको समीक्षा गरेका हुन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।