काठमाडौँ : स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले जलनका सबै विरामीलाई सरकारले निःशुल्क उपचारको व्यवस्था गरेको बताएका छन्।
चालू आर्थिक वर्षका लागि मन्त्रालय आफैँले र आगामी आर्थिक वर्षदेखि विनियोजित बजेटमा नै समावेश गर्ने गरी कस्मेटिक बाहेकका जलन विरामीको उपचार निःशुल्क गर्ने गरी सम्बन्धित अस्पताललाई परिपत्र गरिएको मन्त्री पौडेलको भनाइ थियो।
मंगलवार अपरान्ह जलन पीडितहरूसँगको छलफलमा उनले जलन पीडितका लागि उपचार सेवाको विस्तार जिल्ला अस्पतालसम्म गर्ने प्रयासमा आफू लागिपरेको पनि बताए। हाल सरकारले ८ वटा अस्पतालमा सो व्यवस्था गरे पनि त्यसलाई जिल्ला अस्पतालसम्म पुर्याउने योजना तय गरिएको पनि मन्त्री पौडेलले बताए।
मन्त्री पौडेलले भने‚ ‘अहिले ८ वटा अस्पताललाई नै परिपत्र गरिएको छ- कस्मेटिक बाहेक जलनका सबै विरामीको उपचार मन्त्रालयले व्यहोर्छ। त्यसअनुसार व्यवस्थापन गर्नु/गराउनु भनेर हामीले सम्बन्धित अस्पतालहरूलाई परिपत्र गरिसकेको अवस्था छ। यो वर्षका लागि मन्त्रालय आफैंले स्रोत सुनिश्चित गरेको छ। आगामी वर्षदेखि यो बजेट नै विनियोजन भएर आउँछ।’
मन्त्री पौडेलले जनशक्तिको अभाव भएकाले नेपालमा जलनका विरामीहरूको उपचार प्राथमिक स्वास्थ्यकेन्द्रसम्म पुर्याउने सम्भावना नभएको स्पष्ट पारे। कार्यक्रममा जलन पीडितहरूले मन्त्री पौडेललाई धन्यवाद दिएका थिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।