सुर्खेत : खानेपानीमन्त्री प्रदीप यादवले कर्णाली प्रदेशमा विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)सहितका सबै प्रक्रिया पूरा गरेका खानेपानी योजना बजेट अभावका कारण नरोकिने बताएका छन्।
कर्णाली प्रदेश सदरमुकाम सुर्खेतस्थित वीरेन्द्रनगरमा आज सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाअन्तर्गत ग्रामीण खानेपानी सेवा सहायता केन्द्र शुभारम्भ कार्यक्रममा उनले बजेट अभाव देखाई काम हुन नसकेका सङ्घीय खानेपानी योजनामा अब समस्या नहुने बताए।
“म यहाँका जनप्रतिनिधि, स्थानीयवासीलाई विश्वास दिलाउन चाहन्छु, सङ्घीय सरकार खानेपानी मन्त्रालयबाट कर्णाली प्रदेशमा सञ्चालन भइरहेका र बजेट नभएर रोकिएका कुनै पनि योजना पैसा अभावमा रोकिने छैन। बजेट रकमान्तर गरेर भए पनि यहाँका समस्या समाधान गर्छु”, मन्त्री यादवले भने।
उनले कर्णाली प्रदेशसहित विकट क्षेत्रका आमनेपाली नागरिकलाई स्वच्छ तथा गुणस्तरीय खानेपानी तथा सरसफाइमा पहुँच पु¥याउन आफू लागिपरेको बताए।
उनले भने, “कर्णाली प्रदेशका अधिकांश क्षेत्रमा हालसम्म जम्मा चार प्रतिशतले मात्रै शुद्ध खानेपानी पाइरहेका र ९६ प्रतिशतले अहिलेसम्म पनि शुद्ध पानी नपाएको अवस्था छ। यसको अन्त्य गर्न लागिपरेको छु।”
मन्त्री यादवले स्वच्छ खानेपानीसहित एक घर एक धाराको अवधारणालाई अघि सारेर आफूले काम अगाडि बढाइ काम गरिरहेको जानकारी दिए।
आज उद्घाटन गरिएको यस सेवा केन्द्रले स्थानीय तहमा रहेका ग्रामीण खानेपानी आयोजनाका उपभोक्ता समिति र सम्बन्धित गाउँ र नगरपालिकाका खानेपानी, सरसफाइ तथा स्वच्छता इकाइबीच मुख्य समन्वयकारी भूमिका खेल्ने लक्ष्य राखिएको मन्त्री यादवको भनाइ छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।