रोल्पा : नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तले हालै सम्पन्न उपनिर्वाचन परिणामले आफ्नो दलको पक्षमा जनमत बढेको पुष्टि भएको बताएका छन्।
पार्टीको गंगादेव गाउँपालिका रोल्पाको अधिवेशनलाई मंगलवार सम्बधोन गर्दै पुनले फरक विचार, नीति र जनताको प्रवृत्ति बोक्ने दलका रुपमा आफूहरुलाई जनमतले अनुमोदन गरेको बताए।
कांग्रेस र एमालेलेले माओवादी एक्लै चुनावी प्रतिस्पर्धामा गए सकिने भन्दै फैलाएको गलत अफबाहलाई जनताले खारेज गरेको उनको भनाइ थियो।
‘हामी कसैले कसैसँग तालमेल नगरी एक्लै चुनावमा जान सक्दैनौँ भन्ने गलत भाष्य स्थापित गर्ने कोसिस भएको थियो’, पुनले भने, ‘कहिले एमालेले र कहिले कांग्रेसले साथ दिएर माओवादी टिकेको हो भन्ने प्रचारलाई हामीले खारेज गरेका छौँ। उपचुनावको परिणमबाट जनताले त्यसको जवाफ दिएका छन्। हामीले आफ्नो जनमत देखाएका छौँ।’
विगतका केही निर्वाचनमा तालमेल गर्दा कांग्रेस र एमालेले आफूहरुको मत लिएको तर आफूहरुलाई मत नदिएको पनि यो निर्वाचनले पुष्टि गरेको उनले बताए। उनले कांग्रेस र एमालेको जनमत घटेको र आफूहरुको बढेको दावी गरे।
जितेका ११ ठाउँबाहेकमा पनि धेरै स्थानमा आफ्नो दल दोस्रो भएकाले त्यो पुष्टि हुने तर्क पुनको थियो। निर्वाचन परिणामले वर्तमान व्यवस्थालाई बहुदलीयबाट दुई दलीय व्यवस्थामा लैजाने र पालौलापो जनतालाई शासन गर्ने कांग्रेस–एमाले महत्कांक्षामा धक्का लागेको उनले बताए।
पुनले जनताले एक्लै निर्वाचनमा जाँदा आफूहरुलाई विश्वास गरेको भन्दै उनले पार्टी केन्द्रीय समितिबाट आगामी दिनमा स्थानीय तह तथा संघ र प्रदेशको निर्वाचनमा कसैसँग तालमेल नगर्ने निर्णय यसअघि नै भएको स्मरण गराए।
आफ्ना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको पूर्ववर्ती सरकारले भ्रष्टाचार, बेथिति, बिचौलियातन्त्र र राज्य दोहनविरुद्ध काम गरेका कारण पनि जनता आफूहरुतिर आकर्षित भएको उनको भनाइ थियो।
पुनले आफूहरुको ध्यान सरकारमा नभएको भन्दै ०८४ सम्म मिलेर सरकार चलाउन कांग्रेस–एमालेलाई आग्रह गरे। ती दलका नेताले आफ्नो महत्व बढाउन माओवादी सरकार ढाल्ने खेलमा लागेको टिप्पणी गरेको भन्दै उनले सरकारबाहिरै बसेर जनताको सेवा गर्ने उल्लेख गरे।
आफूहरु सरकार ढाल्ने खेलनमा नलागेको र नलाग्ने चर्चा गर्दै पुनले विगतका चार महिनामा जसरी नै भ्रष्टाचारी, बिचौलिया र दलालहरुको सेवा गरिरहे यो सरकारलाई जनताले सडकबाटै ढाल्ने दावी गरे।
फरक प्रसंगमा पुनले ०५१ को मध्यावधि निर्वाचनमा एकपटक प्रतिनिधिसभा सदस्य ०७४ मा माओवादी समर्थनमा प्रदेशसभामा बाहेक कहिल्नै चुनाव नजितेका एमाले महासचिव शंकर पोखरेलले आजिवन चुनाव नहारेका आफ्ना अध्यक्ष पुष्पकमल दाहाललाई हरुवा भनेकामा आपत्ति जनाए।
‘०५१ मा एकपटक र ०७४ मा हामीसँग मिलेर प्रदेशसभामा जितेबाहेक जीवनमा कुनै पनि चुनाव नजितेका व्यक्तिले ०६४ देखिका हरेक चुनावमा जित्दै आएका हाम्रा अध्यक्षलाई हरुवा भन्न लाज लागेन? आफ्नो हैसियत हेरेर बोल्ने गर्नुस्’, पुनले भने।
तपाईंको ईमेल गोप्य राखिनेछ ।