|

काठमाडौँ : सरोकारवाला निकायहरूले सहकारी नियमनका लागि स्पष्ट मापदण्ड बनाउन सरकारसँग माग गरेका छन्।

राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईं‚ राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष रमेश पोखरेल, नेपाल कृषि सहकारी केन्द्रीय संघका अध्यक्ष खेम पाठक लगायतले सहकारी क्षेत्रको नियमनका लागि ऐनमा गरिएको व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्न पनि सरकारलाई सुझाव दिएका हुन्।

राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत गुरागाईंले सहकारी नियमनका लागि मापदण्ड तय गरिएको नियमन र स्वनियमनको विवाद पनि आफैँ समाप्त भएको जानेतर्फ सरकारको ध्यानाकर्षण गराए।

बुधवार संघीय संसद् प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा उनले सहकारीको सिद्धान्त र व्यवहारबीचमा देखिएको खाडल हटाउने गरी सरकारले आवश्यक नीतिगत व्यवस्था गर्नुपर्ने आवश्यकता पनि औंल्याए।

प्रमुख कार्यकारी अधिकृत गुरागाईंले भने, ‘मलाई के लाग्छ भने नियमन र स्वनियमनमा फरक चाहिँ के हो भने गराइदिने निकाय मात्रै फरक हो। मापदण्ड त एउटै हो नि त। तर हामी स्वनियमन र नियमन भनेर पर्परमा अगाडि गर्छौं। अर्को सहकारीको सिद्धान्त र व्यवहारमा ठूलो अन्तर छ। त्यो पूरा हुनुपर्छ।’ 

राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष रमेश पोखरेलले सहकारीमा देखिएका विद्यमान समस्या समाधानका लागि विद्यमान ऐनको प्रभावकारी कार्यान्वयनमा जोड दिन सरकारको ध्यानाकर्षण गराए। उनले सरकारले सहकारीलाई संवैधानिक व्यवस्थानुसार प्राथमिकताका साथ अघि बढाउनुपर्ने आवश्यकता पनि औंल्याए। 

नेपाल कृषि सहकारी केन्द्रीय संघले भने उत्पादनको क्षेत्रमा लागेका सहकारीलाई सरकारले विशेष राहतको व्यवस्था गर्नुपर्ने बताएको छ। संघका अध्यक्ष खेम पाठकले सहकारीमा राजनीतिक दलहरूलाई घुसाउने र ध्वस्त पार्ने काम भइरहेको उल्लेख गर्दै त्यसको अन्त्य हुने गरी स्पष्ट कानुनी व्यवस्था गर्नुपर्ने बताए। 

अध्यक्ष पाठकले सहकारी क्षेत्रको सुधारका लागि सरकारले कर्जा सूचना केन्द्र लगायतलाई परिचालन गर्ने ऐनको परिचालनमा जोड दिनुपर्ने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.