|

काठमाडौं : आईसीसी अन्डर नाइन्टिन महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटमा नेपालले कुवेतसामू जितका लागि २ सय १४ रनको चुनौती दिएको छ। 

यूएईस्थित सेभेन्स डिस्ट्रिक स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा २ विकेट गुमाएर २ सय १३ रन बनाएको हो । नेपालका लागि कप्तान पूजा महतोले शतकीय पारी खेल्दै १ सय ३० रनमा अविजित रहिन्। 

६९ बल खेलेकी उनले १७ वटा चौका हिर्काएकी थिइन्। सोनी पाख्रिनले आउट नभइ ४३ रन जोडिन् । यसअघि सावित्री धामी ११ र साना प्रविन ६ रनमा आउट भएका थिए। 

कुवेतले जवाफी ब्याटिङ सुरु गरेको छ। पहिलो खेलमा नेपालले कुवेतलाई १०८ रनले हराएको थियो । यसअघि आइतबार भएको खेलमा नेपालले थाइल्यान्डलाई १ सय ६ रनको विशाल अन्तरले पराजित गरेको थियो । प्रतियोगितामा नेपालसहित घरेलु टोली यूएई, थाइल्यान्ड र कुवेत सहभागी छन् । 

सहभागी चार टोलीमध्ये डबल राउन्ड रोविनका आधारमा शीर्ष स्थान हासिल गर्ने टोली आईसीसी यू–१९ महिला टी–२० विश्वकपका लागि छनोट हुनेछ । नेपालले अन्तिम खेल बिहीबार यूएईसँग खेल्नेछ ।

नेपाल यसअघि यूएईसँग १३ रनले पराजित भएको थियो । यूएई जारी प्रतियोगितामा अपराजित टोली हो । प्रतियोगिता अन्तर्गत आजै दिउँसो यूएई र थाइल्याण्ड भिड्ने छन् । 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.