|

काठमाडौँ : प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा बागमतीमा जित सुनिश्चित रहेको भन्दै पार्टीको पक्षमा सकारात्मक नतिजा आउने दावी गरेको छ।

मंगलवार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा बसेको पार्टीको केन्द्रीय कार्यालय बैठकले सो निष्कर्ष निकालेको हो। 

स्थानीय तह उपनिर्वाचनबारे देशभर रिपोर्ट लिने काम गरेको र सकारात्मक नतिजा पार्टीको पक्षमा आउने निष्कर्षमा पुगिएको पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए। 

बागमती प्रदेशको उपनिर्वाचनमा माओवादीले जित्ने माओवादी केन्द्रको जिकिर छ। बैठकले पालिका सम्मेलन र पार्टीको खबरदारी सभाका लागि योजना बनाउन एक कार्यदल पनि बनाएको छ। 

‘पहिलो एजेण्डा पालिका अधिवेशनका लागि कार्यविधि बनाउने भन्ने थियो। अस्ति हामीले पालिका सम्मेलन र खबरदारी सभा एकैसाथ गर्ने निर्णय गरेका थियौँ‚’ प्रवक्ता सापकोटाले भने, ‘उपचुनावको देशभरि रिपोर्ट लिइयो‚ अहिलेसम्म कतिपय ठाउँमा जित सुनिश्चित जस्तै छ। बागमतीको दोलखादेखि काठमाडौँसम्मको सबै राम्रो छ भन्ने रिपोर्ट भएको छ।’ 

पार्टीले सरकारविरुद्ध जनदबाब सृजना गर्न देशभर पालिकास्तरसम्म खबरदारी सभा गर्ने घोषणा गरिसकेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.