|

काठमाडौँ : पछिल्लो समय नेपाली सिने नगरीका समाचार उत्साहपूर्ण र सुखद आउन थालेका छन्। सिनेमा हलमा नेपाली सिनेमा हेर्ने दर्शकको उछालले नेपाली सिने नगरीको माहोल उत्साहपूर्ण बनेको हो।

‘छक्का पञ्जा-५’ देखि ‘१२ गाउँ’ होस् या अहिले नेपाली सिनेमाको ‘कोसेढुंगा’ सावित भइरहेको ‘पूर्ण बहादुरको सारंगी’ सबै सिनेमाले आक्रामक व्यापार गरे। यी तीनै सिनेमाले लामो समयदेखि सुस्त भएको नेपाली सिनेमा हललाई गुल्जार बनाइदिए।

यतिमात्र हैन यसै वर्ष रिलिज भएको ‘बोक्सीको घर’ पनि ब्लकबस्टर बनेको थियो।

यस वर्षका सात महिनामा रिलिज भएका धेरै नेपाली सिनेमाले सम्मानजनक सिनेमा हलमा उपस्थिति जनाएका छन्- चाहे त्यो ‘घरज्वाईँ’ होस् या ‘शम्बाला’ अथवा हलमा चल्दा चल्दै रोकेर ‌ओटीटी प्लाटफर्ममा पुगेको ‘बेहुली फ्रम मेघौली’।  

फरक फरक स्वादमा बनेका यी सिनेमाहरूले नेपाली सिने क्षेत्रमा नयाँ आयाम थपेका छन्।

सिनेमा हलहरुमा अझै प्रदर्शन जारी छ- ‘पूर्ण बहादुरको सारंगी’। अझै पनि यो सिनेमाले दर्शकको साथ पाएको छ। शुक्रवार मात्र अर्को नयाँ नेपाली सिनेमा ‘ह्रस्व दीर्घ’ले पनि दर्शकको साथ पाएको निर्माण पक्षले जनाएको छ।

दुई दिनमा उक्त सिनेमाले २ करोड कमाएका समाचार बाहिरिएका छन्। करिब ६ करोड रूपैयाँ लगानी गरेर निर्माण भएको ‘ह्रस्व दीर्घ’ले हलमा आक्रामक व्यापार गर्नुपर्ने देखिएको छ।

अघिल्ला वर्षहरूमा धेरै सिनेमाले दर्शकको साथ नपाएको देखिन्थ्यो तर अहिले देशैभर नेपाली सिनेमा हेर्ने क्रेज बढ्दै गएको छ। गत वर्ष कति सिनेमा रिलिज भए र तिनले कस्तो व्यापार गरे भन्ने तथ्यांक सार्वजनिक भएको छैन।

तर आर्थिक वर्ष ०७९।८० मा चलचित्र विकास बोर्डबाट प्रदान भएको ‘मूभि कोड’ अनुसार नेपालमा प्रदर्शन भएका नेपाली र विदेशी सिनेमाहरूको ग्रस बक्स अफिस कलेक्शन रिपोर्ट सार्वजनिक गरिएको थियो।

त्यस वर्षभरि करिब ५७ वटा स्वदेशी सिनेमा रिलिज भएका थिए। स्वदेशी सिनेमाहरूको २७,१६,२१७ थान टिकट बिक्रीसहित जम्मा ग्रस व्यापार ७६,७२,५७,००१/- (छयहत्तर करोड बहत्तर लाख सन्ताउन्न हजार एक रुपैयाँ मात्र) भएको थियो।

चलचित्र बोर्डका अनुसार यो वर्षको फागुनसम्म उक्त रिपोर्ट आउनेछ। बोर्डका प्रवक्ता केतुलाल बिसीले प्राविधिक विषयमा काम भइरहेकाले कलेक्सन सार्वजनिक गर्न ढिलाइ भएको बताए। उनले अडिटदेखि लिएर विभिन्न विषयमा काम भइरहेको र सम्भवतः छिट्टै सार्वजनिक आशा व्यक्त गरे।

अहिले सिनेमा हलमा देखिएकामध्ये कतिपय दर्शक बलिउड र अझ विशेषगरी दक्षिण भारतीय सिनेमाका ‘फ्यानहरु’ पनि थिए तर उनीहरू पनि भारतीय सिनेमा छाडेर नेपाली सिनेमातर्फ ओइरिएको कतिपयको बुझाई छ।

समीक्षक तथा पत्रकार सामिप्यराज तिमिल्सिनाले नेपाली सिनेमाका धेरै दर्शक हिन्दी सिनेमाका पनि दर्शक रहेको स्वीकार गर्छन्।

उनले भने, ‘अहिले नेपाली दर्शकले बलिउड सिनेमाबाट पनि सन्तुष्टी पाउन छाडेको अवस्था र नेपाली सिनेमाको निर्माणमा स्तरीयता बढ्नु एकैपटक हुँदा यसको फाइदा नेपाली सिनेमालाई भएको हो।‘

सिनेमा निर्माणलाई नेपाली सिनेकर्मीले अलिक बढी सिरियस भएर लिएको देखिएको उनले बताए। दर्शकलाई कस्ता सिनेमामा रूचि छ भन्ने चुरो कुरो सिनेकर्मीहरूले बुझेको उनको भनाइ छ।

केही समयअघिसम्म नेपाली सिनेमा फर्मुलामा आधारित रहेर बन्ने गरेको उनले बताए।

‘लुट’ हिट भएपछि ‘लुट’ लाई नै पछ्याएर त्यस्तै सिनेमा बन्ने क्रम बढ्यो। ‘छक्का पञ्जा’ हिट भएपछि हास्यव्यंग्यमा पनि धेरै सिनेमा बने तर ती सिनेमाहरूले दर्शकको साथ पाउन सकेनन्’, उनले भने, ‘सिनेमामा फर्मुला प्रयोग गर्ने चलन थियो‚ जुन फ्लप बन्यो। अहिले सिनेकर्मीहरूले फर्मुलाभन्दा पनि सिनेमामा विविधता खोजेका छन्।‘

विविध कथामा यसअगाडि पनि सिनेमाहरु नबनेका होइनन् तर ति दर्शकको मन जित्न सफल भएनन्। तिमल्सिनाका अनुसार हाम्रा कलाकारले गर्ने अभिनय नै कस्मेटिक हुन्थे। पछिल्लो समय थिएटरका कलाकारले अभिनयको ग्राफ नै धेरै माथि पुर्‍याइदिएको उनी बताउँछन्।

‘अभिनयमा कस्मेटिकभन्दा पात्रको आत्मा समात्ने प्रचलन बढेको छ। थिएटरबाहिरका कलाकारले पनि यस बारेमा मिहिनेत गर्न थाल्नुभएको छ भने कथामा लगानी बढ्न थालेको छ’, उनले भने।

कलाकारितामा पात्रको जीवन्तता र कथामा दर्शकको रूचि बढ्न नसक्दा नेपाली सिनेमाले धेरै वर्षसम्म मार खेप्दै आएको थियो। बीचमा कथामा वा अभिनयमा पनि मिहिनेत भएका धेरै सिनेमाहरू बनेका थिए।

‘राम्रा सिनेमा बन्दै बनेनन् भन्नु नेपाली सिनेमाप्रतिको अन्याय हो। कति मार्केटिङको कारणले पुगेनन्‚’ उनले भने‚ ‘राम्रा सिनेमा चलेनन् तर पनि उनीहरूले नेपाली दर्शकलाई सिनेमा हलसम्मको बाटो सुरक्षित राखेकाले आजको मितिमा यस्तो क्रेज आउन ती सिनेमाले काम गरेको पनि भुल्न हुँदैन।’

सिनेकर्मीले देखाउन खोजेको विषय र दर्शकले खोजेको विषय ‘म्याच’ हुँदा अहिले नेपाली सिनेमामा व्यापारको बहार आएको तिमिल्सिनाको बुझाइ छ।

नेपाली सिनेमामा कथा लेखन र पात्र छनोटमा देखिएको परिपक्वता नै सफलताको कडी ठान्छन् निर्माता संघका निवर्तमान अध्यक्ष तथा सिनेकर्मी आकाश अधिकारी।

‘सिनेकर्मी निर्माणमा माझिँदै आएका छन्। अहिलेको जेनेरेशन र अहिलेको समसामयिक विषय उठाएका विषयमा दर्शकको रूचि बढेको हो’, उनले भने। लामो समयदेखि नेपाली समाज विभिन्न संकटबाट गुज्रिएको थियो। ती संकटबाट अब नेपाली समाज बाहिर आएको अधिकारीको भनाइ छ।

‘कतिपय दर्शकले हेरेका नेपाली सिनेमामा चित्त नबुझेपछि उहाँहरू लामो समयदेखि हलसम्म पुग्ने आँट गर्नुभएन। अहिले विस्तारै राम्रा सिनेमा बनेका छन् भन्ने कुरा सोसल मिडिया र विभिन्न सञ्चारमाध्यमबाट दर्शकसम्म कन्भिन्स गर्न सकेका छौँ। त्यसकारण सिनेमा हेर्न आउनु भयो। यो सोसल मिडियामा उहाँहरू स्वयंले माउथ पब्लिसिटी गरिदिनुभएको छ। साँच्चै नै नेपाली सिनेमा राम्रो बन्न थालेछ है भन्ने लागेपछि सिनेमाप्रति आकर्षण बढेको हो’, अधिकारीले भने।

६० को दशकमा नेपाली सिनेमा एकसे एक हिट हुने गरेको उनले बताए।। त्यति वेला दर्शकको मनोरञ्जनको साधन टेलिभिजन र सिनेमा हल थिए। ७० को दशकमा हात हातमा सोसल मिडिया मनोरञ्जन गर्न उपस्थित भए। जसले गर्दा सिनेमा हलसम्म पुग्ने दर्शकको संख्या पातलियो। 

‘बीचमा सिनेमा हेर्ने दर्शकमा ल्याकिङ भयो। अब त मान्छेहरू समेत सोसल मिडियाबाट पनि दिक्क हुन थाल्नुभएको छ। अब उहाँहरूले नयाँ चिज खोजिरहेको अवस्था र नेपाली सिनेमामा केही स्तरीयता बढ्नु एकैचोटी भयो’, अधिकारी भन्छन्।  

सिनेमा भनेको आँखाको लागि दृश्य, कानका लागि ध्वनी र यी दुईको माध्यमबाट दिमागको सन्तुष्टी हो। सिनेमा मेकर्सहरूले चाहेर पनि गतिलो सिनेमा दिन नसकेको अवस्था पनि छ तर समयसँग प्रविधिको उपलब्धता, विषयहरूको वृहत ज्ञान र क्षमतावान कलाकारहरूको उपस्थितिले नेपाली सिनेमामा आशाको दियो पुन: बलेको उनले बताए।

परिचित अनुहारले मात्र अब दर्शकलाई कुनै सिनेमा हेर्ने हुटहुटी जगाउँदैन। स्टारले भरिँदैमा सिनेमा चल्ने फर्मुला थोत्रो भइसक्यो। कथा र कलाकारको प्रस्तुति नै दर्शकको पहिलो रोजाइ हुने जिकिर अधिकारीले गरे।

राम्रो र स्तरीय सिनेमा निर्माण हुन सके नेपाली सिनेमाले बजारले राम्रो स्थान पाउन सक्ने देखिएको कलाकार तथा निर्देशक माओत्से गुरुङ बताउँछन्। व्यापारमा कहिलेकाहिँ मनोविज्ञानले पनि काम गर्न सक्ने उनले बताए।

‘दशैँ र तिहारमा फेस्टिभ मुडले काम गरेको हुन सक्छ। राम्रो नेपाली सिनेमा बन्यो भने दर्शकले साथ दिन सक्छन् भन्ने सन्देश दिएको छ‘, उनले भने, ‘अहिले सिनेमा हलमा देखिएको बहार दर्शकले खोजेको मनोरञ्जन सिनेमाले दिन सकेर नै हो।‘

विविध विषयमा सिनेमाहरू निर्माण हुनुपर्ने उनले बताए।

‘विविधताले मात्र नेपाली सिनेमालाई समृद्ध बनाउने हो तर कथा‚ कला र प्रविधिको भने इमान्दार प्रयोग हुनुपर्छ। कुनै पनि विषयमा सुहाउँदो अभिनय र परिवेश हुनुपर्छ। मलाई लाग्छ इमान्दार प्रयास भएकाले नै अहिले नेपाली सिनेमाले नयाँ फड्को मारेको हो’, उनले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.