काठमाडौँ : प्रहरी नायब महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षकमा पदोन्नति भएका बुद्धिराज गुरूङ र केदार ढकाललाई दर्जा प्रदान गरिएको छ।
प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा शुक्रवार आयोजित एक समारोहबीच उनीहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्। नेपाल सरकार मन्त्रिपरिषद्को २०८१ मंसिर ६ गतेको निर्णयले उनीहरू बढुवा भएका थिए।
प्रहरी महानिरीक्षक कुँवरले पदोन्नति भएका प्रहरी अधिकृतहरूलाई राष्ट्र, जनता र संगठनप्रति पुर्याएको योगदान, जिम्मेवारी निर्वाहमा देखिएको पेशागत दक्षता एवम् कार्यकुशलताका आधारमा पदोन्नति भएको चर्चा गर्दै प्राप्त गरेको पद र जिम्मेवारी अनुरूप काम गर्न निर्देशन दिए।
समारोहमा पदोन्नति भएका प्रहरी अधिकृतहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक बुद्धिराज गुरूङले संगठनले दिएको जिम्मेवारीलाई व्यावसायिक निष्ठा र लगनशिलताका साथ कार्यसम्पादन गर्ने प्रतिबद्धता व्यक्त गरे।
तपाईंको ईमेल गोप्य राखिनेछ ।