|

बैतडी : २१औँ संस्करणको रेडिएन्ट ग्याँस बिडिसिए कप एकदिवसीय क्रिकेट प्रतियोगिता २०८१ आजदेखि शुरू भएको  छ। दशरथचन्द क्रिकेट मैदान सुन्दरखालीमा शुरू भएको प्रतियोगिताको एक कार्यक्रमकाबीच दशरथचन्द नगरपालिकाका प्रमुख पुस्करराज जोशीले उद्घाटन गरे। 

उद्घाटन समारोहपश्चात् भएको पहिलो खेलमा महारूद्र क्रिकेट क्लबलाई १२७ रनले पराजित गर्दै कालाशैनी क्रिकेट क्लबले विजयी शुरूवात गरेको छ।

पहिला ब्याटिङ गरेको कालाशैनीले निर्धारित २५ ओभरमा ९ विकेटको क्षतिमा २१६ रन बनायो। उसका लागि सन्तोष चन्दले सर्वाधिक ३८ रन जोडे। 
महारूद्रका राजेश भाटले ३ विकेट हात पारे।

जवाफमा महारूद्र १७ ओभर ५ बलमा ८९ रनमा अलआउट हुँदै १२७ रनले पराजित भयो। उसका सुरेश भाटले सबैभन्दा बढी १९ रन हिर्काए। 

कालाशैनीका सन्तोष चन्द र निखिल थापाले ३/३ विकेट हात पारे। सन्तोष म्यान अफ द म्याच भए।

बैतडी जिल्ला क्रिकेट संघको आयोजना सञ्चालित प्रतियोगितालाई प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट छनोट प्रतियोगिताको रूपमा समेत लिइएको छ।

मंसिर ३० गतेसम्म चल्ने प्रतियोगिता प्लेट र इलाइट च्याम्पियनशिप गरेर दुई चरणमा गरेर सञ्चालन हुने बैतडी जिल्ला क्रिकेट संघका सचिव सिद्धराज बोकटीले जानकारी दिए।

पहिलो चरणमा मंगलवारदेखि प्लेट र मंसिर २० देखि इलाइट च्याम्पियनशिपका खेलहरू सञ्चालन हुनेछन्।

प्लेट च्याम्पियनशिपमा सहभागी हुने ११ टोली रहेका छन्। प्लेट च्याम्पियनशिपको विजेता टोली इलाइट च्याम्पियनशिपका लागि छनोट हुनेछ।

गत संस्करणमा सेमिफाइनल पुगेका ४ टोली र यो वर्षको प्लेट च्याम्पियनशिपको विजेता टिम इलाइट च्याम्पियनशिपमा भिड्ने बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष विनोदबहादुर चन्दले जानकारी दिए।

निङलाशैनी क्रिकेट क्लब, दशरथचन्द क्रिकेट एकेडेमी, त्रिपुरा क्रिकेट क्लब र एनआरवाईसी टिम गत वर्ष सेमिफाइनलमा पुगेका थिए।

प्रतियोगिताका शीर्ष २ टोली मंसिर ३० गते उपाधिका लागि भिड्नेछन्।

यो प्रतियोगिता पहिलोपटक टर्फ पिचमा हुनेछ। नेपाल क्रिकेट संघको सहयोगमा दशरथचन्द खेलमैदान सुन्दरखालीमा टर्फ पिच निर्माण गरिएको हो।

बैतडी जिल्ला क्रिकेट संघले गत वर्षदेखि ओडिआई फरम्याटमा प्रतियोगिता सञ्चालन गरिरहेको छ।

प्रतियोगिताको प्रथम पुरस्कार १ लाख, द्वितीय पुरस्कार ५० हजार र प्लेट च्याम्पियन हुने टोलीलाई २५ हजार, म्यान अफ द सिरिजलाई १५ हजार पुरस्कार दिइनेछ।

प्रतियोगिताको मुख्य प्रायोजक रोयल मल्टिलुक कन्सर्न (रेडिएन्ट ग्यास) रहेको छ। प्रायोजकमा पेप्सी, सहप्रायोजकमा नवजीवन सहकारी, लिटिल बुद्ध एकेडमी, पद्‌मा हस्पिटल र जिल्लाका दशवटै पालिका रहेका छन्।

गत वर्ष सम्पन्न २०औँ संस्करणको बिडिसिए कप जिल्लास्तरीय एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि निङलाशैनी क्रिकेट क्लबले जितेको थियो।

खेलाडीहरू उत्पादन र क्षमता अभिवृद्धिका जिल्लास्तरबाटै प्लेट र इलाइट च्याम्पियनशिपको आयोजना गरिएको नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.