काठमाडौं : पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन भएको दुई वर्ष भयो। यो अवधिमा जम्मा जम्मी ८ वटा ‘चार्टर’ उडान भए। विमानस्थलबाट नियमित अन्तरदेशीय उडान हुन नसक्दा पोखरावासी निराश छन्।
तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गत सन् २०२३ को जनवरी १ मा उद्घाटन गरेका थिए। तर उद्घाटनको लामो समय भइसक्दा पनि पोखरा विमानस्थल अन्तर्राष्ट्रिय उडानको भने प्रतीक्षामा छ।
विमानस्थल झण्डै २२ अर्ब रुपैयाँ ऋणमा बनेको हो। तर उडान हुन नसक्दा राज्यलाई आर्थिक नोक्सानी त भइरहेको छ भने पोखराको पर्यटन व्यवसायीका लागि असर परिरहेको छ।
पोखरा अन्तराष्ट्रिय विमानस्थलमा २०८० असार छ गते पहिलो अन्तर्राष्ट्रिय व्यावसायिक जहाज अवतरण गरेको थियो। त्यो बेला चीनको छेन्दुबाट सिचुवान एयरलाइन्सकै न्यारोबडी ए ३१९ जहाज पोखरा आएको थियो।
पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने ५० वर्षअघिको योजनाले सार्थकता पाए पनि विमानस्थल पूर्ण रूपमा सञ्चालनमा आउन नसक्दा स्थानीयवासीमा गुनासो बढ्दो छ। पर्यटकीय राजधानीसमेत रहेको पोखरा अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिएर ठूलो संख्यामा विदेशी पर्यटक भित्रिने आशमा रहेका पर्यटन व्यवसायी पनि विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नहुँदा निराश बनेका छन्।
नियमित अन्तर्राष्ट्रिय उडानका लागि पहल गर्न प्रदेश सरकार, पोखरा महानगरपालिका, पर्यटन व्यवसायीलगायतले पटक–पटक सङ्घ सरकारसमक्ष आग्रह गरे पनि हालसम्म कुनै परिणाम निस्कन सकेको छैन। मंगलबार मात्र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरी गण्डकी प्रदेशका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्यालसहितको टोलीले सोही आग्रह गरेको थियो।
भेटमा प्रधानमन्त्रीसँग मन्त्री बस्यालले सङ्घ सरकारले कुटनीतिक पहलमार्फत विभिन्न देशमा अन्तर्राष्ट्रिय उडान हुने वातावरण निर्माण गर्नुपर्ने बताए।
'विमानस्थल उद्घाटन भएको पनि दुई वर्ष बित्न लाग्यो, नियमित अन्तर्राष्ट्रिय उडान सुरु नहुँदा विभिन्न प्रश्नहरु उब्जेका छन्, नागरिकमा पनि गुनासो बढ्दो छ,' उनले भने, 'ऋणमा बनेको विमानस्थल भएकाले पूर्ण रुपमा सञ्चालनमा नआउँदा राज्यले उल्टो घाटा व्यहोरीरहनुपरेको छ, केही प्राविधिक समस्याहरु छन् भने पनि तिनलाई तत्काल समाधान गरेर अन्तर्राष्ट्रिय उडानको वातावरण बनाउनुपर्छ।'
राससले तयार पारेको समाचारमा नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वकेन्द्रीय अध्यक्ष आनन्दराज मुल्मीले विमानस्थल बनाउने ५० वर्षदेखिको पोखरेलीको सपना पूरा भए पनि अन्तर्राष्ट्रिय उडान हुन नसक्नु दुःखद भएको बताए। सरकारले शीघ्र कूटनीतिक पहल सुरु गरेर अन्तरदेशीय उडान सुरु गर्नुपर्ने उनको भनाइ छ।
अन्तर्राष्ट्रिय उडान नहुँदा विमानस्थलबारे अनेक टिकाटिप्पणी हुन थालेको भन्दै उनले विमानस्थल पूर्ण सञ्चालनमा ढिलाइ गर्न नहुने बताए। पोखराबाट अन्तर्राष्ट्रिय उडान नभएसम्म पर्यटकीय राजधानीका रुपमा पोखराले यथोचित लाभ लिन नसक्ने उनको भनाइ छ।
गत भदौ २२ मा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल प्रभावकारी रूपमा सञ्चालन गर्न छिमेकी मुलुकको बलियो सहयोग आवश्यक रहेको बताएका थिए।
भारतको नयाँ दिल्लीमा अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ)को एशिया प्रशान्त क्षेत्रको मन्त्रिस्तरीय दोस्रो सम्मेलनमा उनले दुई अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा छिमेकी देशको सहयोगको अपेक्षा गरिएको जिकिर गरेका थिए।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल व्यावसायिक रूपमा सञ्चालन हुन भारतले सहज एयर रुट पनि दिनुपर्ने अवस्थासमेत छ। नेपालले महेन्द्रनगर, नेपालगञ्ज, भैरहवा, विराटनगर र जनकपुरबाट प्रवेश विन्दुसहित एयर रुट दिन भारतलाई प्रस्ताव गरेको वर्षौं भइसक्यो। अहिले सिमराबाट मात्रै प्रवेश विन्दु दिएकाले पोखरामा उडान भर्ने विदेशी एयरलाइन्सलाई घुमाउरो बाटो भएर पोखरा पुग्नुपर्छ।
'विमान कम्पनीलाई विमान उडान अनुरोध गरेका छौँ’
नागरिक उड्ड्यन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुल पोखरामा वायु कम्पनीले उडानका लागि अनुमति नमागेको कारण नै उडान नभएको जिकिर गर्छन्। ‘हामीले वायु सेवाका विमान संस्थानहरूलाई अनुरोध गरिरहेका छौँ। तर जबर्जस्ती विमान उडाउनुस् भनेर दबाब भने दिन मिल्दैन’, उनले भने।
काठमाडौं र भैरहवाभन्दा पोखरा विमानस्थल सानो हो। न्यारोबडी विमान उडान भर्नेमा आफूहरू विश्वस्त रहेको उनले बताए। चिनियाँ लगानीमा बनेकाले इन्टर पोइन्टका लागि भारतले अनुमति नदिँदा समस्या पैदा भएको हो भन्ने थाहाखबरको प्रश्नमा उनले भारतसँग कुनै समस्या नरहेको र विमान संस्थाले नै अनुमति नमागेको जिकिर गरे।
७ खर्ब लगानी जोखिममा
लेकसाइड, ड्यामसाइड र पोखरा आसपासमा गरेर एक हजार दुई सय बढी पर्यटकीय स्तरका होटल छन्। त्यसमा ४० हजार पाहुना राख्ने क्षमता छ। पर्यटन क्षेत्रमा ६ खर्ब बढी लगानी र होटलमा मात्र पाँच खर्ब लगानी रहेको पोखरा होटल सङ्घका अध्यक्ष लक्ष्मण सुवेदी दाबी छ। प्रत्यक्ष १५ हजार व्यक्तिले रोजगार पाएका छन्।
सुवेदीका अनुसार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको सुचारू हुँदा पोखरेलीहरू खुसी भए पनि अहिले पनि निराश बनेको बताउँछन्। कोभिडले थिलोथिलो बनेको पोखराको पर्यटन अन्तर्राष्ट्रिय विमानस्थल आउने कुराले पर्यटन व्यवसायी उत्साही बने पनि विमानहरू ल्याण्ड नहुँदा हतोत्साहित बनेको उनले बताए।
गत कार्तिक २३ गते जब त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल स्तरोन्नति गर्ने भन्दै दैनिक १० घण्टा बन्द गर्ने निर्णय भयो। उक्त निर्णयपश्चात् पोखरामा केही विमान आउने व्यवसायीहरू ढुक्क थिए।
तर, ती विमानहरू भैरहवा सिफ्ट गरियो। उनले भने, 'त्रिभुवन विमानस्थलमा आउने कही विमानहरू पोखरामा आउने विश्वास थियो। तर त्यस्तो भएन।'
आन्तरिक उडान पहिलेभन्दा धेरै भए पनि अन्तर्राष्ट्रिय उडान नहुँदा सोचे अनुरूपको लाभ उठ्न नसकेको उनको भनाइ छ।
‘पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल चल्छ भनेरै कोरोनापश्चात् करिब २ खर्ब बढी लगानी भएको थियो। बैंकले पनि हामीलाई पत्याएको थियो। अब विमान चलेनन् भने पर्यटन व्यवसायीहरू पलायन हुने अवस्था सिर्जना भएको छ’, उनले भने।
आफूहरूले धेरैपटक संघीय सरकार र प्रधानमन्त्रीसँग यस बारेमा कुरा राखेको उनले बताए। विदेशी विमानहरू नआए पनि पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडान राष्ट्रिय ध्वजावहाक नेपाल एयरलाइन्सबाट सुरु गर्नुपर्ने उनको जिकिर छ। ‘हिमालय एअरलाइन्स र नेपाल वायु सेवाका ध्वजावाहक विमानले उडान सुरू गर्नुपर्छ’, उनले भने।
सरकारको नीतिअनुसार उचित सहुलियत (प्याकेज) घोषणा गरी पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु गर्नुपर्ने पर्यटन व्यवसायीको माग छ। अध्यक्ष सुवेदीले पोखरा र सिङ्ग्रो गण्डकी प्रदेशको समृद्धिको आधार मानिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण रुपमा सञ्चालनमा ल्याउन सके पर्यटकीय राजधानी पोखराले पर्यटनमा ठूलो फड्को मार्ने बताए।
छिमेकी देश चीन र भारतसम्म नियमित उडान सेवा सुरु गर्न सके पनि पोखरामा बर्सेनि ठूलो संख्यामा पर्यटक भित्र्याउन सकिने आँकलन पर्यटन व्यवसायीको छ।
सुवेदीका अनुसार व्यवसायीहरुले पोखराबाट अन्र्तराष्ट्रिय उडान गर्न आवश्यक नीति, नियममा सहजीकरण गर्नुपर्ने, भारत र चीनका मुख्य सहरमा उडान गर्न राष्ट्रियस्तरका हवाई कम्पनीहरूलाई अनुमति दिनुपर्ने लगायतका माग राख्दै आएका छन्।
‘प्रधानमन्त्री चीन भ्रमणमा पोखरा एअरपोर्टको बारेमा चिनिया पक्षसँग कुरा राख्छु भन्नुभएको छ। नतिजा कस्तो आउँछ हेरौँ’, उनले भने, ‘चीनकै कारण भारतले चासो नदेखाएको हो भन्ने कुरा सुन्ने गरेका छौँ। यस्तै समस्या हो भने सरकारले तत्कालै समाधान गर्नुपर्छ’, उनले भने। कहिलेकाहीँ हुने चार्टर उडानले समग्र पोखराको उन्नति हुन नसक्ने उनले बताए।
‘बिना सुझबुझ विमानस्थल बनाइयो’
सिनियर पाइलट कुमार पाण्डे भने पोखराको एअरपोर्ट प्राविधिक रूपमा समस्या रहेको बताउँछन्।
‘हामीले पर्याप्त रूपमा अध्ययन नगरी पोखरा एअरपोर्ट निर्माण गरेका छौँ। निर्माण गर्दैमा यसको उपलब्धि देखिएन’, उनले भने, ‘पोखरा एअरपोर्टमा विमान ल्याण्ड गर्न भारतको बाटो प्रयोग गर्नुपर्छ। एअरपोर्ट निर्माण गर्दै गर्दा भारतसँग एक किसिमको सम्झौता गर्नुपर्थ्यो। अहिले एअरपोर्टलाई लिएर हतोत्साहित हुनुपर्दैन त थियो।' लोकप्रियताका लागि कनिका छरेझैँ विमानस्थल निर्माण भएको उनले ठोकुवा गरे।
‘त्यत्रो ऋणमा बनेको एअरपोर्टमा विमान नउड्दा राज्यको नोक्सानी भइरहेको छ’, उनले भने। पोखरामा विमान ल्याण्ड गर्न अप्रेसन कम्लेसिटी रहेको उनले बताए। उनले वायु सेवा संस्थानहरूले विमानस्थल हुँदैमा विमान उडाउन नसक्ने बताउँछन्।
‘सुरक्षाको दृष्टि र व्यापारमा मुनाफा पनि हेरिन्छ। विमानस्थल हुँदैमा कुनै पनि विमान संस्थान जोखिम मोल्न चाहँदैनन्। त्यस कारण पनि पोखरामा अझै विमान चल्ने कुरामा म विश्वस्त छैन’, उनले भने।
तपाईंको ईमेल गोप्य राखिनेछ ।