|

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले एक वर्ष आठ महिनापछि कांग्रेस सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्ने घोषणा गरेका छन्।

लोकतान्त्रिक व्यवस्था जोगाउन नेपाली कांग्रेस र नेकपा (एमाले)बीच सहकार्य भएअनुसार सत्ता हस्तान्तरण गर्ने स्पष्ट पारेका हुन्।

उनले देशमा स्थिरता, सुशासन र विकासका लागि वर्तमान सत्तासमीकरण बनाउनुपरेको दावी पनि गरेका छन्। उनले कुनै पनि दलको बहुमत नभएको अवस्थामा लोकतान्त्रिक व्यवस्थाका लागि आन्दोलन गरेका मुख्य दल नेपाली कांग्रेस र नेकपा (एमाले)बीच सहकार्य भएको चर्चा गरे।

यसैगरी हिरासतमा लिइएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मुद्दामा दोषी र निर्दोष छुट्याउने काम अदालतको भएको ओलीले बताए। संसदीय समितिको प्रतिवेदनका आधारमा पक्राउ परेको पनि उनको भनाइ छ।

प्रधानमन्त्री ओलीले आफूले भ्रष्टाचार नगरेको दावी गरे। उनले भने‚ ‘म भ्रष्टाचार गर्दिनँ र गर्न दिन्नँ भन्ने दृढतामा स्पष्ट छु। गल्ती गर्नेमाथि कारबाही गर्नुपर्दा मान्छेको अनुहार हेर्दिनँ।’

लोकतन्त्रका लागि लामो संघर्ष गरेका आफूहरूमाथि गाली गर्नु अनुचित भएको उनले दावी गरे। ‘हामी लोकतन्त्रका लागि लामो जेलनेल भोगेर आएका हौँ। नयाँ पुस्ताका नाममा टुप्पाबाट पलाएकाले तथ्यहीन आधारमा गाली गरेको सुहाउँदैन। न्यायालयको कामलाई दबाव र झूटको प्रचारबाट प्रभावित पार्न खोज्नु उचित होइन।’

प्रधानमन्त्री ओलीले कार्यान्वयनको १० वर्ष पुगेपछि संविधानमाथि समीक्षा र मूल्याङ्कन हुने बताए। समीक्षाका क्रममा लोकतान्त्रिक व्यवस्था, गणतन्त्र र सङ्घीयताका मूल मर्ममा तलमाथि नहुने पनि उनले स्पष्ट पारे। कान्तिपुर कन्क्लेभ २०२४ को समापन सत्रको परिसंवादमा उनले यस्तो धारणा व्यक्त गरेका हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.