काठमार्डौँ : सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीको बयान सकिएको छ। कास्की प्रहरीको हिरासतबाट मंगलवार काठमाडौँ ल्याइएका जोशीको आज जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले बयान लिएको थियो।
बयानका क्रममा उनले आफूमाथि लागेका सम्पूर्ण आरोपलाई अस्वीकार गरेको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रवक्त्ता सीताराम अर्यालले जानकारी दिए।
जोशी पक्राउ परेको ६० दिन भएको छ। अझै थुनामा राखेर अनुसन्धान जारी राख्ने प्रहरीले जनाएको छ। जोशीको बयान सकेर पोखरा पठाएपछि पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पनि पोखराबाट काठमाडौँ ल्याउने तयारी गरिएको छ।
छवी र रविविरुद्ध स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो।
स्वर्णलक्ष्मीबाट १ अर्ब ११ करोड रकम अपचलन भएको प्रहरीको प्रारम्भिक अनुमान छ। रविमाथि चितवनको भरतपुरस्थित साहारा बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनबारे पनि प्रहरीले दोस्रो चरणको अनुसन्धान अघि बढाएको छ।
हिजो २४ जना बचतकर्ताले साहारा सहकारीको ४३ करोड १४ लाख ४९ हजार ९२७ रुपैयाँ गोर्खा मिडिया प्रालि र जीबी राई समूहका विभिन्न कम्पनीमा अपचलन भएको भन्दै जाहेरी दिएपछि जिल्ला प्रहरी कार्यालय चितवले दोस्रो चरणको अनुसन्धान अघि बढाएको हो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।