काठमाडौँ : नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान उपेन्द्रमान सिंहले अध्ययन नै नगरी मकवानपुरको इन्द्रसरोवर–३ स्थित वत्सलादेवी माध्यमिक विद्यालयमा एन्फा एकेडेमी स्थापना गरिएको आरोप लगाएका छन्।
सिस्नेरीमा गएको पहिरोमा निधन भएका एन्फा एकेडेमीका ६ जना छात्रलाई श्रद्धाञ्जलि दिन आयोजित सभामा पूर्वकप्तान सिंहले सो आरोप लगाएका हुन्।
पूर्वकप्तान तथा गोलकिपर सिंहले एकेडेमी खोल्न सो ठाउँ उपयुक्त छ कि छैन भन्ने अध्ययन गर्नुपर्ने भए पनि एन्फाले नगरेको बताए।
राष्ट्रिय टोलीका पूर्वकप्तानसमेत रहेका सिंहले नेपाली फुटबल अहिले राम्रो स्थितिमा समेत नरहेमा चिन्ता व्यक्त गरे। नेपालका फुटबलर एक भएर खेलको विकास गर्नुपर्ने सिंहले औँल्याए।
होस्टेलमा बसेर मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ टेकरस्थित वत्सला माध्यमिक विद्यालयमा अध्ययन गर्ने र एन्फा क्याम्पमा फुटबल प्रशिक्षण लिने ४० जना विद्यार्थीमध्ये हेटौँडाका अनुपम घलान, बाराको निजगढका विकल रेग्मी, सिस्नेरीका दिवस बानियाँ, काठमाडौंका प्रियान्स आचार्य र सर्लाहीका आदित्य बलम्पाकी, साइमन योञ्जनको पहिरोमा मृत्यु भएको थियो।
एन्फाका पदाधिकारी, पूर्वफुटबलर र विद्यार्थीले दिवंगतहरुलाई श्रद्धाञ्जलि अर्पण गरेका थिए।
एन्फाले १४ वर्षमुनिका ४० विद्यार्थीलाई गत वर्षदेखि वत्सलादेवी माविसँगको सहकार्यमा सिस्नेरीमा एकेडेमी सञ्चालन गर्दै आएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।