|

धनकुटा : जिल्लाको धनकुटा नगर क्षेत्रमा मात्र बसोबास गर्ने आठपहरिया जातिको मुख्य चाड वडाङ्मी (मंसिरे) को रौनक शुरु भएको छ। 

आठपहरिया जातिको मुख्य चाडको रूपमा रहेको वडाङ्मी तिहारको भाइटीकामा शुरु भई मंसिरको औँसीसम्म मनाइन्छ। यो जातिको बैशाखे, भदौरे र मंसिरे गरि तीनमध्ये यो महत्त्वपूर्ण चाड हो। 

यो चाडमा दुःखबाट उक्सिने, घरको जेठो छोरो जन्मिएकोमा तथा नयाँ घर निर्माण गरेकोमा हर्षोल्लास मनाउने चलन छ। भाइटीकाबाट भैलो खेलेर चाडको शुरुवात हुन्छ भने त्यसपछिको द्वादशी तिथिमा यो वर्षभित्र आमा वा बाबु गुमाउनेले धनकुटाबाट हिँडेर सुनसरीको बराह क्षेत्र पुगी कपाल र दाह्री काटेर दसी बगाउने गर्नुपर्छ। 

कोकाहा खोलामा कपाल दाह्री खौरिएर स्नान गरी बराह भगवानको दर्शन गर्ने र देउता आफ्नो घरमा लिएर आउने प्रचलन रहेको छ।

सोही क्रममा उनीहरु मंगलवार धनकुटाबाट बराह क्षेत्रतर्फ हिँडेका छन्। बेलुका धनकुटाको साँगुरीगढी-९ आहाले र भञ्ज्याङ (सिमलबाँस) मा बास बस्ने छन्।

बुधवार बराह क्षेत्र पुगेर कोकाहा खोलामा कपाल दाह्री खौरिएर स्नान गरेर बराह भगवानको दर्शन गरेर सोही ठाउँमा बास बस्रे र बिहीवार देउता लिएर फर्की धनकुटा नगरपालिका वडा नं. ९ मूलघाटमा बास बसेर शुक्रवार घर आइपुग्ने बराह क्षेत्र हिँडेका सुमन आठपहरियाले बताए। 

पूर्णिमाको दिन विहान घर आएपछि दुःखको कर्म फुकाउने काम हुन्छ। यससँगै भोज खुवाउने र नाचगान गर्ने प्रचलन छ। यो क्रम औँसीसम्म जारी रहन्छ। 

चाडका अवसरमा आठपहरिया जातिभित्रको हुम्वारक, छिर्लिङे, खावाडो तीन पाछा अर्थात् पुस्ताको डल्ले नाच नाच्ने चलन छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.