चितवन : आन्तरिक राजस्व कार्यालय भरतपुरले १४६ करदाताको बैंक खाता रोक्का गरेको छ। कार्यालयले १ लाख रुपैयाँभन्दा बढी बक्यौता हुने ती करदातालाई कालोसूचीमा राखेर उनीहरुको बैंक खाता रोक्का गरेको हो।
कार्यालयका सूचना अधिकारी एवं कर अधिकृत विमल पौडेलका अनुसार कालोसूचीमा राखिएका करदातालाई पत्राचार गर्ने, सम्पर्क गर्ने, सूचना जारी गर्दासमेत सम्पर्कमा नआएपछि उनीहरुको बैंक खाता रोक्का गरिएको हो।
कार्यालयमा रहेका करदतामध्ये ४९५ करदाताले मूल्य अभिवृद्धि कर वापतको ६५ करोड ९७ लाख रुपैयाँ बक्यौता तिर्न बाँकी छ। आयकरतर्फ ३२३ करदाताले ९४ करोड रुपैयाँ बक्यौता तिर्न बाँकी रहेको उनले बताए।
कार्यालयमा हाल मूल्य अभिवृद्धि करतर्फ १० हजार ४ सय करदाता छन् भने जम्मा करदाता ५८ हजार ४५५ रहेको जानकारी पौडेलले दिए।
पौडेलका अनुसार कार्यालयले चालू आवमा ६ अर्ब ६२ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ। यो लक्ष्यको ८८ दशमलव ३६ प्रतिशत हो।
सूचना अधिकारी पौडेलका अनुसार राजस्व विभागले चालू आवको कात्तिक मसान्तसम्ममा ७ अर्ब ६६ करोड ५९ हजार रुपैयाँ राजस्व सङ्कलनको लक्ष्य दिएको थियो।
चाडपर्व, व्यावसायिक गतिविधिमा कमी, कर सहभागितामा कमीलगायत कारणले लक्ष्यअनुसार राजस्व सङ्कलनमा कमी आएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।