म अहिले शहरमा छु
तर,
मन भने पटक्कै शहरमा छैन
लागेको थियो पोहोर परारझैँ
बाल्यकालका साथी भेटिन्छन्
बचपनका यादहरु मेटिन्छन्
तर,
यतिबेला गाउँमा बचपनका साथी छैनन् ।
बजारबाट झोला बोकेर
गाउँ पस्दा, उकालो बाटो हिड्दा
कताबाट आइस् ? ला मोही ,पानी खा
भनेर चिसो पानी थपदिने
बाटैका घरका काका
आजभोलि गाउँमा छैनन् ।
गाउँपालिका अध्यक्ष भएका दाईले
अनि सरकारी स्कुल पढाउने सरले
वडाअध्यक्ष चुनिएका नोटले
बंगला शहरमा बनाए,
चाडबाड पनि उतै मनाए
आजभोलि गाउँमा कोही छैन
त्यसैले, गाउँमा खासै उल्लास पनि छैन।
छन् त केवल गाउँमा,
छोरो आउँछ कि भनी आँशुका थोपाले
बाटो कुरिरहने बृद्ध छन्
बा, भन्दै बोल्न प्रयास गरेका
तर बालाई नदेखेका केटाकेटी छन्
भोलि बिदेशीने सपना देखेका
स्कुल पढ्दै गरेका नानीबाबु छन् ।
त्यसैले, अहिले म
गाउँ खोज्न शहरमा छु
हिजो गाउँका खेतबारीमा
भेटिने गाउँलेहरु
भेटिन्छन् कि भन्ने विश्वासमा छु ।
आखिर
यता शहरमा पनि कोही छैनन्
देखेका,
एका दुई गाउँलेका अनुहार
एयरपोर्ट अगाडि छन्
बाँकी गाउँ कता छ ?
खोज्दै गर्दा
पत्तो पाए गाउँ देशमै छ
तर,
मेरो गाउँ, विदेशमा छ
गाउँमै नदेखिएको गाउँ
यहाँ नभेटिएको नाउँ
कदाचित् ,
अब परदेशमै भेटिन्छ होला ।
चन्द्र काफ्ले , अर्जुनचौपारी -०३ , स्याङ्जा
तपाईंको ईमेल गोप्य राखिनेछ ।