वासिङटन : क्यानडाका प्रधानमन्त्री जस्तिन त्रुदो करको विषयलाई लिएर अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनल्ड ट्रम्पलाई भेट्न एक्कासी शुक्रबार फ्लोरिडा पुगेका छन्। क्यानडाका उत्पादनमा २५ प्रतिशत कर लगाउने चेतावनी दिएपछि त्रुदो डोनल्ड ट्रम्पलाई भेट्न सुटुक्क पुगेका हुन्।
क्यानडाका प्रधानमन्त्रीको अमेरिका भ्रमणबारे कुनै जानकारी नभए पनि उनी अचानक ट्रम्पको फ्लोरिडा रिसोर्ट पुगेको सार्वजनिक भएको हो। फ्लोरिडाको वेस्ट पाम बीचमा रहेको एउटा होटलबाट क्यानडाली प्रधानमन्त्री त्रुदो ट्रम्पको मार-ए-लागो रिसोर्टमा जान लागेको केही व्यक्तिले देखिएपछि यो घटना सार्वजनिक भएको हो।
त्रुदोसँगै क्यानडाका सार्वजनिक सुरक्षामन्त्री डोमिनिक लेब्ल्याङ्क पनि फ्लोरिडा पुगेका छन्। त्रुदोले ट्रम्पसँग वार्ता गरेर करको समस्या समाधान गर्ने बताएका छन्। अमेरिकी चुनावपछि ट्रम्पलाई भेट्ने त्रुदो पहिलो जी-७ का नेता हुन्।
कर लगाउने ट्रम्पको घोषणासँगै बजार उथलपुथल भयो। यसले गर्दा क्यानेडियन डलरको भाउ घटेको छ।
एपीको रिपोर्टका अनुसार ट्रम्पले क्यानडा र मेक्सिकोले लागुऔषध र आप्रवासीको प्रवाह रोक्न नसकेमा उक्त कर लगाउने धम्की दिएका हुन्। उनले राष्ट्रपतिका हैसियतमा आफ्नो पहिलो कार्यकारी आदेशको रूपमा क्यानडा र मेक्सिकोबाट अमेरिका प्रवेश गर्ने सबै उत्पादनमा उक्त कर लगाउने स्पष्ट पारेका छन्।
ट्रम्पको यो चेतावनीपछि क्यानडा सरकार निकै तनावमा छ। दुई देशबीच बलियो आर्थिक सम्बन्ध भएका कारण क्यानडा चिन्तित रहेको छ। करिब २० लाख क्यानडालीको रोजगार अमेरिका-क्यानडाको व्यापारमा निर्भर छ। यस्तो अवस्थामा क्यानडाको चिन्ता बढेको छ र त्रुदोले ट्रम्पसँग वार्ता गरेर यो समस्या समाधान गर्ने प्रयास गरिरहेका छन्।
क्यानडाको प्रिन्स एडवर्ड आइल्याण्डमा त्रुदोले केही चिन्ता सम्बोधन गर्न ट्रम्पसँग काम गर्न चाहेको बताएका थिए। त्रुदोले भनेका थिए‚ ‘म डोनल्ड ट्रम्पसँग वार्ता गरेर अगाडि बढ्छु। ट्रम्पले आफूले बोलेको पूरा गर्ने योजना बनाएरै छाड्छन्। उनको कामले क्यानडाली नागरिकलाई मात्र नभई अमेरिकी नागरिक र व्यवसायलाई पनि हानि पुग्छ भनेर सम्झाउनु हाम्रो जिम्मेवारी हो।’
दुवैबीचको भेटघाट गोप्य राख्न खोजिएको छ। त्रुदोको कार्यालय र ट्रम्पका अधिकारीहरूले यसबारे कुनै प्रतिक्रिया दिएका छैनन्।
टोरन्टो विश्वविद्यालयका अध्यापक नेल्सन भाइसम्यानले ट्रम्पले यस्तो निर्णय लिन सक्ने भएकाले क्यानडा त्रासमा रहेको बताएका छन्। यस्तो अवस्थामा ट्रम्पको भनाइप्रति गम्भीरता देखाउनुपर्छ। मेक्सिकोकी राष्ट्रपति क्लाउदिया शेनबाउमले पनि ट्रम्पको कर लगाउने योजनाबाट बच्न सकिने बताएकी छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।