|

विराटनगर : नक्कली सुन देखाई नगद तथा गरगहना ठगी गर्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।

आइतबार पक्राउ परेका उनीहरूलाई जिल्ला प्रहरी कार्यालय मोरङले आज (सोमबार) पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो।

पक्राउ पर्नेमा दार्जीलिङको नक्सलवारी नवकान्त जोतर शान्तिनगरका ५१ वर्षीय नारायण गुरुङ, दार्जीलिङका ३४ वर्षीय सञ्जय शर्मा, झापाको कन्काई नगरपालिका–९ घैलाडुब्बाका ५९ वर्षीय धकलबहादुर थिङ, झापा जिल्ला अर्जुनधारा नगरपालिका–११ का ५४ वर्षीय प्रवीण तामाङ, झापा हल्दिबारी नगरपालिका–३ बाघडाँडाका ६६ वर्षीय रामबहादुर कन्दङवा र झापा तोपगाछी गाउँपालिका–१ बाँसबारी बस्ने ५२ वर्षीय अशोक तामाङ रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी नारायण चिमरियाले जानकारी दिए।

गिरोहले संखुवासभा जिल्ला पाँचखपन–५ का ५६ वर्षीय कृष्णबहादुर तामाङकी श्रीमतीलाई उपचारका लागि विराट टिचिङ अस्पताल  ल्याइएको थियो।

सोही क्रममा अस्पतालमा विरामी भेट्न भनेर आएका अपरिचित व्यक्तिले गाउँले दाजुभाइको नाता लगाई सहयोग गर्ने बहाना गरेका थिए। ती अपरिचित मानिसले झोलाबाट एक लाख दश हजार रुपैयाँ चोरी गरेपछि उक्त घटना सार्वजनिक भएको प्रहरीले जनाएको छ।

एसपी चिमरियाका अनुसार चोरीको सूचना आएपछि प्रहरीले अस्पतालको सिसिटिभी फुटेज हेरेर ती मानिसको पहिचान गरेको थियो।

गिरोहका अशोक तामाङको पहिचान भएपछि सुनसरीको इटहरीस्थित विभिन्न ठाउँबाट गिरोहका अरू सदस्य पक्राउ परेका थिए।

हटियादेखि अस्पतालसम्म पुग्थे

चोरी तथा ठगीको उद्देश्यसहित उनीहरू अस्पतालदेखि हटिया, मेला भीडभाड हुने ठाउँमा पुग्ने गरेको र सोझा, बूढापाका र गरगहना लगाएका व्यक्तिलाई रोकेर प्रलोभनामा पार्ने गरेको एसपी चिमरियाको भनाइ छ।

‘भीडभाड, अस्पताल, हाटबजारमा गएर बूढापाका, सोझालाई फकाई प्रलोभनमा पारी सुन जस्तो पदार्थ देखाई सुन तथा नगद पैसा ठगी गर्ने गरेका रहेछन्’, उनले भने। उनीहरूले बिल नभएको भन्दै थोरै दाममा नक्कली सुन बेच्ने गरेका रहेछन्।

उनीहरू सीमित समयका लागि होटलमा बस्ने, होटल बदलिरहने, आफ्नो वास्तविक नाम नबताउने र फ्ल्याट लिई बस्ने गरेको अनुसन्धनबाट खुलेको छ।

अरू मानिसको नामको सिम प्रयोग गर्ने र पटकपटक परिवर्तन गरिरहने गर्ने गरेको प्रहरीको भनाइ छ। प्रहरीका अनुसार नक्कली सुनका टिल (बिस्कुट) र गहना देखाई बहाना बनाई प्रलोभनमा पारी ठगी गर्ने गरेको पाइएको छ।

उनीहरूले बेलबारीकी राममाया कार्की, विराट टिचिङबाट संखुवासभाका कृष्णबहादुर तामाङ, बेलबारीकी जेनी लिम्बु लगायतका झापा, मोरङ, सुनसरी विभिन्न जिल्लाका मानिसलाई ठगेको पाइएको एसपी चिमरियाले बताए।

नक्कली सुनदेखि नगदसम्म बरामद

उनीहरूका साथबाट सुन जस्तो देखिने पहेँलो धातु तिलहरी ४ थान, हा २ थान, मंगलसूत्र २ थान, सुन जस्तो देखिने टिल ८ थान, चन्द्रमा १ थान, कानको मुन्द्री, सानो लकेट भएको सिक्री १ थान, कानको झुम्का टप भएको १ थान, बेरुवा औँठी, ब्रासलेट १, चाँदीको पाउजु लगायत बरामद गरिएको छ। उनीहरूका साथबाट २ लाख ७२ हजार ४३ रुपैयाँ नेपाली नगद र २ लाख ६३० भारतीय रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ।

उनीहरूलाई मुलुकी अपराध संहिताको परिच्छेद २१ को दफा २४९ अन्तर्गत ठगी गर्न नहुने कसुरमा मोरङ जिल्ला अदालतबाट म्याद थप भई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ।

कस्तो सजाय हुन सक्छ ?

मुलुकी अपराध संहिताको परिच्छेद २१ को दफा २४९ (१) अन्तर्गत ठगी गर्न नहुने साथै मुलुकी अपराध संहिताको २४९ को २ (ग) बमोजिम ७ वर्षसम्म कैद र ७० हजारसम्म जरिवाना हुनसक्छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.