|

काठमाडौँ : जलवायु परिवर्तनले विगतको तुलनामा कृषि उत्पादन ४० प्रतिशतले घटेको छ। गण्डकी जलाधार क्षेत्रमा गरिएको अनुसन्धानले उक्त पुष्टि गरेको हो।

पाँच विश्वविद्यालय मिलेर दक्षिण एशिया क्षेत्रमा जलवायु परिवर्तनले कृषिमा पारेको असरका विषयमा गरिएको अध्ययनपछि यस्तो तथ्यांक सार्वजनिक गरेको हो। त्रिभुवन विश्वविद्यालय भूगोल केन्द्रीय विभाग, चीनका दुई विश्वविद्यालय, भारतको दिल्ली इकोनोमी अफ भूगोल विभाग र बंगलादेशका अध्ययन केन्द्र रहेका थिए।

उक्त अनुसन्धान गण्डकी जलाधार क्षेत्रमा पर्ने वागमती, गण्डकी प्रदेशका पाँचवटा जिल्ला रसुवा, नुवाकोट, चितवन, तनहुँ र कास्कीमा गरिएको थियो। गण्डकी जलाधार क्षेत्रमा गरिएको अनुसन्धानले जलवायु परिवर्तनले तापक्रममा परिवर्तन, वर्षाको ढाँचा, खडेरी बाढी तथा पहिरो आउने जस्ता असरले कृषि उत्पादकत्वमा असर गरेको देखाएको छ।

अनुसन्धानले वर्षामा निर्भर खेती भएकाले कृषि क्षेत्रमा खडेरीबाट अत्यधिक प्रभावित बनाएको देखाएको छ। जलवायु परिवर्तनका कारण गण्डकी जलाधार क्षेत्रमा समेत वर्षा समेत कम भएको अध्ययनले देखाएको त्रिवि भूगोल केन्द्रीय विभागका प्राध्यापक डाक्टर प्रेमसागर चापागाईंले बताए। उनले वर्षाका वेला समेत पानी पर्ने समय परिवर्तन हुने, समयमा पानी नपर्ने बढी वा घटी पर्ने जस्ता समस्या समेत देखापरेकाले नेपालको कृषि उत्पादनमा ठूलो असर बनाएको अध्ययनले देखाएको बताए।

उनले अध्ययनको निष्कर्षअनुसार नेपाल, भारत, चीन र बंगलादेश सबैतिर कृषि उत्पादनमा कमी देखिए पनि नेपालमा सबैभन्दा धेरै देखिएको बताए। उनले विगतको तुलनामा नेपालको हिमाली क्षेत्रमा ४० प्रतिशतसम्म कृषि उत्पादकत्वमा कमी आएको अध्ययनमा देखिएको उल्लेख गरे। उनले समयमा पानी नपर्दा किसानको लागत वृद्धि समेत भएको बताए।

उनले जलवायु परिवर्तनका कारण पानी नपर्दा खडेरीले बालीनाली सुक्ने समस्याले बाँझो जमिन छोड्ने प्रवृत्ति बढेको उल्लेख गरे। उनले विश्वविद्यालयको अध्ययनले जलवायु परिवर्तनको कारण कृषि क्षेत्रमा परेको असरले धेरै मानिस बसाइँसराइ तथा वैदेशिक रोजगारीमा जाने क्रम बढेको जानकारी दिए।

उनले नेपालको जलवायुसम्बन्धी नीति राष्ट्रियस्तरको रहेको तर भौगोलिक अवस्था फरक रहेको भन्दै जलवायु परिवर्तनसम्बन्धी नीति भौगोलिक बनावटअनुसार बनाउनुपर्ने बताए। उनले हिमाल, पहाड र तराई क्षेत्रको बनावटअनुसार स्थानीय स्तरसम्मका लागि नीति बनाउनुपर्ने अवस्था देखिएको बताए।

अनुसन्धानले नेपालमा जलवायु परिवर्तनको प्रभावका कारण किसानले खेतीपाती छोड्दै वैदेशिक रोजगारीमा गइरहेको देखाएको छ। जलवायु परिवर्तनको कृषि उत्पादन घट्ने, लागत मूल्य बढ्ने, बालीनालीमा रोग तथा किराको संक्रमण बढ्ने, बेमौसमी अधिक वर्षा, हावाहुरी र असिनाले बालीनालीमा ठूलो क्षति पुर्‍याउँदा किसान जलवायु परिवर्तनको मारमा परेका छन्।

अध्ययनले जलवायु परिवर्तनको असर सकारात्मक रहेको पनि देखिएको छ। नेपालका हिमाली र पहाडी क्षेत्रका उच्च भूभागमा स्याउ र अन्न उत्पादन बढेको छ। अनुसन्धानमा समेटिएका क्षेत्रका किसानले मौसम, कृषि सम्बन्धी सूचनामाथि विश्वास नगरेको देखिएको छ।

तराईमा ३४ प्रतिशत, पहाडमा २२ प्रतिशत र हिमालमा ८.५ प्रतिशत घरपरिवारले मात्रै मौसमसम्बन्धी प्राप्त सूचनामा विश्वास गरेको पाइएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.