|

रौतहट : आगामी मंसिर १६ गते हुने उपनिर्वाचनलाई रौतहटमा राजनीतिक दलहरुले प्रतिष्ठाको विषय बनाएका छन्। विशेषगरी, गढीमाई नगरपालिकाको वडा नं–८ को चुनावमा दलहरु बीचको प्रतिस्पर्धा तीव्र बनेको छ। जसपा नेपाल, एमाले, नेपाली कांग्रेस, र नेकपा एकीकृत समाजवादी पार्टीका उम्मेदवारहरु मैदानमा उत्रेका छन्।

वडा अध्यक्षको निधनपछि हुन लागेको यस उपचुनावमा जसपा नेपालले नेपाली कांग्रेसबाट प्रवेश गरेका युवा नेता सन्देश यादवलाई आफ्नो उम्मेदवारका रूपमा अघि सारेको छ।

पार्टी अध्यक्ष उपेन्द्र यादव र मधेश प्रदेशका दुई पूर्व मुख्यमन्त्रीहरुको पहलमा कांग्रेसबाट जसपामा प्रवेश गरेका सन्देशलाई उम्मेदवार घोषणा गरिएको हो।

नेकपा एकिकृत समाजवादी पार्टीले प्रमोद यादवलाई उम्मेदवारको रुपमा अघि बढाएको छ। यो क्षेत्र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालको संसदीय निर्वाचन क्षेत्र भएकाले प्रमोदलाई जिताउन उनी विशेष चासो देखाइरहेका छन्। 

कांग्रेसले पनि आफ्नो उम्मेदवारको रूपमा सुबोध यादवलाई अगाडि ल्याएको छ। यो वडा कांग्रेसका प्रदेश सभापति कृष्णा यादवको गृह क्षेत्र भएकाले कांग्रेसका लागि यो चुनाव जित्न प्रतिष्ठाको विषय बनेको छ।

वडा नं–८ यादव समुदायको बाहुल्यता भएको क्षेत्र भएकाले प्रमुख दलहरुले सबै उम्मेदवार यादव समुदायबाटै अघि सारेका छन्। यस चुनावमा सत्तारुढ दलहरुको बीचमा कुनै गठबन्धन नदेखिएपछि दलहरुले आ–आफ्ना उम्मेदवारलाई जिताउन व्यापक तयारी गरेका छन्।

अन्य दुई वडाहरु इशनाथ नगरपालिकाको वडा नं–७ र राजपुर फरहदवाको वडा नं–६ को उपनिर्वाचनलाई नेताहरुले महत्व दिइरहे पनि गढीमाईको वडा नं–८ जस्तो प्रतिष्ठाको विषय भने बनाइएको छैन।

रौतहटको उपनिर्वाचनले स्थानीय राजनीतिक समीकरणलाई गहिरो प्रभाव पार्ने संकेत गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.