जनसंख्या वृद्धिदर घटाउने कारक बन्दै

|

काठमाडौँ : स्नायु प्रणालीसँग सम्बन्धित नसर्ने रोग पार्किन्सन जनसंख्या घटाउने कारक बन्दै गएको छ। नेपालमा पछिल्लो समय कम उमेरका मानिसमा समेत पार्किन्सनका लक्षण देखा पर्दा प्रजनन क्षमतामा ह्रास आउने र यसले जन्मदर घटाई जनसांख्यिकी संक्रमणमा सहयोग पुर्‍याउने विज्ञहरू बताउँछन्। 

त्रिवि शिक्षण अस्पतालका न्यूरोलोजिस्ट डा. राजीव ओझाका अनुसार पार्किन्सनका वयस्क उमेरका विरामीको संख्या बढेको देखिन्छ। नेपालमा करिब २२ प्रतिशत पार्किन्सनका विरामी ५० वर्षभन्दा कम उमेरका रहेको उनले बताए। ‘नेपालमा पनि कम उमेरका मान्छेमा छिट्टै मस्तिष्कको तत्त्व सुक्ने समस्या बढेको छ’, डा. ओझाले भने‚ ‘कम उमेरमा यस्तो समस्या देखा पर्दा प्रजनन स्वास्थ्यमा असर परिरहेको छ।’ छिमेकी मुलुक भारतमा पार्किन्सनका विरामीमध्ये झन्डै ४० प्रतिशत कम उमेरका छन्।

उनका अनुसार पार्किन्सन वंशाणुगतसँगै वातावरण प्रदूषण, विषाक्तता र जीवनशैली लगायतका कारण बढ्दो छ। प्रजननयोग्य उमेरका वयस्कमा पार्किन्सन देखा पर्दा उनीहरूको प्रजनन क्षमता घट्ने, तिनीहरूबाट सन्तान जन्मिए पनि विभिन्न खालका रोग देखा पर्ने, उचित विकास नहुने जस्ता समस्या देखिने डा. ओझा बताउँछन्। 

‘हाम्रो आयु बढ्दै गएको छ, सँगै रोग थुप्रदै गएको छ, पार्किन्सनले पनि प्रत्यक्ष असर गरेको देखिदैन तर कम उमेरमै लाग्दा प्रजननदरमा प्रभाव पारिरहेको छ, दीर्घकालमा यसले गर्दा जनसंख्या कम हुनसक्छ’, डा. ओझाले भने‚ ‘यसका कारण गर्भाधान नहुने र दम्पतीले अनेक प्रकारका शल्यक्रिया वा चिकित्सकीय उपचार अपनाउनुपर्ने हुनसक्छ।’  

नेपाल जनसंख्या संघका अध्यक्ष डा. पद्मप्रसाद खतिवडाका अनुसार गत शनिबार काठमाडौँमा सकिएको छैटौँ एशिया जनसंख्या सम्मेलनको नेपाल सत्रमा पार्किन्सन प्रजननदर घटाउने घटक बनेकोबारे प्रकाश पारिएको थियो। ​न्यूरोलोजिस्ट डा. ओझासहितको टोलीले जनस्वास्थ्यसँग सम्बन्धित प्रस्तुति राख्दै वयस्कमा बढ्दो पार्किन्सन रोग जनसांख्यिक उतारचढावको कारण बन्न सक्नेतर्फ सचेत गराएको थियो।

राष्ट्रिय जनगणना २०७८ ले जनसंख्या वृद्धिदर र प्रजननदरमा कमी आएको देखाएपछि विज्ञहरू चिन्तित भइरहेका वेला यसका मुख्य कारण खोजी गरिएको छ। एशियाका अन्य मुलुकमा पनि प्रजननदर घटिरहेको अवस्थामा नेपालमा पनि हालकै जनसंख्या वृद्धिदरलाई कायम राख्नु चुनौतीपूर्ण बन्दै गएको छ। 

अहिलेकै अवस्था रहिरहे भविष्यमा जनसांख्यिकीय संक्रमण बढ्दै गएर भविष्यमा मानव स्रोतको संकट निम्तन सक्नेतर्फ विज्ञहरूले सचेत गराएका छन्। ‘दम्पतीमा परिपक्व उमेरमा सन्तान उत्पादन गर्ने चाहना र अपेक्षा पनि कम हुँदै गएको देखिएको छ’, डा. खतिवडा भन्छन्, ‘स्वास्थ्य समस्याका विविध पक्षले पनि प्रजनन स्वास्थ्यमा थप असर गरेको पाइएको छ।’

के हो पार्किन्सन ?

पार्किन्सन मस्तिष्कको तत्त्व सुक्दै जाने स्नायु प्रणालीसँग सम्बन्धित रोग हो। मस्तिष्कमा सब्स्टेनसिया निग्रा भन्ने कोषिकामा रहेको डोपामिन नाम गरेको न्यूरो हर्मोन कमी भएमा नसर्ने रोग पार्किन्सन लाग्ने जोखिम बढी हुन्छ। डोपामिन हर्मोनले मस्तिष्कका दुई क्षेत्रबीच गतिविधि समन्वय गर्न संकेत पठाउने काम गर्छ। 

सामान्यतया पार्किन्सनको निदान औसत ६० वर्षको उमेरमा हुने गर्छ। ५० वर्षभन्दा कम उमेरका मानिसमा पार्किन्सनको लक्षण देखिनु सामान्य होइन। युवामा पार्किन्सन रोगको फरक–फरक लक्षण देखिने गरेको पाइएको छ। 

पार्किन्सनका सामान्य लक्षणमा हात काम्ने वा हल्लने, मांसपेशीहरूमा संकुचन, दुखाइ हातखुट्टा कडा हुँदै गएर नचल्ने, हिँडडुल गर्न नसक्ने हुन्छन्। लक्षणको अर्को अवस्थामा  रिसाउने, झर्किने, निदाउन नसक्ने, सुँघ्ने क्षमता कमजोर हुँदै, बोलीमा नियन्त्रण नहुने, एक्लै बर्बराउने, निद्रामा हिँड्ने, दिउँसो निद्रा लाग्नेदेखि मानसिक सन्तुलन गुम्ने र बिर्सने समस्या देखिने डा. ओझाले जानकारी दिए। यस्ता विरामीका लागि उचित हेरचाहको आवश्यकता पर्छ। 

सामान्यता पार्किन्सन रोग वृद्धावस्थामा लाग्ने गरेकोमा पछिल्लो समय भने युवा तथा वयस्कमा यो देखा परेको छ। डा. ओझाका अनुसार पार्किन्सनको खास कारण पनि पत्ता लागेको छैन। धेरैजसो वंशाणुगत कारण भनिए पनि अहिले वातावरण प्रदूषण, जलवायु प्रदूषण, बदलिदो जीवनशैली, अखाद्य बस्तु मिसावटयुक्त खाना पनि पार्किन्सन गराउने कारक तत्त्वमा पर्छन्। 

संसारभर पार्किन्सन

​संसारभर अपाङ्गता र यसबाट हुने मृत्यु बढिरहेको विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले जनाएको छ। दुई दशकयता पार्किन्सनका रोगी दोब्बर बढेका छन्। 
सन् २०१९ मा विश्वभर पार्किन्सनबाट ८५ लाख मान्छे पीडित रहेका डब्ल्युएचओको तथ्यांक छ।

सन् २०१९ मा पार्किन्सन रोगका कारण ५८ लाख मानिसले अपाङ्गताको अवस्थाबाट गुज्रनुपरेको छ। यो संख्या सन् २००० भन्दा ८१ प्रतिशतले बढी हो। यसैगरी २०१९ मा २००० यता शतप्रतिशत बढी ३२ लाख ९००० मृत्यु पार्किन्सनका कारण भएको छ। 

हाल पार्किन्सनबाट पीडित १० लाख मान्छेमध्ये २ प्रतिशतमा यो रोगको निदान ४० वर्षको उमेरभन्दा पहिले नै भएको थियो। छिमेकी मुलुक पार्किन्सन रोगको प्रभाव धेरै भएका देशमध्येको एक हो र त्यहाँ पार्किन्सनका रोगीमध्ये लगभग १० प्रतिशत कम उमेरका छन्। 

कसरी जोगिने ?

नेपालमा मात्र नभई संसारभर वंशाणुगत रूपमा भएको पार्किन्सनको तथ्यांक यकिन छैन र पार्किन्सन हुन नदिन के गर्ने भन्ने निश्चित उपाय पत्ता लागेको छैन तर नेपालमा यसका लामो समयदेखिका रोगीमा अध्ययन भइरहेको डा. ओझाले बताए।

‘तुरुन्तै रोकथाम गर्न नसकिएला तर अध्ययन गरेर १० २० वर्षपनि रोक्न सकिन्छ कि भनेर अगाडि बढेका छौं, उनले भने‚ ‘यद्यपि विषाक्त पदार्थबाट टाढा रहने, वरपरको वातावरणमा विषाक्त फैलन नदिने, जीवनशैली, अत्यधिक नभई शरीरलाई वास्तविक रूपमा आवश्यक संयमित भोजनसँगै व्यायामले फाइदा पुग्ने उनी बताउँछन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.