पर्वत : कास्कीको लेखनाथ उद्योग वाणिज्य सङ्घको आयोजनामा सञ्चालन हुँदै आएको लेखनाथ महोत्सवको २० औँ संस्करण आउँदो पुस १८ गतेदेखि सुरु हुने भएको छ।
पोखरा महानगरपालिका–२७ ताल चोकमा आयोजना हुन लागेको महोत्सवको तयारीका बारेमा जानकारी दिन आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै सङ्घका अध्यक्ष एवं महोत्सवका मूल संयोजक विनोद श्रेष्ठले पुस १८ बाट सुरु हुने महोत्सव माघको एक गतेसम्म सञ्चालन हुने बताए।
लेखनाथ उद्योग वाणिज्य सङ्घले २०५८ सालमा सुन्तला प्रदर्शनीबाट सुरु गरेको महोत्सवले हरेक पटक सफलता हात पारेको उनले सुनाए। समयानुकूल परिष्कृत गर्दै २०६१ सालदेखि वार्षिक रूपमा लेखनाथ महोत्सव गर्दै आएको र विभिन्न जात जाति भाषा भाषीलाई एकै थलोमा उपस्थित गराएर लेखनाथ क्षेत्रको पहिचान गराउने उद्देश्यले महोत्सवको आयोजना गरिएको अध्यक्ष श्रेष्ठको भनाइ छ।
उनले स्थानीय कृषि तथा औद्योगिक उत्पादनको प्रवर्द्धन, लेखनाथमा रहेका तालहरूको प्रवर्द्धनसँगै स्थानीय उत्पादनलाई जोड दिँदै आइरहेको बचाए। सङ्घकी महासचिव एवं महोत्सवका प्रचार प्रसार संयोजक जानुका पराजुलीले महोत्सवको मुख्य आकर्षणको रूपमा सांस्कृतिक गतिविधि, खुल्ला युगल जोडी नृत्य प्रतियोगिता, रत्यौली गीत प्रतियोगिता, चित्रकला प्रतियोगिता लगायत रहेको बताइन। उनका अनुसार महिलाहरूको क्षमता अभिवृद्धि गर्नका लागि महोत्सवमा महिला समूहहरूबिच हाजिरी जवाफ प्रतियोगिता समेत राखिँदै छ।
महोत्सवको थप आकर्षणको रूपमा यो वर्ष गौतम बुद्धको प्रतिमा राखिने र सो प्रतिमालाई महोत्सव पश्चात् लेखनाथको उचित स्थानमा राखिने छ। महोत्सवको बचतबाट प्रदर्शनी स्थल र औद्योगिक क्षेत्र निर्माणको लागि पहल एवं सहयोग, कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मस्थल विकासलगायत विभिन्न सामाजिक उत्तरदायित्वका कार्यमा खर्च गरिने छ।
सङ्घका वरिष्ठ उपाध्यक्ष एवं महोत्सवका सह–संयोजक राजेन्द्र ओझाले लेखनाथ महोत्सवलाई स्थानीयले चाड पर्वको रूपमा लिँदै आएको र उत्पादक र उपभोक्ताहरूलाई एकै ठाउँमा भेला गरी आर्थिक चलायमान गराउन महत्त्वपूर्ण भूमिका खेलेको दाबी गरे। महोत्सवमा कुल तीन सय ३६ वटा स्टल रहने छन्। अटो प्रदर्शनी स्टल ६, शैक्षिक÷ग्रामीण प्रविधि प्रदर्शनी १२, कृषि प्रदर्शनी ३६, किचन सामाग्री २५, मसिनरी १०, हस्तकला प्रदर्शनी १६, गार्मेन्ट तथा रेडिमेट १०८, जनरल २६, फुड एन्ड बेभरेज प्रदर्शनी १६, डेरी प्रदर्शनी ९, नेपाली उत्पादन प्रदर्शनी २२, खाना महोत्सव १७, बैङ्क तथा वित्तीय सङ्घसंस्था तथा प्रायोजक अन्तर्गत ३३ स्टल रहने छन्।
सङ्घका सदस्यहरूलाई विशेष प्राथमिकतामा राखी स्टल बुकिङ खुल्ला गरिएको छ भने अन्य व्यवसायीहरूका लागि मङ्सिर २४ गते देखि बुकिङ खुल्ला गरिने र सदस्य स्वयंले स्टल राखेमा २० प्रतिशत छुट र सामान ढुवानीका लागि थप दुई हजार रुपैयाँ उपलब्ध गराइने आयोजकले जनाएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।