|

काठमाडौँ : रुघाखोकी बिग्रियो वा लामो समयसम्म ठिक नभए निमोनिया हुन्छ। श्वास लिँदाखेरी हावाको माध्यमबाट बाहिरको किटाणु (ब्याक्टेरिया) फोक्सोमा पुग्छ र त्यहाँ ब्याक्टेरियाको संक्रमणबाट निमोनिया हुन्छ। 

जुनसुकै समयमा जोखिम हुने भए पनि प्रायः चिसो मौसममा विशेषगरी बालबालिका र वृद्धवृद्धा निमोनियाको जोखिममा हुन्छन्। उनीहरूमा रोग प्रतिरोधात्मक क्षमता कम हुने भएकाले निमोनियाको संक्रमण चाँडै हुन्छ।

यसैगरी लामो समयदेखि औषधि सेवन गरिरहेका, अंग प्रत्यारोपण गरेका, फोक्सो, मुटुसम्बन्धी रोग, मधुमेह, बाथ भएका, किमोथेरापी लिएर उपचार गराइरहेका र जोसँग विरामीको रोगसँग लड्ने क्षमता कम हुन्छ मा निमोनियाको जोखिममा लिने गरिन्छ।

तर जीवनशैलीमा विशेष सावधानी अपनाउन सकियो र निमोनियाविरुद्धको खोप हरेक वर्ष लगाउन सके यसबाट हुने जटिलताका साथै मृत्युदर समेत घटाउन सकिने बताउँछन् कन्सल्टेन्ट मेडिकल जनरलिस्ट डा. त्रिभुवनचन्द्र झा।

नेपालमा प्रायः बालबालिका र ज्येष्ठ नागरिक र प्रतिरक्षा प्रणाली कमजोर भएकाहरूमा देखिने प्रमुख साझा समस्या हो निमोनिया। यसले गर्मी मौसमभन्दा चिसो मौसममा धेरै सताउने गर्छ तर बेलैमा निमोनियाविरुद्धको खोप समेत लगाउन सकियो भने निमोनियाबाट हुने जटिलताबाट बच्न सकिने डा. झाको भनाइ छ।

‘धेरै नेपालीहरूलाई सताउने एक श्वासप्रश्वास सम्बन्धी समस्या हो निमोनिया। हाम्रोमा अझै ग्रामीण क्षेत्रमा विशेषगरी पाँच वर्षमुनिका बालबालिका र वृद्धवृद्धाका लागि प्रमुख स्वास्थ्य समस्या र चुनौती पनि हो। यो उमेर समूहमा निमोनियाबाट विरामी हुने र मृत्यु हुने दर उच्च छ तर नियमितरूपमा यसविरुद्धको खोप लगाउन सके यसबाट हुने धेरै जटिलता कम गर्न सकिन्छ’‚ डा. झाले भने।

जाडोयाम ज्येष्ठ नागरिक, अशक्तहरू जस्तै बालबालिकाका लागि पनि संवेदनशील मौसम मानिन्छ। बालबालिकालाई यो समयमा रुघाखोकी लाग्ने, श्वासप्रश्वास समस्याका साथै निमोनिया जस्ता समस्या देखिने हुँदा बालबालिकालाई विशेष हेरचाह गर्नुपर्ने बताउँछन् कान्ति बाल अस्पतालका प्रमुख बालरोग विशेषज्ञ डा. रामहरि चापागाईँ।

​'हाम्रोमा चिसो मौसममा बालबालिकालाई सताउने साझा समस्या भनेको निमोनिया पनि एक हो। त्यसैले हरेक अभिभावकले यो समयमा विशेष हेरचाहका साथै खोपमा पनि ध्यान दिनुपर्छ।’

कसरी लगाउने निमोनियाविरुद्धको खोप

नेपालमा सरकारी कार्यक्रममा बालबालिकालाई निमोनियाको खोप दिने कार्यक्रम सन् २००९ यता समावेश गरिए पनि हालसम्म वयष्क र ज्येष्ठ नागरिकलाई लक्षित खोपको व्यवस्था सरकारी तहबाट गरिएको छैन।  त्यसैले  ज्येष्ठ नागरिक र वयष्कहरूले यो खोप चिकित्सकको सिफारिसमा किनेर लगाउनुपर्छ।

डा. झाका अनुसार निमोनियाको जोखिम कम गर्न प्रायः विरामीलाई इन्फ्लुएन्जा खोप र निमोनियाविरुद्धको खोप न्यूमोकोकल खोपहरू (PCV13 र PPSV23) खोप लगाइने गरिन्छ।

चिसो मौसममा हुने इन्फ्लुएन्जा पनि निमोनियाको कारणकतत्त्व बन्ने हुँदा  इन्फ्लुएन्जा र निमोनियाविरुद्धको खोप विरामीको जोखिम हेरेर लगाउन सिफारिस  गरिन्छ।

न्यूमोकोकल खोपहरू (PCV13 र PPSV23) ले निमोनिया मात्र नभई यसबाट हुने मेनिन्जाइटिस जस्ता गम्भीर रोगबाट बचाउँछ।

PCV13 खोपले १३ प्रकारका ब्याक्टेरियाका स्ट्रेनविरुद्ध सुरक्षा प्रदान गर्छ, जुन विशेषगरी बालबालिका र फोक्सो समस्या भएका व्यक्तिहरूका लागि सिफारिस गरिएको छ। यो खोप मांसपेशीमा दिइन्छ।

PPSV23 खोपले २३ प्रकारका स्ट्रेनविरुद्ध सुरक्षा दिन्छ र ६५ वर्ष वा सोभन्दा माथिका वृद्धवृद्धालाई एकपटक लगाउन सिफारिस गरिएको छ। यसलाई मांसपेशीमा वा छालामुनि लगाउन सकिन्छ।

दुवै खोपले मिलेर प्रतिरक्षा प्रणालीलाई अझ बलियो बनाउँछ र निमोनियाका विरामी तथा न्यूमोकोकल रोगको गम्भीरतालाई कम गर्छ। वृद्धवृद्धाले समयमा खोप लिएर रोगप्रतिरोधात्मक क्षमता बलियो बनाउन र चिसो महिनामा स्वस्थ रहन यो खोप आवश्यक छ।

निमोनियाविरुद्ध खोप एकपटक लगाए सधैँलाई हुन्छ त?

सामान्यतया ब्याक्टेरियाका कारण हुने निमोनियामा खाने एन्टिबायोटिक चलाइन्छ। चिकित्सकले सिफारिस गरेको औषधिको पूरै मात्रा सेवन गर्नुपर्छ। बीचमा निको भयो भनेर औषधि खान रोक्नु हुँदैन। त्यसरी बीचैमा औषधि छाड्ने गरियो भने पछि रोग बल्झिएर गम्भीर समस्या हुन सक्छ र उपचार गर्न झनै कठिन हुनसक्छ।

यो खोपले पाँच वर्षसम्म काम गर्ने बताइए पनि राम्रो प्रभावकारिताका लागि एक वर्ष बिराएर निमोनियाविरुद्धको खोप लगाउन सके झनै प्रभावकारी हुन्छ।

यसले विशेषगरी ब्याक्टेरियाका कारण हुने निमोनिया संक्रमणबाट बचाउँछ। दीर्घरोगी, बालबालिका तथा वृद्धवृद्धालाई यो खोप निकै प्रभावकारी हुन्छ।

इन्फ्लुएन्जाविरुद्धको खोप पनि वर्षमा एकपटक लगाउन सकिन्छ। यसले पनि निमोनियाबाट बचाउँछ। इन्फ्लुएन्जाविरुद्धको खोप सकेसम्म चिसो शुरु हुनुअघि अर्थात् भदौतिर लगाउन राम्रो हुने डा. झाको भनाइ छ।

तर इन्फ्लुएन्जाविरुद्धको खोप निमोनियाविरुद्धको खोप हरेक वर्ष लगाउनु पर्छ।

यस बाहेयक निमोनिया भएर औषधि चिकित्सकले दिएको समय अवधिभर नछोडी सेवन गर्नुपर्छ। बीचमा औषधि खान छोडे ब्याक्टेरियाको क्षमता बढी पुन: बल्झिन सक्छ। औषधिले काम नगर्न सक्छ। यसका साथै चुरोटबिडी सेवन गर्नु हुँदैन। घरबाहिर निस्कँदा मास्क लगाउनुपर्छ।

रुघाखोकी लागेका मान्छेको सम्पर्कमा नजाने, बच्चालाई कुपोषण हुन नदिने, वृद्धवृद्धालाई सामान्य संक्रमण छ भने पनि समयमै उपचार गराउने र घरमा बस्दा चिसो भयो भन्दै झ्यालढोका लामो समयसम्म बन्द गरेर बस्नु हुँदैन।

तातो र झोलियो खानेकुरा खानाले पनि निमोनियाबाट धेरै हदसम्म जोगिन सकिन्छ।

  अघिल्लो समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.