मार्शल आर्ट प्रशिक्षक यजनेश सेट्टीले प्रशिक्षण दिने

|

वीरगञ्ज : वीरगञ्ज महानगरपालिकाले एकैपटक १० हजारभन्दा बढी किशोरीलाई आत्मरक्षाका लागि तालिम दिने भएको छ।

महानगरभित्रका कक्षा ६ देखि १२ सम्मका छात्रालाई तालिम दिन लागेएको महानगरपालिकाका प्रमुख राजेशमान सिंहले जानकारी दिए।

बुधवार बिहान १० बजेबाट शुरु हुने प्रशिक्षण कार्यक्रममा वीरगञ्जका सामुदायिक र निजी विद्यालय, क्याम्पस गरी १० हजारभन्दा बढी छात्रा सहभागी हुने उनले बताए।

एकसाथ १० हजारभन्दा बढी किशोरीलाई आत्मरक्षाको तालिम दिएर विश्व रेकर्डसहित गिनिज बुकमा धेरै किशोरीलाई एकसाथ तालिम दिएर महानगरको नाम लेखाउने तयारी भएको उनले बताए।

यो तालिम सफल रूपमा सम्पन्न भए वीरगञ्जको नाम अन्ताराष्ट्रिय रूपमा चर्चित हुने हुँदा आमनगरवासीलाई कार्यक्रम सफल पार्न पनि आग्रह गरे। वीरगञ्ज महानगरको आयोजना तथा नेपाल-भारत सहयोग मञ्चको समन्वयमा भारतका ख्यातिप्राप्त मार्शल आर्ट प्रशिक्षक डाक्टर चिता यजनेश सेट्टीलाई बोलाएर प्रशिक्षण दिन लागिएको महानगर उपप्रमुख इम्तियाज आलमले जानकारी दिए।

आदर्शनगर रंगशालामा हुने प्रशिक्षणको सम्पूर्ण तयारी भइसकेको र छात्राहरूलाई ल्याउने लैजाने व्यवस्थासहित सुरक्षाको व्यवस्था मिलाइसकिएको महानगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्णले जानकारी दिए। प्रशिक्षक सेट्टी अभिनेता, निर्देशक, निर्माता, मार्शल आर्टिस्ट र फिटनेस प्रशिक्षक हुन्।

उनले अमिताभ बच्चन, सलमान खान, अजय देवगण, गोविन्दा, फरहान अख्तर, ऋतिक रोशन, रेखा, करिश्मा कपुर, रवीना टण्डन, माधुरी दीक्षित, रोजर मूर, ज्याकी च्यान जस्ता धेरै बलिउड र हलिउड स्टारलाई आत्मरक्षा सम्बन्धी प्रशिक्षण दिएका छन्।

ख्यातिप्राप्त प्रशिक्षकद्वारा दिइने तालिमले छात्राहरू (किशोरी) आत्मरक्षाका लागि सक्षम हुने विश्वास नेपाल-भारत सहयोग मञ्चका अध्यक्ष अशोक वैधले व्यक्त गरे। पत्रकार सम्मेलानमा प्रशिक्षक शेट्टीले आफू नेपालका छात्राहरूलाई प्रशिक्षण दिन आउन पाउँदा खुशी लागेको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.