|

यति धेरै भौगोलिक विविधता र प्राकृतिक सम्पदाको हिसाबले लोभलाग्दो मुलुकबाट दिनप्रतिदिन हजारौँको संख्यामा नेपालीहरु विदेशिनु आजको विडम्बना हो। यसरी नेपाली युवायुवतीहरु विदेश पलायन हुने प्रवृत्तिले नेपालको भविष्य कता जाँदैछ त? भन्ने गम्भीर खालको प्रश्न उब्जिएको छ।

बाध्यतामा सुरु भएको नेपालीको वैदेशिक यात्रा आज कता-कता रहर र प्रतिष्ठाको रुपमा अगाडि बढिरहेको देखिन्छ। जसको उदाहरणको लागि अधिकृत तहमा कार्यरत सरकारी स्थायी कर्मचारी, सेना प्रहरीका जवानहरु तथा विभिन्न पदमा कार्यरत शिक्षकहरु समेत जागिर छोडेर विदेश जाने गरेको कुरा राष्ट्रिय समाचारमा आउन थालेका छन्।

यसरी विदेशिनुको मुख्य कारण ठोस गरिहाल्न सकिने अवस्था चाहिँ छैन। कोही नेपालको राजनीतिक अस्थिरता प्रमुख कारण हो भन्ने गर्दछन् भने कोही रोजगारको अभावले भन्ने गर्दछन्। तर, स्वदेश प्रतिको वितृष्णा, आर्थिक अभाव र प्रतिष्ठा अहिलेको विदेश यात्राका प्रमुख कारण देखिन्छन्।

अथाह प्राकृतिक सम्पदाको धनी मुलुकमा सरकारले दीर्घकालीन योजना बनाएर भ्रष्टाचारमा शून्य सहनशीलताको नीति लिँदै अगाडि बढ्ने हो भने नेपालीहरुले नेपाल छोड्नै पर्ने बाध्यता भने रहँदैनथ्यो।

नेपालको तीन खम्बे अर्थ नीति कागजमा मात्र सीमित रहेको बुझिन्छ। नत्र आम नागरिकहरू तथा विदेशि लगानीकर्ताहरुको विश्वास जितेर प्राकृतिक स्रोत साधनहरुको भरपुर उपयोग गर्ने मात्र हो भने पनि नेपालको जनशक्तिले समेत नभ्याउने गरि रोजगारीको सिर्जना हुने पक्का छ।

यहाँ हजारौँ निर्झर खोला तथा झरनाहरु अनवरत रूपमा बगिरहेका छन्। जग्गा जमिन सिँचाइको समस्याले मनसुनको पर्खामा हुन्छन्, नागरिकहरु डोकोमा गाग्री बोकेर हिँडिरहेको देख्न सकिन्छ। अनि पर्याप्त मात्रामा विद्युत उपयोग गर्ने अवस्था अझै छैन।

यहाँको जल, जडीबुटी, जंगल र जमिनको मात्र बुद्धिमत्ता ढंगले उपयोग गर्ने हो भने नेपालले निर्यातमा छलाङ् मार्न सफल हुने निश्चित छ। यसको अलावा यहाँ पर्यटन व्यवसायमा विश्वजगतमा बाजी नै मार्ने सम्भावना बोकेको प्रकृतिक भूगोल छ। यही नै रोजगारीको असीमित स्रोत बन्न सक्छ।

यसका अलावा विज्ञान, प्रविधि र सूचना सञ्चारको आजको आधुनिक युगमा नागरिकहरु आफैँले उत्पादन र आविष्कारका क्षेत्रमा  फड्को मार्दै जान्छन्। यदि सरकारले इमान्दारीपूर्वक निष्पक्ष भएर सहजीकरण गरिदिने हो भने नेपाली आफैँले नेपाललाई स्वर्ग बनाउन सक्छन्।

तर,अहिले नेपालमा भइरहेको राजनीतिक अस्थिरता नै देशको लागि घातक बनिरहेको छ। नेपालमा विकासका कुरा, दीर्घकालीन योजनाका कुरा, उत्पादनका कुरा, आविष्कारका कुरा लगायतका भविष्य उज्ज्वल बनाउने विषयमा कहिल्यै बहस भएको देख्न र सुन्न पाइँदैन।

बरु दिनहुँजसो सत्ताका लगि आरोपप्रत्यारोप मात्र छरपष्ट भइरहन्छन्। यस्ता राज्य सडाउने समाचारहरु सुन्दासुन्दा आजित भएका नागरिकहरु कहिले देश छोडौँ भन्ने अवस्थामा रहेका देखिन्छन्।

सानो तिनो काम पनि नेताको घर आँगनमा गएर चाकडी नगरी बन्दैनन्। नीतिभन्दा नेता ठूलो भनेर पुष्टि गरिरहेका छन्। जनप्रतिनिधिहरु आफूअनुकूल नीति निर्माणमा अभ्यस्त छन्। आम नागरिकको समस्यामा कसैको पनि अन्तरआत्मादेखि चासो, चिन्ता र चिन्तन देखिँदैन।

राजनीतिक तथा आर्थिक चलखेलमा मात्र जागिरमा नियुक्ति र सरुवा हुने गर्छन्। नागरिकहरुका जीवनसँग जोडिएका अति संवेदनशील समस्याहरू पनि कसैले ध्यान दिएर सुन्नेवाला देखिँदैन।

राजनीतिक शक्तिका आधारमा विकास योजना पार्ने तथा ठेक्कापट्टाका कामहरु हुने गरेका छन्। आवश्यकताका आधारमा विकासका योजनाहरू बन्दैनन्। शक्तिका आधारमा मात्र विकासका योजनाहरु बन्ने, शक्तिकै आधारमा ठेक्कापट्टाको सुनिश्चित हुने र शक्तिकै प्रयोग गरेर चरम भ्रष्टाचार गरी योजनाहरु सम्पन्न हुने गरेका छन्।

सानातिना योजनाहरुमा त नागरिकले बोल्न सक्दैनन् भने ठूला ठूला योजनामा कति भ्रष्टाचार गरिन्छ यो कसैलाई थाहा हुने कुरै भएन। यसरी नागरिकहरुको कर अपचलन गरेर तिनै नागरिकहरुलाई वेवस्ता गर्ने प्रवृत्ति हट्नुको सट्टा झन् मौलाउँदै गएको देखिन्छ।

राजनीतिक संरक्षणमा अपराधहरु हुने गर्दछन्। सर्वसाधारण नागरिकहरु अति निरीह बनिरहेको देखिन्छ। राजनीतिक उच्च तहका मानिनेहरुले कानुन हातमा दिएर सर्वसाधारणहरु  माथि धज्जी उडाएको देखिन्छ।

नागरिकहरुको आधारभूत आवश्यकताहरु समेत सम्बोधन भएका छैनन्। विकास गर्यौं भनेर सत्तासिन दलहरु सडकमा मान्छे जम्मा गरेर भाषण गर्दछन्। नागरिकहरुले महसुस गर्ने गरी विकास निर्माणका काम हुँदैनन्।

राजनीतिकर्मी र राजनीतिक संरक्षणकर्ताहरुको मात्रै राज्य हो कि जस्तो आम नागरिकहरुमा लाग्ने वर्तमान अवस्थामा आम नागरिकहरु आफ्नो देशप्रति चरम वितृष्णाको अवस्थामा रहेका छन्। यिनै कारणहरु नागरिक विदेशिने कारक तत्वहरु हुन्।

नेपालको वर्तमान संविधानले आकर्षक मौलिक हकको व्यवस्था गरेको छ। तर, ती मौलिक हक कानुनी तथा व्यवहारिक रुपमा कार्यान्वायन गर्नुपर्छ भन्ने कुनै दलमा पनि प्रतिबद्धता देखिएन। वर्तमान समयमा क्रियाशील राजनीतिकदलहरु कुनै न कुनै वेला विभिन्न हैसियतमा सरकारमा सहभागी भएकै छन्। तर, कसैले पनि नागरिकलाई प्राथमिकतामा राखेको देखिँदैन।

स्वास्थ्य उपचारको पिरलो आम नागरिकहरुको मुख्य समस्या हो। नागरिकहरु अति सामान्य औषधीसमेत उपभोग गर्नबाट बञ्चित छन्।

शिक्षा न त नि:शुल्क नै छ, न त व्यावहारिक र व्यावसायिक नै छ। न त देशैभरि एकै रुप र स्वरूपको नै छ। कथित धनी वर्ग भनिनेहरुले आफ्ना नानीबाबुहरु अंग्रेजी पढाउँछन् अनि गरिब ठानिएकाहरु सरकारी विद्यालयमा नेपाली भाषामा पढाउँछन्। यसलाई उनीहरु आफ्नो असमर्थताको बाध्यता ठान्छन्।

मौलिक हकमा रोजगारीको व्यवस्था गर्ने कुरा निक्कै मख्ख पार्नेगरी राखिएको छ। तर, कुनै एउटा सरकारी पदमा अस्थायी मात्र भए पनि आफ्नो योग्यता निष्पक्ष रूपमा प्रदर्शन गर्न पनि नागरिकहरु वञ्चित छन्। देखावटी परीक्षा गरेजस्तो गरेर आफ्नो दलको झण्डा बोकेको आधारमा अर्थात् आर्थिक चलखेलमार्फत नियुक्ति गरिन्छन्। जसले नागरिकहरुले आफ्नो योग्यताको अपमानको रूपमा लिने गरेका छन्।

सरुवा पनि निश्चित व्यक्तिको मुटठी भरमा हुन्छन्। न कुनै विधि, न कुनै कार्यविधिका आधारमा गरिन्छ। यसरी आम सर्वसाधारणलाई जवर्जस्त राजनीतिक क्रियाकलापमा सहभागी गराउने कार्यले पनि स्वदेशप्रति नैराश्यता छाएको अवस्था छ।

 यी सवालका अलावा अहिले नेपालीहरुमा दोखासिखी गर्ने र अर्काको डाह गर्ने प्रवृत्ति बढेसँगै हाल जनशक्ति पलायन दिनानुदिन बढ्दै गइरहेको छ।  छिट्टै धनी बन्ने, अरूभन्दा धेरै पैसा कमाउने सोचलगायत बुझाइका कारण पनि वर्तमान परिवेशको लागि आगोमा घ्यु थपेझैँ हुन गएको छ।

समग्रमा भन्नुपर्दा मानिस विवेकशील प्राणी भएकोले जीवनको रक्षा, स्वतन्त्रता र जीवनका खुसियालीलाई अन्तिम इच्छाको रूपमा लिएको हुन्छ। तसर्थ समान व्यवहारको सुनिश्चितता सहित नागरिकका आधारभूत खुसीको प्रयास राज्यले गर्ने दृढता देखाउन सक्नुपर्छ।

आजको विश्वव्यापीकरणको युगमा गरिब मुलुकबाट विदेशिने कार्य रोक्नु आजको मुख्य चुनौती  नै बनेको छ। अत: स्वदेशमा अवसरहरुको खोजी, सम्भावनाहरुको खोजी, नागरिकका हक अधिकारको पक्षपातरहित ढंगले प्राप्ति तथा कानुनी राज्यको अवधारणा नै अन्तिम विकल्प हो। नागरिकहरूलाई सम्मानित भएर बाँच्न समान व्यवहार तथा योग्यता प्रणालीको पूर्ण कार्यान्वयन अनिवार्य शर्त हो।

यसका अलावा प्राकृतिक स्रोत साधनको भरपुर उपयोग गर्ने नीतिमार्फत जनशक्तिको यथोचित उपयोग नै नागरिक पलायन रोक्ने प्रभावकारी विधि हो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.