काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका दुई ठूला छिमेकी मुलुकमध्ये पहिला चीनको भ्रमण गर्ने निश्चित भइसकेको छ। चिनियाँ समकक्षी ली छ्याङको निमन्त्रणामा १७ मंसिरदेखि २१ गतेसम्म उनी उत्तरी छिमेकी चीनमा रहनेछन्।
तेस्रो (औपचारिक रूपमा चौथो) पटक सत्ताको नेतृत्व गरिरहेका ओलीको यो दोस्रो विदेश भ्रमण हुनेछ। पहिलो विदेश भ्रमणका रूपमा उनी संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन असोज ४ देखि १४ गतेसम्म अमेरिका गएका थिए।
अहिले सत्ताको बागडोर सम्हालेको चार महिना बित्न लाग्दा पनि दक्षिणी छिमेकी भारतले भ्रमणको निम्तो नदिएपछि प्रधानमन्त्री ओली चीनको निम्तो मान्न जान लागेका हुन्।
विगतमा नेपालका प्रधानमन्त्रीले पहिला अरू देशको भ्रमण गरे रिसाउँथ्यो भारत
विगतका अधिकांश नेपालका प्रधानमन्त्रीले दक्षिणी छिमेकी भारतबाटै विदेश भ्रमणको सुरुवात गर्ने गर्थे। राणाशासनको अवसानपछिको पहिलो प्रधानमन्त्री मातृकाप्रसाद कोइरालादेखि टंकप्रसाद आचार्य र विपी कोइरालाको पहिलो विदेश भ्रमण भारत थियो।
२०४६ मा प्रजातन्त्र पुनःस्थापनापछिको अन्तरिम सरकारको तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई, २०४८ को निर्वाचनपछिका प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालादेखिका अधिकांश प्रधानमन्त्रीले भारतबाटै विदेश भ्रमणको सुरुवात गरेका थिए।
कूटनीतिज्ञहरूका अनुसार अन्य देशबाट भ्रमणको निम्तो आए पनि निकटको छिमेकी नरिसाओस् भन्नका लागि विगतका प्रधानमन्त्रीहरू भारततिरै लाग्थे। भारतले पनि नेपालमा नयाँ प्रधानमन्त्री नियुक्त हुनासाथ भ्रमणको निम्तो दिन ढिलाइ गर्दैनथ्यो।
बरु पहिला अरू देशमा नेपालका प्रधानमन्त्री गए भारत रिसाउँथ्यो। २०६५ मा पुष्पकमल दाहाल ‘प्रचण्ड’ पहिलोपटक प्रधानमन्त्री हुँदा चीनबाट विदेश भ्रमणको सुरुवात गरेका थिए। त्यस वेला भारतले असन्तुष्टि जनाएपछि प्रचण्डले उक्त चीन भ्रमणलाई अनौपचारिक घोषणा गर्नुपरेको थियो।
त्यसपछि दोस्रो र तेस्रो कार्यकाल प्रधानमन्त्री हुँदा प्रचण्डले भारतबाटै विदेश भ्रमणको सुरुवात गरे। २०७५ मा दोस्रोपटक प्रधानमन्त्री बन्दा चीनले पहिला भ्रमण गराउन चाहे पनि उनी भारत नै गए।
गत आमनिर्वाचनपछि २०७९ पुस १० मा तेस्रोपटक सत्ताको नेतृत्वमा पुग्दा पनि प्रचण्डले पहिलो विदेश भ्रमण भारतलाई नै बनाए। भारतीय समकक्षी नरेन्द्र मोदीले पनि उनलाई निम्तो दिन ढिलाइ गरेनन्। प्रधानमन्त्री नियुक्त हुनासाथ बधाई दिने क्रममै मोदीले भारत भ्रमणको निम्तो दिएका थिए।
तर वर्तमान प्रधानमन्त्री ओलीलाई निम्तो दिन भारतले किन कञ्जुस्याइँ गरिरहेको छ ? नेपालका तर्फबाट प्रयास नै नभएको भने होइन। ओलीले सत्ता सम्हालेको केही दिनमै भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका थिए भने परराष्ट्रमन्त्री आरजु राणामार्फत पनि मोदीलाई बोलाएका थिए।
ओली स्वयंले संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन जाँदा गत असोज ७ गते अमेरिकामै मोदीसँग शिष्टाचार भेटवार्ता गर्नुका साथै पुनः नेपाल भ्रमणमा बोलाएका थिए।
तर भारतले नेपाली प्रधानमन्त्रीलाई सत्ता सम्हालेलगत्तै भ्रमणको निम्तो दिने परम्परा तोडेर ओलीलाई बेवास्ता गरेको छ। यसलाई लिएर राजनीति तथा कूटनीतिक वृत्तमा विभिन्न व्याख्या, विश्लेषण तथा आशंका व्यक्त भइरहेका छन्।
के भन्छन् सत्तारुढ कांग्रेस–एमाले ?
सत्तारुढ दलहरू भारतले निम्तो दिन ढिलाइ गर्नुलाई सामान्य रूपमा अर्थ्याउँछन्। साथै चर्चा तथा आशंका गरिएजस्तो यसबाट दुई देशबीचको सम्बन्धमा कुनै खटपट नआउने उनीहरूको बुझाइ छ।
एमालेको विदेश मामिला विभाग उपप्रमुख विष्णु रिजाल भारतले नबोलाएपछि प्रधानमन्त्री चीन जान लागेको भनेर बरु स्वाभिमान र राष्ट्रियताविरोधी चर्चा नेपालकै बुद्धिजीवीहरूबाट भइरहेको टिप्पणी गर्छन्।
‘कुनै पनि देशले बोलाउने नबोलाउने सम्बन्धित देशको कुरा हो। आफैले निम्तो माग्ने कुरा भएन’, उनी भन्छन्, ‘तर यहाँ भारतले नबोलाएपछि प्रधानमन्त्री चीन जान लाग्नुभयो भनेर जे चर्चा भइरहेको छ, यो स्वाभिमान विरोधी र राष्ट्रियता विरोधी कुरा हो। बौद्धिक भनिने, विश्लेषक भनिनेहरूले नै यो गरिरहेका छन्, जुन गलत छ। यसले राष्ट्रिय मनोबल कमजोर र निरीह बनाउँछ।’
प्रधानमन्त्रीको चीन भ्रमणको महत्त्वलाई कम गराउने भारतको चाहनानुसार नै भाष्य निर्माण हुन नहुनेमा नेता रिजाल जोड दिन्छन्। उनी थप्छन्, ‘प्रधानमन्त्रीको चीन भ्रमणको महत्त्वलाई भारतले कम गराउन चाहन्छ, भारतमा निम्तो नपाएर चीन जान लागेको भाष्य निर्माण गर्न चाहन्छ। त्यसको मोहरामै नेपालका बुद्धिजीवी लागिराख्या छन्।’
नजिकमा जो छ उसैसँग बढी झगडा र मेलमिलाप पनि हुने हुँदा यसबारे ठूलो चर्चा आवश्यक नहुने रिजालको बुझाइ छ। ‘दुई देशबीच लामो सम्बन्ध रहिआएको छ। हाम्रो सम्बन्ध केही हुँदैन’, उनी भन्छन्, ‘जति पनि पुराना मुद्दा छन्, त्यो छिमेकीबीच हुनु स्वभाविक हो। निकट छिमेकीसँग झगडा पनि हुन्छ, मेलमिलाप पनि छिमेकीबीच नै हुन्छ।’
पूर्व परराष्ट्रमन्त्रीसमेत रहेका सत्ता साझेदार कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महत पनि दुई छिमेकीमध्ये जुन देशको भ्रमण अगाडि गरे पनि फरक नपर्ने बताउँछन्।
‘अब भारतअघि चीनले निम्तो दिइहाल्यो। दिएपछि जानैपर्यो। यसमा त्यस्तो अगाडि र पछाडि भनेर भनिराख्नुपर्छ जस्तो लाग्दैन’, उनी भन्छन्, ‘संयुक्त राष्ट्रसंघमा भारतीय प्रधानमन्त्रीसँग भेट भइसकेको छ। अहिले निम्तो नदिनुलाई र पहिला चीन भ्रमण गर्नुलाई दुई देशबीचको सम्बन्ध चिसिने वा बिग्रिने भन्ने हुँदैन।’
कूटनीतिज्ञ भन्छन्– शक्तिशाली सरकार र ओलीसँग भारतको चुच्चे नक्साकै रिस
एमाले अध्यक्ष ओलीले सत्ता सम्हालेको चार महिनासम्म पनि भारतले बेवास्ता गर्नुमा कूटनीतिज्ञहरू मुख्य दुई कारण रहेको ठान्छन्। पूर्वराजदूत हिरण्यलाल श्रेष्ठ दुई ठूला दल मिल्नु र चुच्चे नक्साकै कारण भारतले ओलीलाई नजरअन्दाज गरेको बताउँछन्।
‘विगतको परम्परा तोड्दै भारतले योपटक निम्तो नदिनुमा धेरै कारण देखिन्छन्’, उनी भन्छन्, ‘तीमध्ये पनि मुख्य कारण चाहिँ दुई ठूला दल कांग्रेस र एमाले मिल्नु हो। किनभने भारत त नेपालमा अस्थिरता पैदा गरेर आफ्नो स्वार्थअनुरूप खेल्न सकियोस् भन्ने चाहन्छ तर अहिले कांग्रेस–एमाले मिलेर बनेको सरकारलाई उसले बलियो र स्थायी ठानेको छ। अर्को चाहिँ ओली नेतृत्वकै सरकारले विगतमा चुच्चे नक्सा निकाल्यो। यी नै विषयमा अझै भारत असन्तुष्ट छ भन्ने देखिन्छ।’
पूर्वराजदूत नीलाम्बर आचार्य पनि भारतसँगको सम्बन्धमा केही सुधारको आवश्यकता औंल्याउँछन्। यद्यपि प्रधानमन्त्रीलाई भ्रमणको निम्तो नआउँदैमा भने ठूलो निष्कर्षमा पुग्न नहुने उनी बताउँछन्।
‘भारतले निम्तो छिटो दिनैपर्छ भन्ने छैन। बदलिँदो समयानुसार उसले आफ्नो अनुकूलतामा निम्तो गर्ला’, उनी भन्छन्, ‘तर भारत हाम्रो निकटतम छिमेकी हो। हाम्रो सम्बन्ध धेरै गहिरो छ। त्यसकारण प्रधानमन्त्रीलाई भ्रमणको निम्तो आएन वा ढिलो आयो भन्दैमा हामी ठूलो निष्कर्षमा पुग्नु हुँदैन। यद्यपि भारतसँग अहिले जस्तो सम्बन्ध छ, त्यसमा सुधार भने जरुर गर्नुपर्ने छ।’
तपाईंको ईमेल गोप्य राखिनेछ ।