वीरगञ्ज : पर्सामा चालु आर्थिक वर्षको चार महिनामा भन्सार छली गरेर ल्याइएका १५ करोड १८ लाखका सामान सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ।
सशस्त्र प्रहरी बल पर्साले चालु आवको चार महिनाको अवधिमा १२ करोड ५३ लाख ८८ हजार ९३३ मूल्य पर्ने भन्सार छली गरेर भित्र्याइएका लत्ताकपडा, इलेक्ट्रोनिक्स सामान, हाडवेयर, मोटर पार्ट्स, खाद्यान्न पदार्थ र किराना सामान वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको जनाएको छ।
यही अवधिमा दुई करोड ६४ लाख ३० हजार १४९ मूल्य पर्ने बिलबिजक नभएका सामान भने राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको जनाएको छ। सशस्त्र प्रहरीले बरामद गरेको रेकर्ड हेर्दा सबैभन्दा धेरै लत्ताकपडा, मेसिनरी पार्टपुर्जालगायतका सामान धेरै तस्करी हुने गरेको देखाउँछ। सशस्त्र प्रहरीले सोही अवधिमा जिल्लामा १४ लाख ५१ हजार मूल्य पर्ने पाँच सय ३१ क्युफिट काठ पनि बरामद गरेर डिभिजन वन कार्यालय पर्सालाई बुझाएको छ।
यस्तै २३६ किलोग्राम गाँजा, १४.९६ किलोग्राम लागुऔषध चरेश पनि बरामद गरेको थियो। सशस्त्र प्रहरीले जिल्लामा आव २०८०/८१ मा भने ३४ करोड २७ लाख ७८ हजार ३३३ मूल्य पर्ने बिलबिजक नभएका र भन्सार छलीका सामान बरामद गरेको थियो।
‘सीमा सुरक्षामा खटिने सशस्त्र प्रहरीले सक्रियता बढाएसँगै अवैध चोरी पैठारी गरेर भित्रिने लत्ताकपडा, इलेक्ट्रोनिक्स सामान, हार्डवेयर, मोटरपार्टस, खाद्यान्न पदार्थ र किरानाका सामान पक्रिने क्रम ह्वातै बढेको छ’, सशस्त्र प्रहरी बल, नेपाल नम्बर १३ गण हेड क्वाटर पर्साका गणपति राधेश्याम धिमालले भने।’पछिल्लो समय त सीमा क्षेत्रमा तालिमप्राप्त कुकुर पनि खटाएर चेकिङलाई अझै प्रभावकारी बनाइरहेका छौँ।’
पर्सामा १०७ किलोमिटर सीमा क्षेत्र भारतसँग जोडिएकाले पनि भन्सार छली रोक्नका नियमित रुपमा गस्ती, सीमा क्षेत्रमा जाँच र तालिमप्राप्त कुकुर प्रयोग गर्दै आइरहेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।