चौबीसैँ घन्टा तैनाथ, यसरी लिनुहोस् सेवा

|

काठमाडौँ : काठमाडौँ महानगरपालिकाले विगत पाँच वर्षदेखि निःशुल्क एम्बुलेन्स सेवा दिँदै आएको छ। यतिखेर पनि काठमाडौँ उपत्यकाभित्र नेपाल एम्बुलेन्स सेवाको सहकार्यमा महानगरको नि:शुल्क एम्बुलेन्सले सेवा दिइरहेको देखिन्छ। उक्त व्यवस्थाले विरामीलाई ठूलो राहत मिलेको छ। नि:शुल्क एम्बुलेन्स सेवाबाट हालसम्म ८० हजारभन्दा बढी विरामीले सेवा लिएका छन्। 

काठमाडौँ महानगरपालिकाले अस्पताल पूर्वको आकस्मिक स्वास्थ्य सेवाको अभावमा हुने मृत्युजन्य क्षति कम गराउन भन्दै २०७६ साल वैशाखमा नेपाल एम्बुलेन्स सेवासँग सहकार्य थालेको थियो। महानगरका तत्कालीन प्रमुख विद्यासुन्दर शाक्य र नेपाल एम्बुलेन्स सेवाका अध्यक्ष रञ्जित आचार्यले संयुक्त व्यवस्थापनमा एम्बुलेन्स सेवाका लागि सम्झौता-पत्रमा हस्ताक्षर गरी सहकार्य सुरु गरेका थिए। 

सम्झौताबमोजिम ७० वर्ष पूरा भएका ज्येष्ठ नागरिक,अपाङ्गता र वडा कार्यालयको सिफारिसमा विपन्न, गरिब, बेसहारा व्यक्तिले निःशुल्क सेवा पाउनुपर्ने व्यवस्था गरिएको थियो। नेपाल एम्बुलेन्स सेवाका प्रमुख कार्यकारी अधिकृत अमित जोशीका अनुसार हाल १० वटा एम्बुलेन्सबाट नि:शुल्क सेवा प्रदान गरिँदै आएको छ।

यो एम्बुलेन्स काठमाडौँ महानगर क्षेत्रमा मात्र नभएर उक्त क्षेत्र बाहिरको ३ किमि वरपरसम्म गई सेवा दिँदै आएको छ। ‘काठमाडौँ महानगरपालिकाबाट २०७६ साल वैशाखबाट सहकार्य गरी सेवा दिएका हौँ, हालसम्म ८० हजारभन्दा बढी विरामीले नि:शुल्क सेवा लिएका छन्’, उनले भने।

उनका अनुसार २०११ यता नेपाल एम्बुलेन्स सेवाका तर्फबाट भने १ लाख पाँच हजार विरामीले सेवा लिएका छन्। काठमाडौँ महानगरपालिका स्वास्थ्य विभागका विभागीय प्रमुख दीपककुमार केसीले उक्त सेवा लिँदा कुनै पनि शुल्क तिर्न नपर्ने बताए।

उनले भने, ‘विद्यासुन्दर शाक्य मेयर हुँदा एम्बुलेन्स सेवा सुरु भएको रहेछ, त्यसवेला नि:शुल्कसँगै सीमित पैसा लिएर सेवा दिइएको रहेछ, बालेन साह मेयर भएपछि चाहिँ पैसा बढाएर पूरै नि:शुल्क बनाइएको रहेछ, अहिले यो सेवा लिँदा कुनै शुल्क तिर्नुपर्दैन।’

महानगरपालिका प्रमुख साहले २०८० वैशाख ३० गते काठमाडौँमा २४सै घण्टा निःशुल्क एम्बुलेन्स सेवा दिने घोषणा गरेका थिए। सामाजिक सञ्जाल फेसबुकमा लेख्दै बालेनले भनेका थिए, ‘काठमाडौं महानगरभर २४ घन्टा नै १०२ मा कल गरेर  एम्बुलेन्स सेवा लिन सक्नुहुन्छ, यो सुविधा प्रयोग गरेबापत कुनै शुल्क तिर्नुपर्ने छैन।’

काठमाडौं महानगरपालिका स्वास्थ्य विभागका विभागीय प्रमुख केसीका अनुसार हाल उक्त सेवाका लागि २४सैँ घण्टा १० वटा एम्बुलेन्ससहित स्वास्थ्यकर्मी तैनाथ छन्।

कसरी र कति मिनेटमा पाइन्छ सेवा ?

उक्त सेवा लिन जुनसुकै समयमा जोसुकैले १०२ मा फोन गरेर विरामीले एम्बुलेन्स बोलाउन सक्नेछन्। त्यसपछि विरामीको सामान्य लक्षणका बारेमा बताउनुपर्छ। विरामीको लक्षणअनुसार नै प्राथमिक उपचार गर्ने नर्सले त्यसको तयारी गर्छन्।

स्वास्थ्य विभागका विभागीय प्रमुख केसीका अनुसार जुनसुकै विरामीले फोन गरेको पाँचदेखि १५ मिनेटभित्र विरामी भएको ठाउँमा एम्बुलेन्स पुगिसक्छ। एम्बुलेन्स जान नसक्ने बाटोभित्र पुग्न भने केही समय लाग्न सक्छ। 

उनले एम्बुलेन्सभित्र स्वास्थ्यकर्मीसँगै आधारभूत उपचारको लागि आवश्यक पर्ने अक्सिजन, प्राथमिक उपचार बक्स लगायतका सामग्रीको व्यवस्था गरिएको जानकारी दिए। ‘त्यसैले विरामीलाई अस्पतालसम्म पुर्‍याउन सहज हुन्छ’, उनले भने।

सामान्य विरामीले कल गर्दा सेवा दिनेलाई हैरानी 

नेपाल एम्बुलेन्स सेवाका प्रमुख कार्यकारी अधिकृत जोशी सामान्य विरामीले कल गरिरहँदा विभिन्न हैरानी खेप्नुपरेको सुनाउँछन्। उनका अनुसार सामान्य ज्वरो आएका विरामीले पनि अस्पताल पुर्‍याइदिनुपर्‍याे भन्दै फोन गर्नेगरेका छन्।

‘यो सेवा भनेको जटिल अवस्थाका विरामीलाई हो तर बारम्बार ज्वरो आएको, नियमित स्वास्थ्यपरीक्षण गर्न जानेहरूले कल गर्छन्, त्यस्ता वेला हामी सम्झाइबुझाइ सचेत गराउने गर्छौ’, उनले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.