|
सांकेतिक तस्वीर

संखुवासभा : संखुवासभाको चिचिला गाउँपालिका–३ मा एकजनाको हत्या गरेर भिरमा फालेको शव प्रहरीले फेला पारेको छ भने हत्या आरोपमा एकजना पक्राउ परेका छन्।

चिचिला गाउँपालिका–३ का ३६ वर्षीय विकास राईको हत्या भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी दक्षकुमार बस्नेतले जानकारी दिए। 

डिएसपी बस्नेतका अनुसार  हत्या गरेर फालेको अवस्थामा चिचिला गाउँपालिका–३ स्थित भिरमा शव भेटिएको छ। 

घटनाको प्रकृति हेर्दा हत्या नै गरेर भिरबाट शव फ्यालिदिएको  हुने प्रहरीको भनाइ छ। राईको हत्या कात्तिक १८ गते भाइटीकाकै दिन भएको डिएसपी बस्नेतले बताए। 

सडेगलेको अवस्थामा शव फेला परेको र घटनाको अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। भिरमा शव रहेको शनिवार साँझ प्रहरीले जानकारी पाएको थियो। 

आइतवार बिहान भिरबाट निकालेर शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल संखुवासभा ल्याइएको छ। प्रहरीका अनुसार राईको शव एकदमै अप्ठेरो भिरमा सडेगलेर दुर्गन्धित भएको अवस्थामा फेला परेको हो। 

विकासको हत्यामा संलग्न भएको आरोपमा चिचिला–३ का प्रदीप राईलाई पक्राउ गरेको डिएसपी बस्नेतले बताए। आरोपित प्रदीपले ढुंगाले हानेर हत्या गरेपछि शवलाई भिरबाट फालिदिएका थिए। 

गाउँलेहरुले भने विकासबाट असुरक्षित भयौँ भनेर केही दिनअघि प्रहरीसमक्ष सुरक्षाको माग पनि गरेका थिए। त्यसपछि प्रहरीले पनि उनको खोजी गरिरहेको थियो।

आपराधिक पृष्ठभूमिका विकास जेलबाट २ महिनाअघि मात्रै छुटेका थिए। लागुऔषध ऐनअन्तर्गतको मुद्दामा उनी दोषी ठहर भएर सजाय भुक्तान गरी छुटेका हुन्।

प्रहरीले विकासलाई पछिल्लोपटक २०८० मंसिर १७ गते खाँदबारी नगरपालिका–७ बाट पक्राउ गरेको थियो। उनी विभिन्न मुद्दामा १० पटक पक्राउ परिसकेका थिए।

जिल्ला प्रहरी कार्यालयका अनुसार विकासले विभिन्न व्यक्तिहरुलाई आक्रमण एवं कुटपिट गर्ने, व्यक्तिगत सम्पत्ति तोडफोड गर्ने तथा लागुऔषध बिक्री गर्ने गरेका थिए। 

उनीविरुद्ध ६ पटक सार्वजनिक अपराध, २ पटक ज्यान मार्ने उद्योग र २ पटक लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.