विराटनगर : प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योगधन्दा बन्द हुनेगरी कुनै पनि गतिविधि गर्न नदिने चेतावनी दिएका छन्। विराटनगरबाट काठमाडौं फर्किनुअघि होटल ह्यारिसनमा आज पत्रकारमाझ उनले औद्योगिक क्षेत्र निर्वाध सञ्चालने हुने विश्वास दिलाए।
उद्योगहरूमा काटिएको बिजुली लाइन नजोडिएको सम्बन्धमा पत्रकारहरूले राखेको जिज्ञासामा जवाफ दिँदै प्रधानमन्त्री ओलीले भने, “कुनै पनि हालतमा देश बिगार्न दिइन्न, उद्योगधन्दा निर्वाध सञ्चालन हुनुपर्छ‚ उद्योगधन्दा बन्द गर्न र देशलाई टाट पल्टाउन दिइँदैन।”
पत्रकारमाझ खासै नखुलेका प्रधानमन्त्री ओलीले एसपीपीको सम्बन्धमा सरकारलाई कुनै जानकारी नभएको बताए।
उनले भने‚ ‘प्रचण्डजीहरुको सरकार हुँदा त्यसवेला एसपीपीको अलिअलि कुरा चलेको सुनिएको हो, अहिले सम्झौताको कुरा नै भएको छैन।’
संघीय सरकारले प्रदेशलाई अधिकार नदिएको गुनासोबारे पनि उनले जवाफ दिए। प्रधानमन्त्री ओलीले भने‚ ‘अधिकारको कुराभन्दा कामको कुरा गरौँ, काम अगाडि बढेका छन्, देश र जनताका लागि काम गर्नु पर्यो। विकास, सुशासनको कुरामा ध्यान दिनुपर्छ।’
प्रदेश सरकारले विकासको कामसँगै सुशासनका क्रियाकलापलाई पनि निरन्तर अगाडि बढाउनुपर्नेमा जोड दिँदै प्रधानमन्त्री ओलीले संविधान संशोधन संसद्ले गर्ने भएकाले सोहीअनुसार प्रक्रिया शुरु हुने स्पष्ट पारे।
कांग्रेस नेता डा. शेखर कोइरालाले सरकारले काम गर्न सकेन भनेर गरेको टिप्पणीबारे उनले भने‚ ‘त्यस्तो होइन होला।’
बजारमा अनेकथरी प्रायोजित हल्ला चल्ने गरेको उनले बताए। उनले भने‚ ‘सरकार नै ढल्छ भन्ने हल्ला छ। एक वर्षपछि शेरबहादुर देउवाजी प्रधानमन्त्री बन्नुहुन्छ, त्यसपछि उहाँले चुनाव गर्नुहुन्छ, चुनावले जे परिणाम दिन्छ त्यही कार्यान्वयन हुन्छ।’
विराटनगर विमानस्थलमा सोमवार पत्रकारहरुलाई प्रवेश दिइएको थिएन भने अपराह्न होटलबाट बाहिरिने वेलामा प्रधानमन्त्री ओलीले करिब २ मिनेट पत्रकारमाझ बिताएका थिए।
होटल ह्यारिसनमा उनले केही उद्योगी‚ व्यवसायी, पार्टीका नेता कार्यकर्तासँग भेटघाट गरेका थिए। उनले पार्टीका नेताहरुसँग ग्रामथान गाउँपालिकाको चुनावको सन्दर्भमा केही जानकारी लिएका थिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।