पर्वत : जिल्लाको फलेवास नगरपालिका–१ कार्कीनेटामा रहेको नागढुङ्गा बचत तथा ऋण सहकारी संस्था लिमिटेड सहकारी संस्थाका अध्यक्ष पक्राउ परेका छन्।
सहकारीका सञ्चालक तथा व्यवस्थापकबाट रकम हिनामिना भई सहकारी ऐन अन्तर्गतको ठगी भएको भन्दै सहकारी रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरामा उजुरी परेपछि यो सहकारीमाथि अनुसन्धान चलिरहेको छ।
सहकारी रजिष्ट्रारको कार्यालयले गरेको अनुसन्धानमा उक्त सहकारीका सञ्चालकहरूले पाँच करोड ६४ लाख ५३ हजार तीन सय ७९ रुपैयाँ हिनामिना गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको थियो।
यही प्रकरणमा प्रहरीले सहकारीका अध्यक्ष ६४ वर्षीय नारायण श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय पर्वत तथा प्रहरी वृत्त बालाजु काठमाडौंको संयुक्त टोलीले पक्राउ गरेको हो।
गत मङ्सिर १७ गते काठमाडौंको तारकेश्वर नगरपालिका–८ शान्तिटोलबाट श्रेष्ठ पक्राउ परेका हुन्। उनलाई मङ्सिर १८ मा नै जिल्ला अदालत पर्वतमा उपस्थित गराइएकोमा अदालतको आदेशले पुर्पक्षको लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक रविन विष्टले बताए।
यही प्रकरणमा सहकारीका दुई जना पदाधिकारीहरू यसअघि नै थुनामा परिसकेका छन्। सहकारीका कोषाध्यक्ष ५९ वर्षीय दीर्घनारायण शर्मालाई गत कातिक १० गते प्रहरीले नियन्त्रणमा लिएको थियो। यस्तै फलेवास–२ थापाठाना घर भएका २६ वर्षीय अनिलबहादुर थापा कार्तिक २६ मा नेपाल र छिमेकी मुलुक भारतको सिमानामा पर्ने झापाको मेचीनगर नगरपालिका– ६ काकडभित्ताबाट पक्राउ परेका थिए।
उनीहरूलाई अदालत पेस गरिएकोमा पर्वत जिल्ला अदालतमा गत मङ्सिर सात गते भएको थुनछेक आदेशले दुवै जनालाई पुर्पक्षको लागि जिल्ला कारागार पर्वतमा चलान गरिसकेको छ।
सहकारीका सञ्चालक तथा व्यवस्थापकबाट रकम हिनामिना भई सहकारी ऐन अन्तर्गतको ठगी भएको उजुरीपछि सहकारी रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखराले यस प्रकरणमा अध्ययन सुरु गरेको थियो।
सहकारी ऐन, २०७४ अन्तर्गतको सहकारी ठगी मुद्दामा अनुसन्धानको क्रममा चार सय पाँच जनाको तर्फबाट सञ्चालक तथा व्यवस्थापकहरू विरुद्ध किटानी जाहेरी परेको थियो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।