हमासद्वारा सञ्चालित क्षेत्रमा इजरायली हवाई आक्रमणमा परी तीन सहायताकर्मीको मृत्यु भएको छ। एजेन्सीका अनुसार मारिनेमा वल्र्ड सेन्ट्रल किचनका प्यालेस्टिनी कर्मचारी छन्।
अमेरिकी सहायता समूहले एएफपीको अनुरोधमा तत्काल कुनै प्रतिक्रिया दिएको छैन। इजरायली सेनाले गत वर्ष इजरायलमा हमासले गरेको अकल्पनीय आक्रमणलाई सङ्केत गर्दै गत अक्टोबर ७ मा भएको नरसंहारमा सहभागी एक आतङ्ककारीले चलाएको एउटा गाडीमा आक्रमण गरेको जनाएको छ।
‘आतंकवादी’ डब्लुसीके कार्यकर्ता भएको भन्ने दाबीको अनुसन्धान भइरहेको छ’, इजरायली सेनाले शनिबार जारी गरेको विज्ञप्तिमा भनिएको छ।
नागरिक सुरक्षा निकायका प्रवक्ता महमुद बसलले वल्र्ड सेन्ट्रल किचेनका तीन जना कर्मचारीसहित कम्तीमा पाँचजनाको शव अस्पताल लगिएको जानकारी दिए।
‘तीनै जना डब्लूसीकेका लागि काम गर्थे र खान युनिसमा डब्लूसीके जिपमा गाडी चलाउँदै गर्दा उनीहरूलाई आक्रमण गरिएको थियो’, बसलले भने, ‘गाडीको लोगो स्पष्टरूपमा देखिएको थियो।’
इजरायली सेनाले मुख्य दक्षिणी शहरमा गरेको आक्रमण आवागमन र सहायता ढुवानीको समन्वयका लागि तोकिएको गाडीमा नभएको दाबी गरेको छ ।
गत अप्रिलमा इजरायली हवाई आक्रमणमा एक अस्ट्रेलियाली, तीन बेलायती, एक उत्तर अमेरिकी, एक प्यालेस्टिनी र एक पोलिसगरी सात डब्लूसीके कर्मचारीको मृत्यु भएको थियो। इजरायलले उक्त आक्रमणमा ‘हमासका बन्दुकधारी’लाई निशाना बनाएको बताएको थियो तर पछि सेनाले ‘गम्भीर गल्ती’ र आफ्नै नियमको उल्लङ्घन गरेको स्वीकारेको छ।
सन् २०२३ को अक्टोबरमा हमास तथा अन्य प्यालेष्टिनी इस्लामिक समूहले इजरायली भूमिमा गरेको आक्रमणमा परी एक हजार २०७ जनाको मृत्यु भएको थियो भने यसको बदलामा इजरायलले गरेको जवाफी कारबाहीमा गाजामा ४४ हजार ३८२ जनाको मृत्यु भएको प्यालेष्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ।
यो तथ्याङ्कलाई संयुक्त राष्ट्रसंघले विश्वसनीय भनी पुष्टि गरेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।