|

काठमाडौँ : सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमाले एक्लाएक्लै चुनाव लड्ने घोषणा गर्दै आएका दलहरू हुन्। साढे चार महिनाअघि एकसाथ सत्ताको भर्‍याङ उक्लिदा उनीहरूबीच कुनै दलसँग चुनावी तालमेल वा गठबन्धन नगर्ने सहमति नै भएको भनिएको थियो। 

कांग्रेस र एमाले उक्त घोषणामा अडिग रहेन सकेनन्। आफैँले घोषणा गरेको विचारलाई लत्याउँदै उनीहरूले स्थानीय तह उपनिर्वाचनमा केही पदमा ‘तालमेल’ गरेका छन्। कांग्रेस र एमालेले दुई जिल्ला समन्वय समिति, एक पालिका उपाध्यक्ष र दुई वडाध्यक्ष गरी पाँच पदमा एक अर्कालाई सघाउने नीति लिएका छन्। 

खासगरी माओवादी केन्द्रको गढ मानिने ठाउँमा कांग्रेस–एमालेले तालमेल गरेका छन्। रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको उपाध्यक्ष र सोही पालिकाको वडा नम्बर २ मा कांग्रेसले उम्मेदवार खडा गरेको छैन। 

त्यहाँ उपाध्यक्षका उम्मेदवार एमालेकै भए पनि कांग्रेसको चुनाव चिह्न लिएकी छन्। उपाध्यक्ष पदमा कांग्रेसले उम्मेदवार नउठाउने सहमतिअनुसार कांग्रेसको निर्वाचन चिह्न र एमालेको उम्मेदवार उठाइएको हो।

यो पालिकाको २ नम्बर वडाध्यक्षमा एमालेका उम्मेदवार एमालेकै चुनाव चिह्न ‘सूर्य’बाट चुनाव लड्दै छन्। वडाध्यक्षमा पनि कांग्रेसले आफ्नो उम्मेदवार नउठाएर एमालेलाई सहयोग गर्ने नीति लिएको छ। 

यो पालिकाको उपाध्यक्ष पदमा एमालेले जिल्ला उपसचिव केशकुमारी तुलाचनलाई उम्मेदवार बनाएर रूख चिह्नबाट चुनाव लडाएको हो। वडा नम्बर २ का वडाध्यक्ष पदमा एमालेका जीवन रोका उम्मेदवार बनेका छन्। उनी भने सूर्य चिह्नबाटै चुनाव लड्दै छन्। 

गत आवधिक निर्वाचनमा पुथा उत्तरगंगाको उपाध्यक्षमा माओवादी एक्लै लड्दा पनि दुई हजारभन्दा बढी मतान्तरले जितेको थियो। माओवादीका भूपेन्द्र बुढा ४ हजार ५९ मत ल्याएर विजयी हुँदा प्रतिद्वन्द्वी कांग्रेसकी कमला मल्लले दुई हजार १० र एमालेकी धर्म घर्तीले एक हजार ८१२ मत पाएका थिए। 

उपाध्यक्ष बुढाको निधनपछि हुन लागेको उपनिर्वाचनमा कांग्रेस–एमालेले तालमेल गरेका हुन्। गत निर्वाचनकै परिणामलाई आधार मान्ने हो भने कांग्रेस–एमालेबीच तालमेल हुँदा पनि माओवादीकै जित निश्चित देखिन्छ। 

यसैगरी रुकुम पश्चिमको सानोभेरीमा पनि कांग्रेस–एमाले मिलेका छन्। सानोभेरी गाउँपालिका-५ को अध्यक्षमा कांग्रेसका मोतीराम खत्रीलाई सघाउने गरी उम्मेदवारी दिएको छैन। 

सानोभेरीको गत आवधिक निर्वाचनमा पनि कांग्रेस एमालेबीच तालमेल भएको थियो। कांग्रेसले अध्यक्ष र एमालेले उपाध्यक्षमा उम्मेदवार उठाएका थिए तर दुबै पदमा माओवादी विजयी भएको थियो।  

वडा नम्बर ५ को अध्यक्षमा एमालेले सघाउँदा कांग्रेसका अलबहादुर खत्री विजयी भएका थिए। उनको निधनपछि हुन लागेको उपनिर्वाचनमा पनि एमालेले कांग्रेसलाई नै साथ दिन लागेको हो। 

कांग्रेस र एमालेबीच जिल्ला समन्वय समिति ओखलढुंगा र कैलालीमा पनि चुनावी तालमेल भएको छ। यी दुबै जिल्लामा एमालेले उम्मेदवारी नदिएपछि कांग्रेसबाट जिसस प्रमुख सर्वसम्मत भइसकेका छन्। 

एक्लै निर्वाचन लड्ने घोषणा गर्दै आए पनि माओवादीविरुद्ध तालमेल गर्नुपर्ने अवस्थामा पुगेका कांग्रेस–एमाले नेताहरू भने स्थानीय कमिटीलाई देखाएर उम्किने प्रयास गर्छन्। कांग्रेस सहमहामन्त्री जीवन परियार केन्द्रको नीति कसैसँग चुनावी तालमेल नगर्ने भए पनि स्थानीय समितिले आपसमा सहमति गरेको बताउँछन्। 

‘यो केन्द्रले भनेर वा निर्देशन दिएर भएको होइन’, उनी भन्छन्, ‘स्थानीयस्तरमै साथीहरू आपसमा त्यो खालको सहमतिमा पुग्नुभएको हो। स्थानीय आवश्यकतानुसार गर्नुभएकाले यसलाई त्यही रूपमा बुझ्नुपर्छ।’

एमाले नेता निरज आचार्य पनि स्थानीय कमिटीलाई नै दोषी देखाउँछन्। उनी केन्द्रको नीतिविपरीत अपवादका ठाउँमा तालमेल गर्ने सम्बन्धित स्थानीय कमिटीलाई स्पष्टीकरण नै मागिएको दाबी गर्छन्। 

‘उपनिर्वाचनमा एमाले र कांग्रेसले घोषित रूपमा कुनै तालमेल वा गठबन्धन गरेका छैनौं। अपवादमा स्थानीय कमिटीले केही ठाउँमा त्यो गरेका हामीले सुन्यौँ र हामीले सम्बन्धित कमिटीलाई के कति कारणले त्यो  गरिएको हो  भनेर सोधका पनि छौं। जवाफ आउन बाँकी छ’, उनी भन्छन्, ‘तालमेल वा गठबन्धन गर्ने हाम्रो कुनै नीति होइन।’  

एक्लै लड्ने दम्भ देखाउँदै आए पनि अहिले आफूहरूसँग आतंकित भएर कांग्रेस र एमालेले तालमेल गरेको टिप्पणी माओवादीको छ। माओवादी सचिव लीलामणि पोखरेल चुनाव उम्मेदवार र चुनाव चिह्न साटेर चुनाव लड्नुले राजनीतिक विचारको सीमा नै समाप्त भएको बताउँछन्। 

‘माओवादी सरकारमा हुँदा भ्रष्टाचारविरोधी अभियान चलायौं, त्यसले गर्दा जनताको नयाँ समर्थन, सहानुभूतिसँगै नयाँ प्रकारको उभार आएको छ। यो देखेपछि अहिलेका सत्तारुढ कांग्रेस–एमाले आतंकित भएका छन्। त्यसैको परिणाम हो उनीहरूबीचको गठबन्धन वा तालमेल’, उनी थप्छन्, ‘कतिसम्म भने एउटा पार्टीको उम्मेदवारले अर्को पार्टीको चुनाव लिएरसम्म लड्दै छन्। यो चाहिँ राजनीतिक विचारको सीमा भएन। लाजमर्दो भयो।’

उपनिर्वाचन हुन लागेको जाजरकोटको नलगाड पनि माओवादीको बलियो जनमत भएको क्षेत्र हो। यद्यपि त्यहाँ भने कांग्रेस–एमाले दुबैले उम्मेदवारी दिएका छन्। त्यहाँ एक उपप्रमुखका लागि उपनिर्वाचन हुँदै छ। 

गत निर्वाचनमा माओवादीको सहयोग पाउँदा कांग्रेसकी सरिता सिंह ५ हजार ४०६ मत ल्याएर विजयी भएकी थिइन् भने एमालेकी सुनिता बोहराले ३ हजार ३९३ मत पाएकी थिइन्। 

उपनिर्वाचनमा दलहरू एक्लाएक्लै लड्दा त्यहाँ माओवादीलाई लाभ हुने गत निर्वाचनको मत विवरणले देखिन्छ। वडाको मत विवरण हेर्दा ४ हजार २ सयभन्दा बढी मत माओवादीको छ भने कांग्रेसको ती हजार ९ सय मात्रै छ। करिब २ हजार ४ सय मत भएको एमाले र ३९ सय भएको कांग्रेस एक्लाएक्लै निर्वाचनमा होमिँदा माओवादीलाई लाभ हुने देखिन्छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.