|

काठमाडौं : नेपाल प्रिमियर लिग(एनपिएल) मा आज कर्णाली याक्स र काठमान्डु गुर्खाज तथा विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ। 

आ–आफ्नो पहिलो खेल हारेका कर्णाली र काठमान्डु पहिलो जितको खोजीमा रहँदा सुरुवाती दुई खेलमा हार व्यहोरेको विराटनगर पहिलो खेल खेल्दै गरेको लुम्बिनीलाई हराउन चाहन्छ।

एनपीएलको छैटौं खेलमा कर्णाली याक्स र काठमान्डस गुर्खाज प्रतिस्पर्धा गर्नेछन्।  खेल बिहान ९ बजे सुरु हुनेछ।​ अक्सनमार्फत अनुभवी र प्रतिभाशाली खेलाडीहरूलाई समेटेको कर्णाली कागजमा बलियो देखिए पनि पहिलो खेलमा त्यस अनुरुप प्रदर्शन गर्न सकेन।

सोमपाल कामीको कप्तानीमा रहेको कर्णाली आफ्नो पहिलो खेलमा जनकपुर बोल्ट्ससँग ८ विकेटले हारेको थियो। ब्याटिङ लाइनअपमा शीर्षक्रमदेखि तल्लोक्रमसम्म सन्तुलित देखिए पनि खेलाडीले नाम अनुसारको प्रदर्शन गर्न सकेन।  काठमान्डु पनि आफ्नो पहिलो खेलमा चितवनसँग ५ विकेटले हारेको हो।

यता लगातार दुई खेल हारेको सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगरले आजै हुने दोस्रो खेलमा लुम्बिनीसँग खेल्नेछ। राष्ट्रिय टोलीका कप्तान रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले यो प्रतियोगितामा पहिलो खेल खेल्न लागेको हो।

स्तरिय र अनुभवी खेलाडीको संयोजन देखिए पनि विराटनगरले पहिलो खेलमा जनकपुर र दोस्रो खेलमा सुदूरपश्चिमसँग फराकिलो अन्तरको हार व्यहोर्यो। घरेलु क्रिकेटका अनुभवी लोकेश बम र न्युजिल्यान्डका मार्टिन गप्टिल ओपनिङका रुपमा जम्न सकेका छैनन्। 

यता राष्ट्रिय टोलीका सफल कप्तान रोहितको नेतृत्वमा लुम्बिनी विजयी सुरुवात गर्ने लक्ष्यमा छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.