|

पर्वत : जिल्लामै पहिलोपटक ‘फिजियोथेरापी’ सेवा सुरु गरिएको छ। निजी स्तरमा ठूला स्वास्थ्य संस्था नभएको पर्वतमा जिल्लाकै सबैभन्दा ठूलो र सरकारी पर्वत अस्पतालमा सेवा सञ्चालनमा ल्याइएको हो।

अस्पताल स्थापना भएको ३५ औँ वर्षमा पर्वतसहित आसपासको क्षेत्रका बिरामीहरूलाई समेत ध्यानमा राखेर यो सेवा सुरु गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा हेमन्त बास्तोलाले बताए।

सरकारबाट १५ शय्या क्षमताको अनुमति पाएर सञ्चालन भएको भए पनि पछिल्लो समय स्तरोन्नतिसँगै ६० शय्या क्षमतामा चलिरहेको अस्पतालले गण्डकी प्रदेश सरकारले उपलब्ध गराएको दरबन्दीबाट यो सेवा सञ्चालन गरिएको हो।

सेवा सञ्चालनको लागि हालै खुलाइएको विज्ञापनबाट ‘फिजियोथेरापिस्ट’ डा प्रमीला लामिछाने नियुक्त भई आएपछि संरचना व्यवस्थापनको काम सकेर सेवा सुरु गरिएको डा बास्तोलाको भनाइ छ।

‘फिजियोथेरापी’ विधिले शरीरका अङ्गहरूको चाल, लचकता, बल र समन्वय सुधार गर्न मद्दत गर्ने तथा यो उपचार मुख्य रूपमा शरीरको मांसपेशी, जोर्नी, स्नायु, र हाडहरूको समस्या समाधान गर्न प्रयोग गरिने भएकोले जिल्लाका लागि महत्त्वपूर्ण रहेको उनको भनाइ छ।

‘प्यारालाइसिस भएका कारण शरीरका भागहरू नचल्ने, ढाड सड्किएका, मर्किएका, गर्धनमा समस्या भएका, नशा च्यापिएका लगायतका बिरामीहरूलाई शारीरिक कसरतका माध्यमबाट सेवा दिन लागिएको हो’, डा बास्तोला भन्छन्, ‘सामान्य जोर्नी जाम भएको अवस्थामा हातको फिजियोथेरापी गर्न पनि पोखरा र बागलुङका अस्पतालमा जानुपर्ने यहाँको बाध्यता थियो। सामान्य कुराका लागि पनि नागरिकले हजारौँ रुपैयाँ खर्च गर्नुपर्ने अवस्थाको अन्त्यका लागि यो सेवा महत्त्वपूर्ण हुनेछ।’

यससँग सम्बन्धित संरचना निर्माण, अभ्यासका लागि ठाउँ बनाउने, बिरामीहरू राख्नको लागि शय्या बनाउने लगायतका कामहरू अहिले पनि चलिरहेका छन्। अहिले सुरुवाती चरणमा कम्तीमा पनि छ देखि १० वटा सम्म शय्या सञ्चालन गर्ने गरी तयारी भइरहेको अस्पताल विकास समितिका अध्यक्ष शङ्कर गिरीले बताए।

शारीरिक गतिविधिमा अवरोध, चोटपटक तथा दीर्घकालीन स्वास्थ्य समस्याहरू भएका बिरामीहरूले यो सेवाबाट लाभ लिनसक्ने उनको भनाइ छ।

जोर्नी मर्किएका, मांसपेशी चुँडिएका, हड्डी भाँचिएका, हड्डी र जोर्नीमा लचकता नभएका, कम्मर र घुँडाको दुखाइ भएका, ‘स्ट्रोक’का कारण शरीरको एक भागमा कमजोरी भएका, चल्न समस्या भएका, शरीरको चालमा गडबडी भएका तथा कम्पनका समस्या रहेका, जन्मजात शारीरिक अपाङ्गता भएका, शरीरका अङ्गहरू चलाउन समस्या भएको, श्वासप्रश्वासको समस्या भएका, फोक्सोको क्षमता घटेका लगायतका बिरामीहरूको उपचार लागि ‘फिजियोथेरापी’ ले राम्रो सुधार ल्याउने गिरीले बताए।

‘पर्वतमा यो सेवा नभई नहुने अवस्था थियो। मानौँ कसैको हातको सामान्य फिजियोथेरापी गर्नुपर्दा पनि पोखरा गइरहेको देखेका थियौँ। यो बाध्यताको अन्त्य गर्नु हाम्रो ठुलो उपलब्धि हो’, उनले भने, ‘हामीले निकै मिहिनेतका साथ अस्पतालको सेवा क्षेत्रलाई फराकिलो बनाउने प्रयास गरिरहेका छौँ। नागरिकले दिनुभएको विश्वासले पनि हामीलाई ऊर्जा मिलिरहेको छ।’

पछिल्लो समाचार  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.