विराटनगर : मोरङको ग्रामथान गाउँपालिका यतिबेला चुनावी माहोलले तातेको छ। नेता कार्याकर्ताहरु चुनावी प्रचारप्रसारका क्रममा घरदैलो कार्यक्रममा व्यस्त देखिन्छन् भने उम्मेदवारहरुको मतदाताहरुसँग मत माग्नै शैली पनि आ–आफ्नै छ।
ग्रामथानमा १५ वटा राजनीतिक दलका उम्मेदवारहरु घरदैलोमा ब्यस्त छन्। मंसिर १६ गते ग्रामथानको अध्यक्ष कुन दलको पोल्टोमा पर्ने हो भन्ने बहसको विषय बनेको छ।
त्यसो त ग्रामथानमा हुन लागेको उपनिर्वाचनको चुनावी माहोलमा प्रमुख तीन राजनीतिक दलबीचमा नै प्रतिस्पर्धा हुने अनुमान छ।
ग्रामथानको साविक विजेता नेपाली कांग्रेस, निकटतम प्रतिस्पर्धी नेकपा एमाले र तेस्रो अवस्थामा रहेको दल नेकपा माओवादी केन्द्र गरी यिनै दलहरुको पक्षमा ग्रामथानको चुनावी माहोल तयार भएको स्थानीयहरु बताउँछन्।
हुन त राष्ट्रिय प्रजातन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले पनि यस पटक चुनाव प्रचारप्रसारलाई अलि व्यवस्थित रुपमा अगाडि बढाइरहेको देखिएको छ।
त्यसले गर्दा पनि गत २०७९ मा सम्पन्न भएको निर्वाचनमा ती दलहरुले प्राप्त गरेको मतको हिसाब यस पटकको ग्रामथानको निर्वाचनमा ठ्याक्कै मेल नखाने सम्भावना पनि देखिन्छ।
ग्रामथान गाउँपालिका अध्यक्ष पदमा पहिलो दल बनेको नेपाली कांग्रेसलाई यसपटक मत जोगाउन सकस पर्ने देखिन्छ।
नेपाली कांग्रेसको उक्त मतबाट यसपटक नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरुले केही हिस्सा बाँडिने सम्भावना धेरै छ।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार नविनकुमार विश्वास नेपाली कांग्रेसमा योगदान गरेको परिवारसँग जोडिएकाले उनले कांग्रेसको मतलाई केही प्रभावित गर्न सक्ने सम्भावना रहेको ग्रामथान-६ नेताचोकका स्थानीयको आँकलन छ।
नागरिक उन्मुक्ति पार्टीले पनि जनस्तरमा चुनाव प्रचारलाई तीव्र बनाउँदै गएको छ। कांग्रेससँग लामो सम्बन्ध राखेका र धेरै पटक नेपाली कांग्रेसलाई भोट दिने थारु समुदायमै आधारित भएर नागरिक उन्मुक्ति पार्टीका उम्मेदवारले प्रचार केन्द्रित गरिरहेका कारण कांग्रेसले पछिल्लो स्थानीय तहको निर्वाचनमा प्राप्त गरेको मत जोगाउने चुनौती देखिएको स्थानीयको दावी छ।
कांग्रेस छोडेका तुलसीराम विश्वास नेकपा एमाले र नमोनारायण माझी नेकपा माओवादी केन्द्रबाट उम्मेदवार बनेका कारण पनि कांग्रेसलाई गत निर्वाचनमा प्राप्त भएको मत जोगाउन कठिन पर्नसक्ने अनुमान तेतरीयाका स्थानीयको भनाई छ।
कांग्रेस कार्यकर्तामाझ तुलसीराम र नमोनारायण माझी दुवै परिचित अनुहार भएका कारण उनीहरु दुवैले कांग्रेस मत प्रभावित गर्नसक्ने उनीहरु बताउँछन्।
गत स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले प्राप्त गरेको मतभन्दा झण्डै १५ सय बढी मत कांग्रेस उम्मेदवारले प्राप्त गरेका थिए।
नेकपा माओवादी केन्द्रका उम्मेदवारले प्राप्त गरेको मत एमालेको भन्दा आधा र कांग्रेसले प्राप्त गरेको मतको करिब ३५ प्रतिशतमात्र थियो। त्यतिबेला राष्ट्रिय प्रजातन्त्र पार्टीले ४४७ मतमात्र प्राप्त गरेको थियो।
त्यसो त चुनावी माहोल हेर्दा माओवादीका उम्मेदवार नमोनारायण माझीले नेकपा एमालेसँग प्रतिस्पर्धाको वातावरण बनाइसकेको देखिन्छ भने कांग्रेसको मतलाई आफूतिर आकर्षित गर्ने प्रयासमा उनले गरिरहेका छन्।
त्यसो त माओवादी केन्द्रले यो निर्वाचन आफ्नो पक्षमा बनाउनैपर्ने बाध्यता पनि छ। किनभने यो मोरङको क्षेत्र नम्बर ४ बाट निर्वाचित प्रतिनिधिसभा सांसद अमनलाल मोदीको निर्वाचन क्षेत्रसमेत हो।
त्यसैले पनि आफ्नो दलको उम्मेदवारलाई विजयी बनाउने दौडमा मोदी आफैँ चुनावमा खटिरहेका छन्।
पूर्व राज्यमन्त्री विजयकुमार विश्वास थारु, वडा नम्बर ३ का वडाध्यक्ष रमेशकुमार भगतलगायत पुराना सबै माओवादी कार्यकर्ताहरु यसपटक एकजुट भएर चुनाव प्रचारमा जुटेका छन्।
नेकपा एमालेलाई भने यस निर्वाचनमा अघिल्लो पटक स्थानीय तहमा प्राप्त गरेको मत जोगाउन सक्नु नै उपलब्धि हुने स्थानीयको तर्क छ।
गत निर्वाचनमा ४ नम्बर वडाबाट प्राप्त गरेको मत भने यसपटक एमालेले गुमाउनसक्ने स्थानीयको अनुमान छ। त्यस वडाका नेता शिवनारायण माझी उम्मेदवार बन्न नसकेका कारण उक्त वडाका एमाले मतदाताहरुको मत बाँडिएर जानसक्ने अनुमान स्थानीयको छ।
यद्यपि एमाले पनि कमजोर भने छैन। किनभने उपाध्यक्षसहित ५ वडाध्यक्ष जितेर कांग्रेसको जनाधारलाई भत्काएको एमाले अहिलेको उपनिर्वाचन आफू जित्नेमा ढुक्क रहेको दाबी गर्छन्।
नेकपा माओवादी केन्द्रका मोरङ इन्चार्ज कुशल लिम्बूले आफूहरुले चुनाव जित्ने दाबी गरे पनि ग्रामथानमा यस पटक त्रिपक्षीय प्रतिस्पर्धा भने राम्रो हुने चुनावी माहोलले देखाएको उनी बताउँछन्।
कांग्रेस र एमालेको केही मत घट्ने र माओवादीको मत बढ्ने अवस्थाले ग्रामथानमा तीन प्रमुख पार्टीबीच नै प्रतिस्पर्धा हुने उनको मात्रै होइन त्यस क्षेत्रका सरोकारवालाहरुको पनि अनुमान छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।