विरामीलाई औषधि मात्रै हैन, गर्भमै रहेको बच्चामा परीक्षण गर्ने व्यवस्था गर्नुपर्ने
विरामीलाई औषधि मात्रै हैन, गर्भमै रहेको बच्चामा परीक्षण गर्ने व्यवस्था गर्नुपर्ने
काठमाडौँ : केही दिनअघि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको १३औँ दीक्षान्त समारोहमा प्रधानमन्त्री ओलीले छिमेकी मुलुक भारतमा उत्पादन र परीक्षण भएको सिकलसेल एनिमिया’को औषधि ल्याएर नेपालका विरामीलाई वितरण गर्ने बताए।
त्यसलगत्तै स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पनि सिकलसेलका विरामीका लागि निःशुल्क औषधि उपलब्ध गराउने योजनाअन्तर्गत काम भइरहेको बताएका थिए।
प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीले एकै समयमा सिकलसेल एनिमिया बारेमा बोलेपछि नेपालको स्वास्थ्य क्षेत्रमा खासै चासोका रूपमा नलिएको यो स्वास्थ्य समस्याको बारेमा पुनः चर्चा हुन थालेको छ।
सिकलसेल एनिमिया’ नेपालको पश्चिम तराईमा थारू समुदायमा जनस्वास्थ्यको चुनौतीको रूपमा रहेको स्वास्थ्य समस्या हो। केही अध्ययनले थारू बाहेक अन्य समुदायकालाई पनि कम मात्रामा यो स्वास्थ्य समस्या देखिने गरेको पाइएको छ।
कति छन् नेपालमा सिकलसेलएनिमिया’ विरामी?
रगतको हेमोग्लोबिनलाई असर गर्ने थारू समुदायमा वंशाणुगत रूपमा रहेको यो जटिल रोग नेपालमा पश्चिम तराईका बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र दाङ लगायतका जिल्लाका थारू समुदायमा व्यापक रहेको पाइन्छ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले २०७४ साउनदेखि ०७६ पुससम्म गरेको अध्ययनले बर्दियाका थारू समुदायमा ११.३ प्रतिशतमा सिकलसेल डिसअर्डर (समस्या) रहेको पाइएको थियो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग हाल देशभर सिकलसेलका विरामी कति छन् भन्ने यकिन विवरण नभए पनि सिकलसेलका धेरै विरामी भेटिने क्षेत्रमा यससम्बन्धी उपचार गर्ने तथा रगतसम्बन्धी यो समस्या सिकलसेल हो भनेर नेपालमा पहिलोपटक पत्ता लगाउने नेपालगन्जस्थित भेरी अस्पतालका डा. राजन पाण्डेका अनुसार हाल देशभर ५ हजार जना सिकलसेलका विरामी रहेका छन। जसमा ११ सयभन्दा बढी विरामी बाँके जिल्लामा रहेका छन्। डा. पाण्डेले भने‚ ‘हाम्रोमा हालसम्म यसका विरामी ५ हजार जति हुनुहुन्छ जसमा ११ सयभन्दा बढी त हाम्रै भेरी अस्पतालमा उपचार गराइरहनु भएको छ।‘
हाल भेटिएका विरामीमध्ये ९९ प्रतिशत विरामी थारू समुदायकै छन्।
रगतको हेमोग्लोबिनलाई असर गर्ने यो रोग विशेषगरी थारू समुदायमा वंशाणुगत रूपमा जटिल रोगमा रहेको छ।
नेपालमा कसरी उपचार भइरहेको छ सिकलसेलको?
सिकलसेल पूर्ण ठिक बनाउन नसकिने तर नियन्त्रण गर्न सकिने एक रक्तजन्य अनुवंशिक रोग हो। यसलाई नियन्त्रण गर्न विश्वमा विभिन्न खालका औषधि विकास भइरहेका छन्। डा. पाण्डेका अनुसार हाल नेपालमा सिकलसेलका विरामीहरूलाई ‘हाइड्रोक्सियुरिया’ , फोलिक एसिड नामक लगायतका औषधि प्रयोग गरेर उपचार गरिदै आएको छ। यो औषधि हाल स्वास्थ्य बिमामार्फत उपलब्ध रहेको छ। यसबाहेक यसका विरामीलाई लक्षणको आधारमा उपचार गरिदै आएको छ। सिकलसेल भएका विरामीमा रोगप्रतिरक्षा प्रणाली कमजोर हुने हुँदा चिकित्सकहरूले निमोनियाविरुद्धका खोप लगायतका जीवनरक्षक औषधि प्रेस्क्राइब गर्ने गर्छन्।
यस्तै विपन्न उपचार सेवाअन्तर्गत सरकारले २०७२ सालदेखि सिकलसेलका विरामीलाई उपचारका लागि एक लाख रुपैयाँ बराबर सहुलियत दिँदै आएको छ।
हालै मात्र दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सिकलसेलको उपचारका लागि उपचार गर्न बेग्लै वार्ड स्थापना गरिएको छ। प्रतिष्ठानमा भर्ना हुनेका लागि १० शय्या र दिवा उपचारका लागि ५ शय्यासहितको वार्ड स्थापना गरिएको प्रतिष्ठानका उपकुलपति विकास लामिछानेले बताए।
स्वास्थ्यमन्त्री प्रदीप पौडेलले गत कार्तिक २० गते मन्त्रिस्तरीय निर्णय गर्दै भेरी अस्पताल नेपालगञ्जमा बेग्लै वार्ड स्थापना गरेका थिए। अब सो केही समयमै पूर्ण रुपमा सञ्चालनमा आउने भेरी अस्पतालमा कार्यरत डा. पाण्डेले बताए।
सरकारले सिकलसेलका विरामीलाई निःशुल्क औषधि दिने भन्ने कुरा राम्रो भए पनि अहिलेको आवश्यकता भनेको यसका धेरै विरामी देखिएका क्षेत्र र समुदायमा रहेका गर्भवतीको गर्भमा रहेको बच्चामा सिकलसेल हुन सक्ने जोखिमबारे परीक्षण गर्ने, यसका विरामी धेरै देखिएका क्षेत्रहरूमा रहेका अस्पतालहरूमा छुट्टै वार्ड स्थापना गर्नु रहेको बताउँछन् डा. पाण्डे। उनले भने‚ ‘थारू समुदायमा यो वंशाणुगतरूपमा देखिने जटिल रोग बन्दै गएको छ। त्यसैले धेरै विरामी देखिएका क्षेत्र र समुदायमा रहेका गर्भवतीहरूको गर्भमा रहेका बच्चाहरूमा सिकलसेल हुन सक्ने जोखिमबारे परीक्षण गर्न सकिने व्यवस्था गर्न सके भविष्यमा यस संक्रमण लिएर जन्मने विरामीलाई कम गर्न सकिन्छ।‘
यस्तै बालबालिकादेखि सबै उमेरका सिकलसेलका विरामीमा निमोनियाको जोखिम धेरै हुने हुँदा सरकारले यसका विरामीलाई निमोनियाविरुद्धको भ्याक्सिन अनिवार्य निःशुल्क दिनुपर्ने समेत उनले बताए।
यस बाहेक यसका विरामी धेरै रहेको क्षेत्रका स्थानीय तहहरूले विरामीलाई सहुलियत दिँदै आएका छन्।
के हो सिकलसेल ?
सिकलसेल एनिमिया एक किसिमको रगतसम्बन्धी वंशाणुगत रोग हो।
सिकलसेल एनिमिया भएमा हड्डी चाँडै कमजोर हुने, रोग प्रतिरोधात्मक क्षमता कम भएर बारम्बार सङ्क्रमण हुने समस्या निम्तने गर्छ। सिकलसेल भएका बालबालिकाको शारीरिक विकासमा असर गर्ने चिकित्सक बताउँछन्।
रोगका बारेमा जनचेतना अभावले रोगको पहिचान हुन नसकेकाले पछिल्लो समय रोग भयावह बन्दै गएको चिकित्सक बताउँछन्।
रक्तकोषिकामा क्रोमोजोम हुन्छ र त्यसमा जीन हुन्छ । जीन धेरै प्रकारका हुन्छन्। तिनमा खराबी आयो भने सिकलसेल एनिमिया हुन्छ।
सिकलसेल एनिमिया भएमा शरीरमा रगत बन्ने प्रक्रिया ढिलो हुन्छ, जसका कारण शरीरमा विभिन्न समस्या निम्तन्छ। एकपटक शरीरमा यो प्रणाली विकास भएमा एकदेखि पचास वर्षसम्म पनि जुनसुकै समयमा रोगका लक्षण देखा पर्न सक्छ।
कसलाई हुन्छ ?
परिवारमा श्रीमान् र श्रीमती दुवै सिकलसेल एनिमियाबाट पीडित भएमा उनीहरूबाट जम्मने बच्चामा समेत सिकलसेल एनिमिया हुने सम्भावना धेरै हुन्छ। तर सयमै यसको पहिचान गरेर उपचार गर्न सके यसलाई नियन्त्रण गर्न सकिन्छ।
सबै ठाउँमा यसको उपचार हुने भए पनि सरकारी निकायअन्तर्गत १०० प्रतिशत परीक्षण वीर अस्पतालमा मात्रै र केही परीक्षण नेपालगञ्ज्स्थित भेरी अस्पताल लगायतका अस्पतालमा हुन्छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।