काठमाडौँ : सरकारको नेतृत्व गरिरहेको नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले जनमत गुमाएको नेकपा (माओवादी केन्द्र)लाई सबक सिकाउन काँग्रेससँग सत्ता सहकार्य गर्नुपरेको बताएका छन्।
महासचिव पोखरेलले २७५ सिटको संसद्मा ३२ सिट ल्याउने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूरै अवधि मुलुकको शासन गर्ने हुंकार गरेपछि दुई ठूला दल काँग्रेस–एमालेले त्यो सम्भव छैन भन्ने सन्देश दिन सत्ता सहकार्यलाई अघि बढाउनुपरेको बताएका हुन्।
बुधबार पार्टी मुख्यालय च्यासलमा आयोजित नेकपा (एमाले) युवा विद्यार्थी विशेष जिल्ला कमिटीको पाँचौँ जिल्ला अधिवेशनको उद्घाटन सत्रमा बोल्दै उनले आगामी निर्वाचनमा पनि काँग्रेस–एमालेबीच सत्तापक्ष र प्रतिपक्षको भूमिका निर्वाह गर्ने गरी एकल चुनावी प्रतिस्पर्धा गरेर अघि बढ्ने सहमति भएको बताए।
जनमत गुमाउँदै गएको माओवादीले संसद्मा ३२ सिटलाई म्याजिक नम्बर भनेपछि आफूहरूले सत्ता सहकार्य गरेर त्यसको जवाफ दिने अवस्था आएको महासचिव पोखरेलको भनाइ थियो। महासचिव पोखरेलले मुलुकलाई राजनीतिक स्थायित्व दिन सरकारले संविधान परिमार्जन गर्न चाहेको पनि दोहोर्याए।
पोखरेलले भने, ‘नेपालको राजनीतिमा जनमत गुमाएकाहरूले शासन गर्ने लोकतन्त्रको मजाकको विषय बनाइएको परिस्थिति छ। २७५ सिट भएको संसद्मा ३२ नम्बर त म्याजिक नम्बर। यही ३२ नम्बरले पाँच वर्ष शासन गर्छ भन्ने हुंकार पनि सुन्नुभयो। हो त्यो हुंकारलाई दुईवटा दल मिलेर त्यो सम्भव छैन भन्ने सन्देश दिने प्रयत्न गरेका छौं।’
महासचिव पोखरेलले जनमत गुमाएकाहरूले शासन गर्नु लोकतन्त्रको मजाकको विषय भएकाले त्यसको अन्त्य आफूहरूले गरेको पनि बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।