काठमाडौं : सहकारी ठगी प्रकरणमा पक्राउ परी कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वप) का सभापति रवि लामिछानेलाई भैरहवा लगिएको छ।
बुटवलको सुप्रिम सहकारीको बचत रकम अपचलनमा पनि संलग्न भएको आरोपमा लामिछानेलाई कास्कीबाट बुटवल लागिएको हो।
लामिछानेलाई कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरी पोखरा लगिएको थियो। रुपन्देही जिल्ला अदालतले ८ कात्तिकमा लामिछानेसहित १२ जनालाई संगठित अपराधमा पक्राउ गर्न अनुमति दिएको थियो।
विमानस्थलबाट लामिछानेलाई सिधै भैरहवामा रहेको जिल्ला प्रहरी कार्यालयमा राखिने छ। त्यसपछि जिल्ला सरकारी वकिलको कार्यालयमा लगिने छ। त्यहाँ लामिछानेको बयान लिने कार्य चल्नेछ। बयान सकिएपछि लामिछानेलाई फेरि पोखरा नै फर्काइनेछ।
लामिछानेलाई रुपन्देही लगिएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका नेता कार्यकर्ता र शुभेच्छुकले गौतमवुद्ध विमानस्थल भैरहवाअगाडि प्रदर्शन गरेका छन्। प्रदर्शनलाई मध्यनजर गर्दै ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ।
बुटवलको सुप्रिम सहकारीको रकम गैरकानुनीरूपमा गोर्खा मिडिया नेटवर्कमा सारिएको विषयमा नेटवर्कका तत्कालीन उपाध्यक्ष छविलाल जोशीसँग यसअघि दुई दिन बयान लिएर पोखरा पठाइएको थियो। बुटवलको सुप्रिम सहकारीबाट जोशीको नाममा दुई करोड ५० लाख र लामिछानेको नाममा एक करोड ९६ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्क प्रालिमा गएको संसदीय विशेष छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ।
जोशी र लामिछानेसहित जीबी राई, भूपेन्द्रबाबु राई, कुमार रम्तेल र गोर्खा मिडिया नेटवर्कका नाममा गरी सुप्रिम सहकारीबाट १४ करोड २९ लाख ३६ हजार रुपैयाँ रकम पठाइएको छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।