|

काठमाडौँ : गत कार्तिक २ गते मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीसहित ५ जनामाथि आर्थिक लेनदेनको आरोप लाग्यो।

एसपी नवराज कार्की हेडक्वाटर (प्रहरी प्रधान कार्यालय) तानिएका छन् भने प्रहरी निरीक्षक विक्रमबहादुर भट्टराई, हवल्दार राजकुमार श्रेष्ठ, सहायक हवल्दार सरोज श्रेष्ठ र इलाका प्रहरी कार्यालय बेलबारीमा कार्यरत हवल्दार खगेन्द्र राउतलाई कारबाहीको दायरामा ल्याइएको हो।

अनलाइनमार्फत जुवा खेल्नेहरूसँग पैसा असुलेको आरोपमा अनुसन्धान एवं छानबिनका लागि उनीहरु तानिएका हुन्। नेपाल प्रहरीका प्रवक्ता, प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले एसपी कार्कीमाथिको अनुसन्धान सकिए पनि सार्वजनिक भइनसकेको बताए।

उनले थाहाखबरसँग भने, ‘उहाँमाथिको अनुसन्धान सकिएको छ। अब केही दिनमा प्रतिवेदन सार्वजनिक हुन्छ। यदि दोषी देखिएको खण्डमा कारबाही हुन्छ।‘

यस्तै, भैँसेपाटी प्रहरी प्रभागकी तत्कालीन प्रमुख, विनुकुमारी शाही स्वंय प्रहरीका लागि टाउको दुखाइ बनेकी छिन्। हनी ट्रयाप प्रकरणको संगठित अपराधमा उनीमाथि अनुसन्धान भइरहेको छ।

ललितपुरका एक व्यवसायीलाई ‘हनी ट्रयाप’मा पारी ३० लाख रुपैयाँ असुल गर्ने गिरोहमाथिको बृहत्तर अनुसन्धानको जिम्मा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)लाई दिइएको छ। 

सीआईबीका प्रहरी उपरीक्षक (एसपी) होबिन्द्र बोगटीले हनी ट्रयापको घटना अनुसन्धान गर्न एक टोली बनाइएको र काम थालिसकेको जानकारी दिए। उनले थाहाखबरसँग भने, ‘हामीले काम अगाडि बढाइसकेका छौँ। शाही पक्राउ गर्न प्रहरी परिचालन गरिसकेका छौँ।‘

गएको असोज ६ गते सुनसरीको इटहरीका ताज स्लाम र दर्शन पोखरेलले युवतीको प्रयोग गरी एक व्यवसायीबाट ३० लाख रुपैयाँ असुल गर्ने योजना बनाएका थिए। पक्राउ पुर्जी जारी भएपछि प्रहरी निरीक्षक शाही फरार छिन्। अख्तियारमा कार्यरत रहँदै सोही प्रकरणमा जोडिएका प्रहरी उपरीक्षक कमल थापामाथि छानबिन भइरहेको छ। त्यस घटनामा हालसम्म ४ जना पक्राउ परिसकेका छन्।

अपराधको अनुसन्धानमा सक्रिय काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयकै दुई प्रहरी लुटपाट घटनामा संलग्न रहेको आरोपमा पक्राउ परे। कलंकीको लुटपाट घटनामा प्रहरी सहायक निरीक्षक (असई) अनबहादुर पुन र प्रहरी जवान धीर बुढा अहिले अनुसन्धानका क्रममा छन्। उनीहरूलाई गत बुधवार पक्राउ गरिएको हो।

उनीहरूमाथि म्याद थप गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए। ‘उनीहरूमाथि ७ दिनको म्याद थपेर अनुसन्धान भइरहेको छ’, अधिकारीले भने।

गत भदौमा काठमाडौँ प्रहरी परिसरले क्रिप्टो कारोबारीबाट ५० लाख रूपैयाँ लिएर पक्राउ परेका आरोपी छोडेको खुलेको थियो। उक्त प्रकरणमा छानबिन समिति गठन भएको थियो। अधिकारी भन्छन्, ‘त्यो प्रकरण अदालत पुगिसकेको छ।‘

परिसरको साइबर शाखाका सहायक हवल्दार गणेश खड्का र साजन शर्मा चपाईं तथा खोटाङका ३५ वर्षीय तेजबहादुर तामाङविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर भएको छ।

‘समाजको रिफ्लेक्सन हो’

प्रहरीले गर्ने अपराध पनि समाजको रिफ्लेक्सन रहेको पूर्वडिआइजी हेमन्त मल्ल बताउँछन्त तर, प्रहरीलाई समाजको रिफ्लेक्सन मात्र भनेर छुट नहुने उनको भनाइ छ।

उनी भन्छन्, ‘देशको शान्ति सुरक्षादेखि हतियारहरू नै प्रहरीको जिम्मामा हुन्छ। कानुन कार्यान्वयन गर्ने व्यक्तिहरू नै अपराधमा जोडिन पुग्दा समाजमा नकरात्मक असर पर्ने गर्छ। यसमा प्रहरी हेडक्वार्टरले कठोर कदम चाल्नुपर्छ।‘

प्रहरीले गर्ने आर्थिक अनियमितता तथा अपराध न्यूनिकरणका लागि काम गर्ने युनिट प्रहरी कार्यालयमा हुने भन्दै पूर्वडिआइजी मल्लले ती युनिटहरूको परिचालन निर्मम भएर लाग्नुपर्ने बताए।

केही वर्ष अगाडिसम्म प्रहरी तालिम लिएर सकिने वितिक्कै फ्रेस प्रहरीलाई ठूला जिम्मेवारी दिने चलन नभएको तर अहिले प्रहरी हुने बितिक्कै उनीहरूले जिम्मेवारी पाउने भएकाले पनि केही समस्या भइरहेको मल्लले बताए।

‘पहिले ती प्रहरीहरूलाई अनुभवी बनाउनुपर्‍यो। उनीहरूको विगत के हो जान्नुपर्‍यो। त्यसपछि मात्र जिम्मेवारी दिनुपर्छ। नत्र एकाध प्रहरीका कारण सिंगो प्रहरी बदनाम हुने अवस्था सिर्जना भएको छ’, उनले भने।

‘नियन्त्रण र निगरानी कमसल भयो’

प्रहरीले गर्ने अपराधले समाजमा प्रहरीमाथि नै प्रश्न चिह्न खडा हुने बताउँछन् अर्का पूर्वडिआइजी केशव अधिकारी। एकाध प्रहरीका कारण सिंगो प्रहरी बदनाम हुने अवस्था सिर्जना भएको मल्लको तर्कमा उनी पनि सहमत छन्।

प्रहरी अपराधमा लाग्दा समाजमा दण्डहिनता बढ्ने उनले बताए। प्रहरीभित्र हरेक युनिट, तह र तप्कामा रहने प्रहरी नेतृत्वले कठोरतापूर्वक आफू मातहतका प्रहरीमाथि निगरानी गर्नुपर्ने उनको भनाइ छ।

प्रहरीभित्र इमान्दार तथा क्षमतावान प्रहरीहरूले काम गरिरहेको भन्दै उनले एकाध प्रहरीहरू भ्रष्ट रहेको उल्लेख गरे।

भ्रष्टहरू कसरी त्यो पदसम्म आइपुगे? कतै राजनीतिक संरक्षण त छैन? यदि संरक्षणमा छन् भने हेडक्वार्टरले उनीहरूलाई हटाउनुपर्छ। ‘आफूले जे गर्दा पनि राजनीतिक संरक्षण भइहाल्छ भन्ने मानसिकता कतिपयलाई लाग्न सक्छ। त्यस्ता व्यक्तिमाथि प्रहरी नेतृत्व कठोर बन्नुपर्छ’, अधिकारीले भने, ‘नत्र सिंगो प्रहरी नै बदनामको शिकार हुन्छ।‘

कारबाहीमा कुनै कसर बाँकी राख्दैनौँ : नेपाल प्रहरी

नेपाल प्रहरीभित्र करिब ८० हजार कर्मचारीहरूले काम गरिरहेका छन्। ती मध्ये एकाध अपराधमा लाग्दा त्यसले सिंगो प्रहरी प्रशासनलाई बदनाम गरिरहेको छ।जुनसुकै अपराधमा जोडिए पनि उनीहरूप्रति कठोर कारबाही गर्न प्रहरी नहिच्किचाउने बताउँछन् प्रवक्ता कार्की।

‘कानुन सबैका लागि समान हो। राम्रो काम गर्ने पुरस्कृत हुन्छन्। गल्ती गर्नेले सजाय पाउँछन्’, उनले भने, ‘अपराध वा आर्थिक अनियमिततामा जोडिएका प्रहरीलाई आन्तरिक अनुशासनात्मक तथा फौजादारी कानुन जुन आकर्षित हुन्छ, हामी कारबाही गर्छौं।‘

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.