धनकुटा : धनकुटामा यतिबेलास्थानिय बाजागाजा, गीतले झकिझकाउ भएको छ। धनकुटा नगरपालिकामा मात्रै बसोबास रहेको आठपहरिया समुदायको प्रमुख चाड वाडाङ्मेट (मंसिर चाड) मनाउन व्यस्त रहँदा धनकुटा स्थानीय बाजा गाजाले सुसज्जित भएको हो।
आफ्नो इष्ट देवताको पुजा सहित खानपिनले धनकुटा नगरपालिकामा मात्र बसोवास रहेको आठपहरिया जाति वढाङ्मेट चाड मनाउन व्यस्त भएका हुन्। वडाङ्मेट भनेको पानी चढाउनु रहेको बताइन्छ।
आठपहरिया जातिको मुख्य चाडको रूपमा रहेको वडाङ्मी तिहारको भाइटीकादेखि सुरु भई मंसिरको औँसीसम्म मनाइन्छ। यो जातिको बैशाखे, भदौरे र मंसिरे गरि तीनमध्ये यो महत्त्वपूर्ण चाड हो। यो चाडमा दुःखबाट उक्सिने, घरको जेठो छोरो जन्मिएकोमा तथा नयाँ घर निर्माण गरेकोमा हर्षोल्लास मनाउने चलन छ।
भाइटिकामा घरघरमा जमरा राखेर तथा भैलो खेलेर चाडको सुरुवात हुन्छ।
त्यसपछि कार्तिक शुक्ल एकदशीका दिन बेलुका धनकुटा नगरपालिका वडा नं. ५ स्थित ठूलो घर (५२ चुले घर) मा विशेष पूजा गरी चाड औपचारिक रुपमा वडाङ्मेट सुरु हुने गर्दछ। द्वादशी तिथीबाट भने चाडको रौनक सुरु हुने गरेको छ। द्वादशी तिथीमा वर्षभरिमा आमा वा बाबू गुमाउनेले धनकुटाबाट २ दिन हिडेर सुनसरीको बराह क्षेत्र नजिकै रहेको कोकाहा खोलामा पुगेर केश दाह्री मुण्डन गरि दसी बगाउने चलन रहेको छ।
कोकाहा खोलामा कपाल दाह्री खौरिएर नुवाएर बराह भगवानको दर्शन गर्ने र देउता आफ्नो घरमा लिएर आउने प्रचलन रहेको छ।
द्धादशी तिथीमा धनकुटाबाट हिँडेर उनीहरुबेलुका धनकुटाको साँगुरीगढी ९ आहाले र भञ्ज्याङ (सिमलबाँस) बास बस्ने गरेका छन्। त्यसपछि त्रयोदशीमा बराहक्षेत्र पुगेर कोकाहा खोलामा कपाल दाह्री खौरिएर नुवाएर बराह भगवानको दर्शन गरेर सोही ठाउँमा बास बसेर चतुर्दशीको दिन बिहान देउता लिएर आइ धनकुटा नगरपालिका वडा नं. ९ मुलघाट नजिकै भगुबा खोलाको बगरमा बास बसेर पूर्णिमाको दिन बिहान घर फर्किने गरेका छन्। यसरी जानले खोलाको बगरमा बस्ने र सोही ठाउँमा खाना बनाएर खाने चलन रहेको छ।
खोलाको बगर तथा खुल्ला आकाशमै बस्नुपर्ने र बास बसेको ठाउँमा बराह र मार्गा भगवानको भक्ति गाउनुपर्ने चलन रहेको छ। बास बस्नलाई खुल्ला आकाशमा सुत्ने ठाउँ बनाइसकेपछि सोही ठाउँमा रात बिताउनुपर्ने हुन्छ। अरुले निर्माण गरेको पाटीपौवा तथा भवन प्रयोग गर्न नमिल्ने यो चाडमा बास बसेको ठाउँमा अन्य समयमा गाउन नमिल्ने मुन्धुम तथा भक्ति गाउने गरिन्छ।
त्यसपछि पूर्णिमाको दिन बिहान घर आएपछि दुःखको कर्म फुकाउने कार्य हुन्छ। २ दिनसम्म दुख फुकाउने कार्य गरिएपछि तेस्रो दिनबाट पहिलो सन्तान जन्मिएको घरमा हर्कबढाइको कार्यक्रम सुरु भइ खुसियालीको नाचगान र भोज खुवाउने प्रचलन छ। यो क्रम औँसीसम्म जारी रहन्छ। योसँगै घरघरमा बत्ती बालेर चोख्याउने चलन रहेको छ। हर्कबढाइमा आठपहरियाको ठूलो घरबाट सुरु भइ सुब्बा, कार्बरी, पगरीका घर हुँदै जेठो सन्तान जन्मेको घरमा हर्कबढाई गर्ने चलन रहेको छ।
पहिले सबै घरमा हर्कबढाइ गर्ने गरिएकोमा अहिले जेठो सन्तान जन्मेको घरमा मात्रै गर्ने गरिएको छ। यो चाडमा दुख विर्सिएर भक्ति गाउनुका साथै ढोल, मारुनी र आठपहरिया जातिभित्रको हुम्वारक, छिर्लिङे, खावाडो तीन पाछा अर्थात पुस्ताको डल्लो नाच नाचेर तथा संस्कृति अनुसारको परिकार राँगाको मासु, कुबिन्डो र फिलुगें अचार खाएर मनाउने गरिन्छ। डल्लो नाच नाच्नेलाई पैसाको माला लगाइदिने चलन रहेको छ।
आफ्नै मौलिक भेषभुषामा सजिएका आठपहरिया जातिले यो पर्व करिब एक महिना मनाउने गरेका छन्। चाडको अवसरमा आठपहरिया जातिभित्रको हुम्वारक, छिर्लिङे, खावाडो तीन पाछा अर्थात् पुस्ताको डल्ले नाच नाच्ने चलन छ।
त्यसो त आधुनिकतासँगै यो चार्ड पनि मासिने पो हो की भन्ने चिन्ता आठपहरिया समुदायमा छ। आठपहरिया समुदायका अगुवालाइ चार्डको मौलिकता जोगाई राख्न चुनौती छ। आठपहरिया जातिको उत्थानका लागि विभिन्न काम गरेर जागरुक गर्ने काम गरिरहेको आठपहरिया समाजका अध्यक्ष अष्टबहादुर आठपहरियाले बताउनु भयो। धनकुटा सदरमुकामको सान्ताङ्, डा“डागाउ“, छारागाउ“, भीरगाउ“, ओक्मालुङ्ग र बेलहारा लगायतको क्षेत्रमा जनगणना २०७८ अनुसार ५ हजार १ सय ९९ जना आठपहरिया जातिको बसोवास रहेको छ।
अन्य चाडमा जस्तै आफ्नो चाडमा विकृति आउन नदिन युवाहरु लागि पर्नुको साथै विभिन्न कार्यक्रम समेत अघि सारीएको धनकुटा नगरपालिकाका प्रवक्ता जमसेर आठपहरीयाले बताए।
पापानीचाड मंगलबारबाट
धनकुटाको सहिदभूमि गाउँपालिकाको खाल्सा क्षेत्रका राईहरु पापानी चाड मंगलबारदेखि सुरु हुँदैछ। कार्तिक पुर्णिमा पछिको पहिलो मंगलबार पापानी पर्व सुरु हुन्छ। चाड सुरु भएपछि मुन्धुम विदले खुढाहाङ (कुल देवता) को १५ दिनसम्म आराधना गर्ने र स्थानीयले पनि कुल देवता र पितृको पुजा गर्दै ६ दिन ६ रात सम्म नाचगान गरी पापानी मनाउने गरीएको छ।
पापानी पर्वमा किरात राईहरुले कुलदेवता खुढाहाङको पुजा गर्नुका साथै ढोल, झ्याम्टा बजाउदै लहरै कुम जोडेर नाच्ने गरेका छन। यो पर्व कुल देवता र पितृको पुजा गर्दै मनाउने चलन रहेको छ।
पापानीको अवसरमा कार्तिक पुर्णिमा पछिको पहिलो मंगलबारदेखि एक हप्ता सहिदभूमि गाउँपालिकाको खोकु, छिन्ताङ र आँखिसल्लाका गढी गढीमा फरक फरक दिन मेला लाग्ने गरेको छ भने सोही मेलामा पापानी नाच्ने र गाउने गरिएको छ। तर पछिल्लो समय यो पापानी नाच लोप हुने क्रममा रहेका सहिदभूमि गाउँपालिका वडा नम्बर ६ का स्थानीय नरेन्द्र कस्चित राईले बताए।
पापानी मनाउन पुराना पुस्ता नै चाहिने र नयाँ गाउँमा नबस्दा नाच्न र गाउन नजान्दा परम्परा लोप हुन लागेको राईको भनाइ छ। ‘मुन्धुम गाउने विजुवा भेटिन छाडे, नयाँ पुस्ताले ध्यान दिन छाडेका छन्।’ राईले भने, ‘पहिले पापानी पनि आफ्नै भाषा गाउने गरिएको थियो तर, अहिले नेपालीमा गाउन थालिएको छ।’
तपाईंको ईमेल गोप्य राखिनेछ ।