|

काठमाडौं : 
आज दिल यो चोर्ने जमर्को बढी छ 

दोष तिम्रो, मेरो नजरको बढी छ
गजलकार राधा कणेलले गजलका यी पंक्ति वाचन गरिरहँदा सर्वनाम थिएटरको हल तालीमय बनेको थियो। ‘वाह ! वाह !!’ले गुन्जायमान हलमा करिब २०० जना श्रोता मन्त्रमुग्ध बनिरहेका थिए।
तत्काल उनले अर्को शेर सुनाइन् :
भन्नेहरू त भन्छन् तरबार भन्न लायक     
उनको नजर छ यौटा संसार भन्न लायक

यस्ता दमदार भावसहितका करिब ३२ वटा पंक्ति अर्थात् ८ वटा गजल सुनाइन् राधाले। राधासँगै अन्य २ गजल स्रष्टा बिटु केसी र राम अविरल विष्ट पनि दमदार ढंगले गुन्जिए।

हरेक २ महिनामा हुँदै आएको ग्र्यान्ड महफिलको सिजन– २ १३औं शृंखला शनिबार सम्पन्न भएको छ। काठमाडौंको सर्वनाम थिएटरमा सम्पन्न महफिलमा यस पटक गजलकारहरू राधा कणेल, बिटु के. सी. र राम अविरल विष्ट प्रस्तुत भए।

गजलकार तथा अभियन्ता बाबु त्रिपाठीले सहजीकरण गरेको महफिलमा हरेक गजलकारले ८÷८ वटा गजल प्रस्तुत गरेका थिए। प्रस्तुत गजलका हरेकजसो शेरमा उपस्थित श्रोताको ठूलो संख्याले ‘वाह ! वाह !!’ गरेको थियो।

बाटो काट्यौँ बाटोले आँगन काट्यो
अनि देश काट्ने औंलाले रिबन काट्यो

गजलकार विष्टले यस्ता करिब ३ दर्जन शेर सुनाए। उनका शेरमा समसामयिक विषय बढी देखिन्थ्यो। व्यंग्यमा तीव्रता र असन्तुष्टि रहेका शेर निकै सुन्दर थिए।
अर्की गजलकार के. सी. यसरी बोलिन् आफ्ना शेरहरूमा :

आधा बाटो तय अब आधा हेर्नु छ
जिन्दगी ! तेरो पनि इरादा हेर्नु छ

समसामयिक, राजनीतिक–सामाजिक विसंगतिमाथि प्रहारसँगै शृंगारका दुवै रस संयोग तथा विप्रलम्भमा लेखिएका गजलहरू सुनेर श्रोताका कान र रौं ठाडा बनेका थिए।

लामो समयदेखि गजल साधना गरिरहेका तीनै जना स्रष्टाले गजल प्रस्तुत गरिरहँदा हलमा देखिएको उत्साहले अब नेपाली गजलले नयाँ मार्ग खोजिरहेको आभास दिन्थ्यो।

गजललाई लोकप्रिय बनाउन र आममान्छेबीच पुर्या‍उन महफिलले खेलेको भूमिका अतुलनीय रहेको सहभागीहरूले बताए।

कार्यक्रममा कवि दीप दर्पणको नवीनतम कविता कृति ‘एक्लो पृथ्वी, एक्लो मान्छे’माथि परिचर्चा गरिएको थियो। कवि दर्पणले उक्त कृति आफ्नो समयको प्रतिबिम्ब भएको र आफ्नो कृति कसैको प्रतिस्पर्धी नभएको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.