काठमाडौं : बान्तावा भाषामा प्रकाशित ‘बुङ्वाखा’को २०औं वार्षिकोत्सवको अवसरमा दुईदिने ‘बान्तावा साहित्य महोत्सव’ हुने भएको छ। भोजपुरको हतुवागढी गाउँपालिका घोडेटारमा मङ्सिर २३-२४ गते हुने उक्त महोत्सवमा विधागत पुरस्कार र सम्मान प्रदान गरिनेछ।
बुङ्वाखा सम्पादक तथा कार्यक्रम संयोजक पदम राईका अनुसार सो अवसरमा भोजपुर हतुवागढी पात्लेपानी निवासी बान्तावा स्रष्टा मानबहादुर खाम्लुङ राईलाई ‘बुङ्वाखा-विष्णु-मकर बान्तावा राष्ट्रिय पुरस्कार’ प्रदान गरिनेछ। पुरस्कारको राशि ६० हजार २९१ र ताम्रपत्र रहेको छ।
‘बुङ्वाखा-युके सायाचोङ्मा पुरस्कार’ बुङ्वाखाका प्रकाशक शान्तप्रसाद राईलाई प्रदान गरिने भएको छ। पुरस्कार राशि ५० हजार र ताम्रपत्र रहेको छ।यसैगरी भोजपुरको रामप्रसाद राई गाउँपालिका ८, बाहुराङका बान्तावा गायिका कला इशारा राईलाई ‘बुङ्वाखा-पञ्चकुमारी सङ्गीत पुरस्कार’ प्रदान गरिने भएको छ।
ताम्रपत्रसहित पुरस्कार राशि ४० हजार रुपैयाँ रहेको छ। सहिदभूमि गाउँपालिका ४ खोकु, धनकुटा निवासी मोनकुमारी राईलाई ‘बुङ्वाखा–धनेन्द्र बादिहाङ स्मृति पुरस्कार’ प्रदान गरिनेछ। कदरपत्रसहित पुरस्कार राशि १५ हजार रुपैयाँ रहेको छ।
हतुवागढी गाउँपालिका-२ बाकबुक, भोजपुरका बुङ्वाखा चेन्चेक्वा (संवाददाता) रामकुमार राईलाई ‘बुङ्वाखा–रनमाया चेन्चेक्वा पुरस्कार’ प्रदान गरिने पनि उनले जानकारी दिए। उनका अनुसार कदरपत्रसहित पुरस्कार राशि १० हजार रुपैयाँ रहेको छ।
‘बुङ्वाखा २०औं वार्षिकोत्सवको अवसरमा २०औँ बान्तावा कविता प्रतियोगिताको पनि आयोजना हुँदै छ’, उनले भने, ‘उक्त प्रतियोगिताबाट विजयी कविहरूलाई ‘बुङ्वाखा–श्यामराज दुब्देङहाङ स्मृति पुरस्कार’बाट पहिलो, दोस्रो र तेस्रो हुने कविहरूलाई क्रमशः २० हजार, १५ हजार र १० हजारबाट पुरस्कृत गरिनेछ।’शिक्षासेवी ईश्वरमान राईलाई ‘बुङ्वाखा सम्मान’ गरिने उनले जानकारी दिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।